• २० वैशाख २०८१, बिहिबार

व्यवस्थित हुँदै यज्ञमती र चखुँचा

blog

काठमाडौँ, साउन ३२ गते । बुढानीलकण्ठ नगरपालिका–१० की समीक्षा परियारलाई काठमाडौँ महानगरपालिका र बुढानीलकण्ठ नगरपालिकाको सिमानामा खोला छ भन्ने थाहै थिएन तर बर्सेनि बाढीले बबन्डर मच्चाउँदाको पीडा उहाँले सहँदै आउनुभएको छ । 

उहाँले खोला नभई खहरे मात्रै हो भनेर अगुवाबाटै सुनेकाले आफूलाई पनि त्यही विश्वास लागेको बताउनुभयो । दुई वटा ह्युमपाइपमा सीमित गरिएको यज्ञमती र चखुँचाखोला खोल्न काठमाडौँ महानगरपालिकाको टोली पुग्यो, अनि मात्रै उहाँलाई थाहा भयो– यहाँ पहिल्यैदेखि खोला रहेछ । उहाँले भन्नुभयो, “वर्षा लागेपछि धेरै पटक क्याम्पस जान पाउँदिनँ । यसपालि पनि खोलामा बाढी आउँदा चार/पाँच पटक क्याम्पस जान पाइनँ । यत्रो खोला पुरेको रहेछ, अनि किन नआओस् त बाढी !”

उहाँ जस्तै बुढानीलकण्ठ नगरपालिका र काठमाडौँ महानगरको सीमा क्षेत्रमा पछिल्ला १० वर्षयता घरजग्गा किनेर वा भाडामा बसोबास गर्ने धेरै नागरिकलाई यज्ञमती र चखुँचाखोलाको वास्तविक स्वरूप थाहै थिएन । 

काठमाडौँ महानगरपालिका प्रमुख बालेन शाहको आदेशमा चखुँचाखोलामा ‘बालेनको डोजर’ चल्न थालेपछि मात्रै खोलाको वास्तविक स्वरूप छर्लङ्ग भएको हो । काठमाडौँ महानगरपालिका–६ र बुढानीलकण्ठ नगरपालिका–१०, ११ र १२ मा बग्ने यज्ञमती र चखुँचाखोला खोल्न साउन २६ गतेदेखि सुरु गरिएको हो । 

बाढी नआउने विश्वास

काठमाडौँ महानगरपालिका–६ का अध्यक्ष भुवन लामाले बुधबारसम्ममा सात सय मिटरभन्दा बढी चखुँचाखोलातर्फ खोलिएको बताउनुभयो । उहाँका अनुसार अर्को साताबाट ढल हाल्ने कार्य सुरु हुन्छ । उहाँले भन्नुभयो, “त्यसपछि बाटो निर्माण कार्य सुरु हुन्छ । बुढानीलकण्ठ नगरपालिकातर्फ पनि सडक र ढल निर्माणमा महानगरले सहयोग गर्ने छ ।”

वडाध्यक्ष लामाले दायाँबायाँ बाटो निर्माणका लागि अतिक्रमण गरी बनाइएका संरचना बुढानीलकण्ठ नगरपालिकाले हटाएपछि ढल र सडक बनाउने बताउनुभयो । उहाँका अनुसार बिचमा खोला, दुवै किरानामा सडक रहने, छेउमा फूल रोप्ने, सुन्दर, हराभरा बनाउने कार्य महानगरले गर्ने छ । उहाँले पहिलो चरणमा आरम्भचोकस्थित बक्स कल्भर्ट बनेको ठाउँसम्म खोला कायम गरिसक्ने र धोबीखोलादेखि नै सडक निर्माण सम्पन्न भएपछि दोस्रो चरणमा बाँकी काम अघि बढाउने बताउनुभयो । 

बुढानीलकण्ठ नगरपालिका–१२ का अध्यक्ष शम्भुप्रसाद भट्टराईले आरम्भचोकसम्म कल्भर्ट निर्माण भएकाले यज्ञमती र चखुँचाखोला खोलेपछि आवश्यकता अनुसार सबै कुरा व्यवस्थित गरेर जाने नै योजना रहेको बताउनुभयो । 

स्थानीय सावित्री खड्का बोगटीले यज्ञमती र चखुँचाखोला खोलिएपछि काठमाडौँ महानगरभन्दा पनि बुढानीलकण्ठ नगरपालिकास्थित कपनका बासिन्दालाई राहत पुग्ने बताउनुभयो । उहाँले भन्नुभयो, “खोलाले आकाश र आकाशले खोला देख्न पाउने भयो, बाढीबाट बर्सेनि पीडित महानगर र नगरपालिकाका नागरिकलाई राहत हुने भयो ।”