• ४ जेठ २०८१, शुक्रबार

डोल्पाबाट छ क्विन्टल यार्सागुम्बा निकासी

blog

सङ्कलित बहुमूल्य जडिबुटी यार्सागुम्बा । तस्बिर : विष्णुप्रसाद देवकोटा

विष्णुप्रसाद देवकोटा
डोल्पा, साउन ३० गते ।
 गएको आर्थिक वर्ष २०७९/०८० मा डोल्पाबाट ६ क्विन्टलको परिमाणमा बहुमूल्य जडीबुटी यार्सागुम्बा निकासी भएको छ ।

भण्डार क्षेत्रको रूपमा रहेको डोल्पाबाट ६ क्विन्टलको परिमाणमा यार्सागुम्बा जिल्ला बाहिर निकासी भएको शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्ज र डिभिजन वन कार्यालय डोल्पाले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ ।

शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्ज सुलिगाडका संरक्षण अधिकृत लालबहादुर भण्डारीका अनुसार आर्थिक वर्ष ०७९/०८० मा यार्सा सङ्कलकबाट यार्सापाटनमा प्रवेश गरेवापतको शुल्कबाट ८६ लाख ७७ हजार पाँच सय र दुई सय ४० केजी यार्सागुम्बाको छोडपुर्जिबाट ७४ लाख ६३ हजार ४७० गरी एक करोड ६१ लाख ४० हजार ९७० रुपियाँ राजस्व उठेको हो ।

त्यस्तै, गरी डिभिजन वन कार्यालयबाट तीन सय ४३ केजी २५५ ग्राम यार्सागुम्बाको छोडपुर्जि बापत एक करोड ६४ लाख ८९५ रुपियाँ उठेको छ ।

यसैगरी, सेतकचिनि कुटिक पदमचाल गुच्चिच्याउ लगायतका अन्य जडीबुटीको छोडपुर्जिबाट छ लाख ३९ हजार ५५५ गरी कुल एक करोड १२ लाख ८० हजार ४४७ रुपियाँ राजस्व आम्दानी भएको वन अधिकृत महेश कुमाईंले जानकारी दिनुभयो । नेपाल सरकारले एक केजी यार्सागुम्बाको राजस्व ३१ हजार रुपियाँ तोकिएको छ ।