सिराज खान
नेपालगन्ज, साउन ३२ गते । पश्चिम नेपालका तीन प्रदेश लगायत भारतका समेत आँखाका बिरामीहरुको लामो समयदेखि उपचार गर्दै आएको फत्तेबाल आँखा अस्पताल नेपालगन्जमा अकुलोप्लाष्टी र कर्नियाको विशिष्टीकृत उपचार सेवा सुरु गरिएको छ ।
सो सेवा सुरु गरिएपछि उक्त अस्पतालमा आँखाको नानी प्रत्यारोपणसँगै जन्मजात वा पछि तल खसेको आँखाको ढकनीको उपचार हुने अस्पतालले जनाएको छ । नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले उक्त विशिष्टीकृत सेवाको उद्घाटन गर्नुभयो ।
उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख विष्टले फत्तेबाल आँखा अस्पतालसँगको सहकार्यमा नेपालगन्ज उपमहानगरपालिकालाई दृष्टिविहीनमुक्त बनाउने प्रतिबद्धता यसअघि नै गरेको स्मरण गराउँदै सोही बमोजिम काम अगाडी बढेको बताउनुभयो । उहाँले यो अस्पताललाई पश्चिम नेपलकै विशिष्टीकृत सेवा प्रदान गर्ने आँखा अस्पताल बनाउने कुरामा उपमहानगरको सधैं सहयोग रहने बताउनुभयो ।
यस्तै, नेपालगन्जका नगर उपप्रमुख कमरुद्दिन राईले फत्तेबाल आँखा अस्पतालमा आँखाको नानी प्रत्यारोपण र प्लास्टिक सर्जरी जस्तो विशिष्टीकृत सेवा सुरु भएबाट यस क्षेत्रका धेरै बिरामीलाई उपचारमा सहज हुने बताउनुभयो । उहाँले कर्निया र प्लाष्टिक सर्जरीका लागि अब धेरै पैसा खर्च गरेर भारत तथा काठमाडाैंको आँखा अस्पतालसम्म जानुपर्ने बाध्यताको अन्त्य हुने बताउनुभयो ।
सो अवसरमा अस्पतालका प्रबन्ध निर्देशक डा. कौशलकुमार वर्माले यो सेवा सुरु भएपछि आँखाको क्यान्सरको उपचार, थाइराइडले आँखामा हुने असरको उपचार, आँखाको नानी प्रत्यारोपण र आँखाको नानीमा हुने घाउको उपचार सहज रुपमा हुने बताउनुभयो । उहाँले आँखाको नानी प्रत्यारोपणका लागि भारतमा एक लाखदेखि डेढ लाख रुपियाँसम्म भारु लाग्ने भएकोमा यो अस्पतालमा ३० हजार नेपाली रुपियाँमै उपचार हुने जानकारी गराउनुभयो ।
कार्यक्रममा नेपाल नेत्रज्योती संघ बाँकेका कार्यवाहक सभापति केशवराम वर्मा, सचिव शान्ति श्रेष्ठ, चिफ मेडिकल डाइरेक्टर डा. देवराज भारती र कर्निया विशेषज्ञ डा. राजसी श्रेष्ठले विशिष्टीकृत सेवाका बारेमा जानकारी गराउनुभएको थियो । सो अस्पताललाई सम्पूर्ण विशिष्टीकृत सेवा सहितको एम.डी.स्तरको समेत अध्यापन हुने नेत्रविज्ञान शिक्षण संस्थानको रूपमा विकास गर्ने योजना रहेको अस्पताल व्यवस्थापनले जनाएको छ ।