• २३ भदौ २०८१, आइतबार

नसर्ने रोग राेकथामका लागि 'पेन प्लस' कार्यक्रम

blog

कार्यक्रममा प्रा.डा.भगवान कोइराला सहित सहभागिहरु ।

विष्णुप्रसाद पोखरेल

दमक, साउन ३२ गते । नेपालमा विभिन्न रोगले मृत्यु हुनेको सङ्ख्यामा ७१ प्रतिशत मानिसहरू नसर्ने रोगका कारण मृत्यु हुने गरेको भन्दै यसको उचित व्यवस्थापनको काम गर्न सके मृत्युदर घटाउन सकिने बताइएको छ । बिहीबार झापाको दमकमा कोशी प्रदेशका झापा, मोरङ र इलामका जनप्रतिनिधि तथा सरकारी स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरू सहित सरोकारवालाहरूको संयुक्त छलफल भएको हो ।

दमकको सरकारी अस्पतालमा झापा, मोरङ र इलामका पालिकाहरूलाई लक्षित गरेर नसर्ने रोगहरूको व्यवस्थापन तथा उपचारमा सहयोग गर्नका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको सहयोगमा र काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच) को व्यवस्थापनमा ‘पेन प्लस’ कार्यक्रम सञ्चालित छ । 'पेन प्लस' कार्यक्रम प्रभावकारी ढङ्गले अगाडि बढे आगामी ५ देखि १० वर्षमा मृत्युदर धेरै घटाउन सकिने जनाइएको छ ।

नसर्ने रोगको जोखिम व्यवस्थापन तथा न्यूनीकरणका लागि यो कार्यक्रम भएको जनाउँदै सबैको साथ र सहयोग आवश्यक रहेको काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच) का अध्यक्ष एवम् प्रा.डा. भगवान् कोइरालाले बताउनुभयो । उहाँका अनुसार यो कार्यक्रम अन्तर्गत मुटु, मधुमेह, श्वासप्रश्वास, रक्तचाप, क्यान्सर, हृदयाघात, सिकलसेल एनिमियाजस्ता नसर्ने रोगको परीक्षण, उपचार र औषधिमा बिरामीलाई सहजता प्रदान गरिनेछ ।

नसर्ने रोगको अवस्थाको पहिचान गर्दा अब बिरामीहरूको सङ्ख्या बढ्न सक्ने भन्दै उहाँले यसबाट डराउनु नपर्ने पनि जनाउनुभयो । “रोगको पहिचान भयो भने उपचार तथा व्यवस्थापन हुनेछ र यसले अकाल मृत्युलाई टार्न सकिन्छ”, उहाँले भन्नुभयो । आर्थिक रूपमा कमजोर रहेर स्वास्थ्य उपचार गराउन नसकेका बिरामीहरूलाई स्वास्थ्य बिमा गरिदिने, औषधि उपलब्ध गराउने र थप उपचार गराउनु पर्ने अवस्थामा त्यसका लागि पनि सहयोग गर्ने कोइरालाले जनाउनुभयो ।

दमकमा उपचार हुन नसके वा थप जाँच गर्नु पर्ने अवस्था भएमा यहाँबाट धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजाने व्यवस्था गरिनेछ । यसका लागि निःशुल्क एम्बुलेन्सको व्यवस्थापन गर्न लागिएको पनि जानकारी गराउनुभयो । “हामीले यसका लागि प्रारम्भिक चरणको सम्झौता गरिसकेका छौँ”, उहाँले भन्नुभयो । त्यहाँ यसका लागि एकजना सम्पर्क व्यक्ति समेत राखिने उहाँले बताउनुभयो । 

डा. कोइरालाले बच्चाहरू पनि नसर्ने रोगको सिकार बन्न थालेको र यसमा पनि आफूहरूको ध्यान गएको बताउनु भएको छ । उहाँले बच्चामा पनि नसर्ने रोगको अवस्था अबको १० वर्षमा गम्भीर बनेर आउने भएकाले अहिले नै सोच्नु पर्ने अवस्था रहेको औँल्याउनुभयो । सामान्य अवस्थामा पनि बिरामी सिधै अस्पताल र विशेषज्ञ खोज्ने अवस्था रहँदा उपचारको पद्धति नै उल्टो पिरामिड बन्न थालेको जनाउँदै यसलाई सुल्टो बनाउन पनि कार्यक्रम प्रभावकारी बन्ने विश्वास लिएको बताउनुभयो ।

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका रेक्टर प्रा.डा.सञ्जीव शर्माले पेन प्लस कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाउँदा मानिसहरूको अकाल मृत्युलाई रोक्न सकिने जनाउँदै यो सबैको दायित्व भएको जनाउनुभयो । उहाँले दमकबाट रेफर भएर गएका बिरामीहरूको जाँच तथा उपचारका लागि आवश्यक प्रबन्ध मिलाउने पनि प्रतिबद्धता जनाउनुभयो ।

स्वास्थ्य सेवा विभागअन्तर्गत पेन प्लस कार्यक्रमका प्रमुख फणीन्द्रप्रसाद बरालले दमक र बर्दियामा नमुनाको रूपमा यो कार्यक्रम सुरु भइसकेको जानकारी गराउनुभयो । यो अहिले नमुना परियोजनाको रूपमा दमक सहित सीमित ठाउँमा रहेपनि यसलाई विस्तार गरिँदै लैजाने उहाँको भनाइ छ । “नसर्ने रोगबाट हुने मृत्यु तथा जोखिमलाई कम गर्न यो कार्यक्रम ७७ जिल्लामा नै विस्तार हुँदै जानेछ”, उहाँले भन्नुभयो । रोगको पहिचान नभई अकालमा हुने मृत्यु रोक्न यो कार्यक्रम प्रभावकारी बन्ने आफूहरूले उद्देश्य लिएको उहाँले जनाउनुभयो ।

दमक नगरपालिकाका प्रमुख एवम् दमक अस्पताल व्यवस्थापन समितिका संयोजक रामकुमार थापाले समाजमा भयाभव अवस्थामा रहेको नसर्ने रोगको जाँच, उपचार तथा व्यवस्थापनका लागि नागरिकलाई निःशुल्क सेवा दिने मुख्य थलो दमकको सरकारी दमक अस्पतालले पाएको जनाउँदै केहीपनि कमी हुन नदिने बताउनुभयो ।