काठमाडौं, साउन ३२ गते। राष्ट्रिय सभा सदस्य वामदेव गौतमले नेपालको भौगर्भिक र भू-सतहको अध्ययन गर्नुपर्ने बताउनुभएको छ। बिहीबार राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य गौतमले नेपालको भौगर्भिक र भू-सतहको अध्ययन गर्नु आवश्यक रहेको बताउनुभएको हो।
उहाँले नेपालको भू-सतह चलायमान रहेको उल्लेख गर्दै भू-सतहको अध्ययन गरेर मात्रै जमिनको प्रयोग गर्नुपर्ने बताउनुभयो। अध्ययन गरेर मात्रै कृषि उत्पादन गर्नुपर्नेमा पनि उहाँले जोड दिनुभयो।
उहाँले जथाभाबी जमिनमा खनजोत गर्नु नहुने भन्दै जतिधेरै डोजरको प्रयोग गरिन्छ उति नै प्राकृतिक प्रकोपको खतरा रहेको उल्लेख गर्नुभयो। गौतमले आगामी सोह्रौँ आवधिक योजनामा भौगर्भिक र भू-सतहको अध्ययन गर्ने विषय समेट्नुपर्ने पनि बताउनुभयो।
उहाँले भन्नुभयो, ‘‘आजसम्म कुनैपनि योजनाले नेपालको भौगर्भिक र भू-सतहको अध्ययन गरेको पाइएन। के हो स्थिति हाम्रो ? अमेरिकामा जसरी फलाइन्छ यहाँ पनि त्यसैगरी फलाउन सकिन्छ, सकिँदैन ? भारतमा जसरी गर्न सकिन्छ नेपालमा सकिन्छ कि सकिँदैन ? भन्ने विषयमा ध्यान गएको पाइएन। हाम्रो देशको भू-सतह निरन्तर चलायमान अवस्थामा छ। संसारमा सबभन्दा पछि विकसित भएको भू-सतह हो हाम्रो। अरू ठाउँका जतिपनि प्लेटहरू छन्, त्यसमाथि जमिन छ। यो भूकम्पको अवस्थामा पनि छ। यसलाई राम्ररी अध्ययन नगरी हामीले हाम्रो देशको पहाडको, डुङ्गाको, माटोको प्रयोग ग¥यौँ भने हामी निरन्तर असफल हुँदै जान्छौँ। जनधनको क्षति व्यहोरिरहनुपर्ने अवस्था आउँछ। यो विषयमा योजना आयोगले ध्यान दिनुपर्छ। छलफल गर्नुपर्छ भन्ने मेरो विचार हो। भू-सतह निरन्तर चलायमान छ भने त हलो जोत्न, ट्याक्टर चलाउन, डोजर हिँडाएर बाटो खन्नु भएन। जति त्यसो गर्नुहुन्छ, त्यत्तिकै महामारी आउँछ। बाढी, पहिरो आउँछ। यस सम्बन्धमा ध्यानै गएको छैन। यस पटक सोह्रौँ योजनामा यो समावेश गर्नुपर्छ।’’
उहाँले नेपालमा उत्पादन भएका कृषि उपजको सही तरिकाले प्रयोग गर्न सके आत्मनिर्भर भइने बताउनुभयो। नेपालमा उत्पादित खाद्यान्नको सही तरिकाले उत्पादन गर्न नसक्दा देश बाहिरबाट आयात गर्नुपर्ने अवस्था आएको बताउनुभयो।