न होस् बरु सम्मान, न कुनै भुक्तमान,
शीतलता बनोस् जिन्दगीको पहिचान ।
केही नभएरै पनि सबैथोक पाए जस्तो,
दुई मुठी खुसी र एक फाँको मुस्कान ।।
अचम्मको मन भएको प्राणी मानवलाई आफ्नो वशमा कुनै कुरा नहुँदा जसरी पनि पाए हुन्थ्यो भन्ने लाग्छ । र, चाहेको कुरा पाउनका लागि ऊ जुनसुकै मूल्य चुकाउनसमेत तयार हुन्छ । अनेकौँ यत्न–प्रयत्न त्याग–तपस्या, हण्डर–ठक्कर, कठिन परीक्षा र लामो प्रतीक्षा पूरा गर्दै चाहेको फल प्राप्त पनि गरिछाड्छ मानवले ।
जब अपेक्षित फल प्राप्तिको केही समय व्यतीत हुन्छ, तब मानवले पहिले आफूसँग भएको पीडा, दुःख कष्ट चाँडै भुल्ने गर्छ । प्राप्त उपलब्धिको उपभोगसँगै सो फल प्राप्तिका लागि गरेका कठिन अवस्थालाई उसले क्षणभरमै बिर्सन थाल्छ । आफ्नोभन्दा पनि कम उपलब्धि प्राप्त भएका आफ्नै सेरोफेरोका अरूहरूको व्यथा सम्झिनसम्म चाहँदैन । आफ्नै विगतको कथा ऊ आफैँलाई फर्केर हेर्न, देख्न र सुन्न पटक्कै मन पर्दैन । आफूले वर्षौं कुदाएको साइकल थन्क्याएर बल्लबल्ल मोटरसाइकल चढ्दा सोही सडकमा आफूले झैँ साइकल चलाएका व्यक्तिलाई पेल्न थाल्छ । मोटरसाइकल पाएपछि हिजो साइकल चलाउँदाको ठुला सवारीसाधनले दिएको पीडा र वेदनाले मोटरसाइकल चढेकै दिनबाट भुल्न थाल्ने प्रवृत्ति हुन्छ ।
मानिसको प्रवृत्ति नै यस्तै रहेछ । आफूसँग जे छ, त्यसमा लामो समयसम्म उसको चित्त अडिएर बस्न मान्दैन । अनि अरूसँग जे छ, त्यसप्रति लालायित हुँदै जानु र त्यो कुरा प्राप्तिका लागि जस्तो सुकै कष्ट उठाउन खोज्नु आममानवको साझा चरित्र जस्तै भएको छ । वर्तमान यथार्थप्रति मान्छेको असन्तुष्टि पलाउँछ । वर्तमानप्रति मोह भङ्ग हुँदै जान्छ । र, पुनः फरक विषयप्रति अचम्मको मोह र कहिल्यै तृप्ति नहुने तृष्णा जाग्न थाल्दो रहेछ ।
कसैसँग कुनै अपेक्षा नगर्नु र आफ्नो यत्न–प्रयत्न, त्याग र तपस्याले जुन फल प्राप्ति भएको छ, त्यसलाई सहर्ष स्विकार्न सक्नु नै खुसीको सामान्य सूत्र हो । यद्यपि मानवले खुसी हुने यति सामान्य सूत्र नजानेको भने पक्कै होइन तर मतलब नगरेको हो भन्न सकिन्छ । आफ्नै मनले सिर्जना गरेको कृत्रिम दुःखको भूमरीलाई नै यथार्थ ठानी ऊ त्यसकै वरिपरि रुमल्लिइरहेको हुन्छ । आफ्नै करेसाबारीको कर्कलो नचिनेर जलुको टिप्न जङ्गलतिर कुदेजस्तै आफैँसँग भएको मनरूपी मन्दिर देख्दैन र अनेकौँ तीर्थस्थलतिर भड्किन्छ मानव चोला ।
धर्मको गुह्य बुझ्न र ईश्वरको खोजी गर्न अनेकौँ पुराण र ग्रन्थ छिचोल्ने मान्छेले भगवान्ले समेत चाहेको सबै चिज प्राप्त गर्न नसकेको हेक्का राख्दैन । सर्वव्यापी भगवान्माथि विश्वास गर्छु भन्छ तर ऊ आफू मामुली मान्छे भएको सत्य बिर्सिएर मैले चाहेकै, भनेकै हुनु पर्छ भन्दै सोही अनुसार भगवान्बाट त्यही मनोकामना पूरा गरिदिऊन् भन्ने आशासमेत राख्छ । पूजाआजा र भक्तिभावले मनोकामना पूरा हुन नसक्दा आफैँसँग असन्तुष्ट हुन्छ र जानीजानी आफैँले खनेको दुःखको गर्तमा भासिन पुग्छ ।
हरेक मानवलाई वरिपरिका मानिसबाट भन्दा बढी खतरा त स्वयम् आफैँबाट हुन्छ । जब मानव लोभ, मोह, ईष्या र प्रतिशोधबाट ग्रसित हुन थाल्छ, तब उसको आत्मविश्वास धमिराले खाएको निदाल जस्तै आफैँ क्षीण हुँदै जान्छ । अन्ततः मान्छेको आत्मा कमजोर हुँदै गएर देहले समेत क्रमशः धर्म छोड्न थाल्छ । सबै कुरा आफैँले नजान्नु, जानअन्जानमा त्रुटि हुनु, काम गर्दा कहिलेकाहीँ कमजोरी गर्नु सामान्य मानवीय गुण हुन् ।
आफूले जानिनछु भन्नु, थाहा पाएपछि आफ्नो कमजोरी स्विकार्नु कदापि सानो हुनु होइन । कथा, पुराण वाचनबाट थाहा भए अनुसार भगवान्समेत त्रुटी–कमजोरीरहित थिएनन् । तपाईं हामी त मामुली मान्छे भएको नाताले अज्ञानता वा असावधानीवश भए–गरेका गल्ती–कमजोरीलाई स्विकारेर आफ्नो विगतको कमजोरीलाई सुधारेर थप सचेततापूर्वक अघि बढ्ने प्रण गर्नु नै उत्तम उपाय हुन जान्छ ।
यथार्थमा भन्नुपर्दा ठुलो पद, उँचो प्रतिष्ठा र टन्न सम्पत्तिप्रतिको मोह नहुनु, दुईछाक खान र एकसरो लाउन सक्ने हैसियत हुनु, कुनै ठुलो रोग नलाग्नु र आफ्नो परिवारको सामीप्यमा रहन पाउनु नै जीवनको सबैभन्दा ठुलो प्राप्ति हो । अरू बाँकी त सबै अपेक्षा दुःख र सन्तापका कारण मात्रै हुन् । कोखदेखि घाटसम्मको पूर्वनिर्धारित यात्रारूपी जिन्दगीको सुनिश्चित गन्तव्य मृत्यु हो ।
सुनिश्चित गन्तव्य भएको अनिवार्य यात्रा जिन्दगीमा यात्रीको हिँडाइको गति, उसले रोजेको बाटो, सहयात्रीको साथ र सङ्गत अनुसार यात्रा प्रारम्भ भएदेखि गन्तव्य भेटाउने समय फरक फरक लाग्न सक्छ । पूर्वीय दर्शन अनुसार जीवको मृत्युपछिको अधिकतम प्राप्ति नै मोक्ष्य हो । पुग्ने ठाउँ एउटै र पाउने चिज पनि उही नै भएपछि चाँडो दौडिएर थप पाउनु अवश्य केही छैन । अनि केही ढिला गन्तव्यमा पुगेर पनि पक्कै केही गुम्दैन ।
हरेक व्यक्तिको जन्म, परिस्थिति, क्षमता, योग्यता, धीरता, जन्मे–हुर्के–बाँचेको परिवेश, संवेग, इच्छा, आकाङ्क्षा, अपेक्षा, अनुभूति फरक–फरक हुने हुँदा आफूलाई कोही कसैसँग तुलना गर्ने आनीबानी पनि त्यति राम्रा होइनन् । यो संसारमा ठ्याक्कै तपाईं जस्तो अर्को कोही छँदै छैन । भोलिका दिनमा विज्ञानको चमत्कारले यदि तपाईं जस्तै अर्को मान्छेको अस्तित्व सम्भव बनाए छ भने पनि त्यो सक्कली तपाईं नभएर तपाईंको छायाप्रति मात्रै हुने छ । जीवन भोगाइमा यसलाई मनन गर्नु जरुरी छ ।
अपितु संसार परिवर्तनशील छ, समय चलायमान छ । मान्छेको संवेग, सम्भावना, प्राथमिकता, प्रतिस्पर्धी र परिस्थिति जुन कुनै क्षण परिवर्तन, परिमार्जन हुन सक्छ । आज आफैँलाई प्यारो लागेको मान्छे पछि आफ्नै प्रगति पथको तगारो पनि बन्न सक्छ । त्यसैले हरेक व्यक्ति–व्यक्तिबिचको पृथकतालाई हार्दिकताका साथ स्वीकारौँ, स्वीकार गर्ने कोसिस गरौँ ।
सबैको दिन आउँछ, हतार गरेर हुन्न । अरूलाई देखेर मात्र हुन्न । एकै पटक उति नै मात्रामा हावा भरेर एकै समयमा आकाशतिर छाडिएका बेलुनहरूले पनि फरक फरक उचाइ चुम्छन् । आफू अरू जस्तो नहुनु वा अरू आफू जस्तो नहुनु समस्या वा कमजोरी होइन । यो यथार्थता हो, सबैबाट सम्मानको अपेक्षा र समव्यवहारको आशा नराखौँ । यहाँ लाखौँले नमन गर्ने भगवान्लाई निन्दा गर्नेहरूसमेत प्रशस्त भेटिन्छन् भने हामी त को नै हौँ र ? तर पनि आत्मसम्मान जगाइराखौँ ।
दुनियाँतिर हैन, पहिले आफैँतिर फर्किऔँ । आफूलाई चिनौँ र आफ्नो क्षमतालाई सम्मान गरौँ । आफ्नै कर्ममुताविकको फल प्राप्तिबारेमा धेरै चिन्ता लिइरहनु पर्दैन, आफैँ प्राप्त हुन्छ भनेर भागवत् गीताले पनि भनेकै छ नि ! कर्मपात्रोमा प्राप्त फल परम् स्वीकार गर्ने स्वाभाविक बानी र प्रवृत्तिको सिको गरौँ । यद्यपि कुनै घटना विशेष, परिस्थिति विशेष वा व्यवहार विशेषलाई लिएर कोही कसैसँग पनि प्रतिशोध साँध्नु चाहिँ सरासर गलत हो ।
किनकि कसैमाथि प्रतिशाोध साँध्नका निम्ति उब्जिने गलत विचार, लिइने गलत व्यवहार, गलत लगानी र गलत निर्णयले प्रत्यक्षतः आफू स्वयंलाई हानि पु¥याउँछ भने स्वमनमा कहिल्यै शान्ति हुँदैन । कोही आफूलाई सोझै आक्रमण गर्न आयो भने आत्मरक्षाका लागि त्यसको प्रतिरोध गर्नु, प्रत्याक्रमणमा उत्रिनु र प्रतिरक्षा गर्नुलाई जायज मान्न सकिन्छ तर कोही कसैप्रति प्रतिशाोध साँध्नु सर्वथा अनुचित हो, स्वघातक हो ।
जुन दिनदेखि मान्छेमा, म यो धर्तीको अजम्बरी होइन र मैले पनि एकदिन मर्नु पर्छ भन्ने मृत्युचेत हुन आउँछ, त्यही क्षणबाट मान्छे कम अहङ्कारी र ज्यादा सदाचारी/समझदार बन्न थाल्छ । यहाँ नमर्न सक्ने ताकत कोहीसँग छैन भन्ने परम् सत्यबोध गरौँ र त्यसपछि थाहै नपाई स्वयम् सदाचारीको स्वरूप ग्रहण गर्न सकिन्छ ।
अतः आकाङ्क्षाको आकाशमा अन्धाधुन्ध उड्नुभन्दा बरु यथार्थको धरातलमा पैदलै हिँड्ने बानी र प्रवृत्ति बसाल्नु पर्छ । यात्राबिचमा चाहिने सातु सामलको पोको मात्रै च्यापेर मन मिल्ने सहयात्रीहरू सँगसँगै सुस्तरी हिँडेर पुगिने गन्तव्यको आनन्द निकै अवस्मरणीय र मनमोहक हुने कुरालाई आत्मसात् गरौँ । प्रतिस्पर्धाभन्दा सहयात्रा रोजौँ, ईष्र्या छाडौँ, प्रेम गरौँ । अहङ्कारी हैन, आत्मीय बन्न कोसिस गरौँ । सम्पत्तिभन्दा पहिले सन्तुष्टि खोजौँ । मन्दिरभन्दा मनलाई चिन्न कोसिस गरौँ । हामी सबैको गन्तव्य सुनिश्चित छ, चाँडो हैन, सहज यात्रा गरौँ । जन्मेदेखि नमरुन्जेलसम्म खुसी रहौँ । बाँचौँ–बचाऔँ र हाँसौँ–हसाऔँ ।