दिवाकर पोख्रेल
देउखुरी, साउन ३१ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले भ्रष्टाचारविरुद्धको अभियानले ‘हाइ प्रोफाइल’ कल्चर अन्त्य भएको बताउनुभएको छ । दाङको लमहीमा अजम्बरी सामुदयिक वनले आयोजना गरेको भेटघाट कर्यक्रममा मन्त्री शर्माले सो कुरा बताउनुभएको हो ।
राजनीतिक नेतृत्वमा रहेका नेतालाई छानबिनका लागि कानुनी दायरामा ल्याउन खोजेपछि जनताले कानुनी राज्यको अनुभूति हुन थालेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘सरकारको भ्रष्टाचार नियन्त्रणको कामले कानुन सबैलाई बराबरी हो, भन्ने भान सबैमा भएको छ । यो अभियान रोकिँदैन कोही कसैले रोक्दैन, बरु हाइ प्रोफाइल भन्ने कल्चरको अन्त्य हुँदैछ ।’
कानुन सबैलाई बराबरी लाग्ने भन्दै उहाँले ठूलाले हेप्ने सानाले सहने परीपाटी अन्त्य भएको बताउनुभयो । संविधानको मातहतमा सबै बस्नुपर्ने भन्दै उहाँले बर्तमान सरकार शुसासन र विकासमै केन्द्रित रहेकाले सबै क्षेत्रबाट भ्रष्टाचार अन्त्य हुने विश्वास व्यक्त गर्नुभयो ।
नेपाल सरकारका प्रवक्ता शर्माले सरकारले थालेको सुशासन अभियानलाई जनस्तरबाट सहयोग भइरहेको भन्दै सञ्चार क्षेत्रको पनि महत्वपूर्ण सहयोग आवश्यक रहेको बताउनुभयो ।