गोरखापत्र अनलाइन
प्युठान, साउन ३२ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सबै तहका कर्मचारीले राज्य सञ्चालनमा समान दायित्व महसुस गरेर सेवा प्रवाहको काम गर्नुपर्ने बताउनुभएको छ । सरकारले सुशासनलाई प्राथमिकतामा राखेको र सुशासन सेवा प्रवाहबाट नै सम्भव हुनेभएकोले सबै तहका कर्मचारीले समान दायित्वका साथ काम गर्नुपर्ने उहाँले बताउनुभयो ।
प्युठानको सदरमुकाम खलङ्गामा आयोजित सरकारी कार्यालयका प्रमुख तथा कर्मचारीसँगको भेटघाटमा उहाँले सुशासनको सवाल एउटा निकायले मात्र गरेर नहुने बताउनुभयो । ‘सुशासन प्रधानमन्त्री र मुख्यसचिवले कायम गरेर मात्र हुने होइन । मन्त्री र मन्त्रालयका सचिवहरूले मात्र गरेर हुने विषय पनि होइन’ सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री शर्माले भन्नुभयो, ‘ती निकायले निर्देशित गर्ने पक्कै हो, तर जिल्ला र तलसम्म रहेका कार्यान्वयन इकाइले राम्रो काम गरे मात्रै सुशासन सम्भव हुने हो ।’
आम सेवाग्राही माथिल्लो तहका पदाधिकारी र कर्मचारीसँग सम्पर्क नहुने भएकाले पनि सबैभन्दा तल्लो तहमा रहेका कर्मचारीले जति राम्रो सेवा प्रवाह गर्छन्, जनताले त्यति नै राम्रो सेवा प्राप्त गर्ने र सुशासन कायम हुने पनि उहाँले स्पष्ट गर्नुभयो । ‘तपाईँ राम्रोसँग सेवाग्राहीसँग बोलिदिनुभयो भने मात्रै पनि सेवा प्रवाह प्रभावकारी भएको मानिन्छ’ उहाँले कर्मचारीलाई सम्बोधन गर्दै भन्नुभयो, ‘जनताको कामसँग प्रत्यक्ष जोडिने कार्यालयमा सुब्बा, खरिदार, अस्पतालका नर्स आदिले गर्ने काममार्फत सरकारको व्यवहार प्रस्तुत हुने गर्दछ । त्यसैले जनतासँग जोडिएर काम गर्ने कर्मचारीको सेवा प्रवाह र बोलीव्यवहार राम्रो बनाउनुहोला ।’
पिँधमा बसेर काम गर्ने कर्मचारीबाट नै सरकारको सफलता असफलता निर्धारण हुनेभएकोले सरकारले पनि तल्लो तहमा बसेर काम गर्ने कर्मचारीको उच्च मूल्याङ्कन गर्ने नीति लिएको उहाँले बताउनुभयो । केही दिनअघि भएको नेपाल सरकारको वार्षिक समीक्षा कार्यक्रममा प्रस्तुत प्रधानमन्त्रीको सम्बोधनलाई मार्गदर्शनको रूपमा लिएर सुशासन, समृद्धि र सामाजिक न्यायको अभियानलाई सहयोग पुुग्नेगरी हरेक निकायले कार्ययोजना बनाउनुपर्ने पनि मन्त्री शर्माले स्पष्ट गर्नुभयो । उहाँले राजनीतिक र प्रशासनिक नेतृत्वबीचमा राम्रो बुझाइ र समझदारी आवश्यक रहेको बताउनुभयो ।
नेपालमा सरकारले धेरै गर्न खोजे पनि राजनीतिक र प्रशासनिक नेतृत्वबीच पूर्ण समझदारी नहुँदा अपेक्षित नतिजा प्राप्त नहुने उल्लेख गर्दै उहाँलाई यो असमझदारी हटाउनुपर्ने बताउनुभयो । ‘त्यसका लागि हामीले केन्द्रमा प्रधानमन्त्री, मन्त्रीदेखि मुख्य सचिव सचिवसम्म दोहोरो संवाद गर्ने सोच बनाएका छौँ, सरकार सञ्चालनका सवालमा हामीबाट कमजोरी भएका छन् भने पनि प्रशासनिक नेतृत्वले भनिदिनुपर्छ र प्रशासनिक नेतृत्वबाट हुने कमजोरी पनि राजनीतिक नेतृत्वले सच्याएर लैजानुपर्छ भन्ने लागेको छ’ मन्त्री शर्माले भन्नुभयो ।
‘नेपाल पत्रकार महासङ्घ प्युठान शाखाले गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले सरकार सुरुदेखि नै विकृति, विसङ्गति अन्त्य र सुशासन कायम गर्दै भ्रष्टाचार अन्त्यका लागि निर्ममढङ्गले अगाडि बढेको बताउनुभएको मन्त्री शर्माको सचिवालयले जनाएको छ ।
सुशासन कायम गर्न र सेवा प्रवाहलाई चुस्त बनाउने कुरामा सरकारले प्राथमिक्ताका साथ काम गरिरहेको मन्त्री शर्माले सुनाउनुभयो । गल्ती गर्ने जोसुकैलाई पनि कानुनी कारबाही हुन्छ भन्ने सन्देश दिन सरकार सफल भएको स्पष्ट गर्दै भन्नुभयो, ‘सरकारले कानुन सबैका लागि बराबर हुन्छ भन्ने सन्देश दिएको छ।’ संविधान र कानुनको मातहतमा सबै रहेकाले गल्ती गर्ने जोसुकैलाई पनि नछाड्नेगरी सरकारले स्पष्ट रूपमा काम गरिरहेको उहाँले बताउनुभयो ।