• ४ जेठ २०८१, शुक्रबार

भासिँदै गण्डक नहरको संरचना

blog

कलैया समाचारदाता

कलैया, साउन ३१ गते । पूर्वी गण्डक नहरको निर्माण अवधि समाप्त भएकाले त्यसमा बनाइएका करिब ८७ वटा सानाठुला संरचना भासिँदै गएका छन् ।

मध्य तराईको सिँचाइको एक मात्र पूर्वाधारका रूपमा रहेको गण्डक नहरको नियमित मर्मतसम्भार भए पनि निर्माण अवधि समाप्त भएको तथा नहर प्रयोजनका लागि बनाइएको सडकमा क्षमताभन्दा बढी भारका सवारीसाधन गुड्दा संरचना जीर्ण बनेर भासिँदै गएको हो । 

प्रसौनी गाउँपालिकाको नकटुवा र फेटा गाउँपालिकाको त्रिवेणीबिचको सिमानामा पर्ने बङ्गरी नदीको पक्की पुलमा प्वाल परेको र सो पुलमा सवारीसाधन दुर्घटनामा पर्ने गरेको स्थानीय बासिन्दाले बताएका छन् । सो सडक भएर दिनहुँ वीरगन्जबाट मटिअर्वा, सिम्रौनगढ तथा गौरसम्म सानाठुला सवारीको आवतजावत हुन्छ ।

जीर्ण नहरको संरचना मर्मत गरी वर्षायाम र हिउँदयाममा यहाँका किसानलाई नहर विभागका कर्मचारीले अहोरात्र खटेर सेवा गर्दै आएको नारायणी सिँचाइ व्यवस्थापन डिभिजन कार्यालयले जनाएको छ । संरचनाको अवधि ५० वर्ष रहेको र सो अवधिभन्दा बढी भएकाले नहरका संरचना भासिनु स्वाभाविक रहेको नारायणी सिँचाइ व्यवस्थापन डिभिजन नम्बर ५ का इन्जिनियर एवं सूचना अधिकारी सुरेश साहले बताउनुभयो । 

बारा, पर्सा र रौतहट जिल्लामा करिब ३७ हजार चार सय हेक्टर क्षेत्रफल सिँचाइ गर्न पूर्वी नहर निर्माण भएको थियो । गण्डक सिँचाइ तथा जलविद्युत् योजना नामको प्रोजेक्टका लागि सन् १९५९ डिसेम्बर ४ मा भारतसँग तत्कालीन सरकारले सम्झौता गरेको थियो । गण्डक नहर निर्माण भएको करिब ६४ वर्ष हुन लाग्यो । निर्माण अवधि भने सन् १९६८ देखि १९७३ मा सम्पन्न भई सन् १९७५ र १९७६ दुई चरण गरी भारतले नेपाललाई हस्तान्तरण गरेको कार्यालय प्रमुख मनोरञ्जनकुमार सिंहले जानकारी दिनुभयो । 

नहरको डिजाइन र संरचनाको ‘लाइफ’ ५० वर्ष रहेको छ । सो अवधि पूरा भएपछि नहरमा लिकेज, समस्या र त्रुटि हुने गरेको छ । नहरको अवस्था पुरानो भएको तथा संरचना चल्नलायक नरहेकाले यसलाई हटाएर नयाँ निर्माण गरी पुनः सञ्चालन गर्न सम्बन्धित निकाय र विभागलाई पटक पटक जानकारी गराए पनि कुनै सुनुवाइ नभएको दुःखेको उहाँले पोख्नुभयो ।