• ३१ वैशाख २०८१, सोमबार

आठ वर्षदेखि भवन अलपत्र

पाँच पटक म्याद थप्दा पनि बनेन

blog

तेह्रथुम समाचारदाता

तेह्रथुम, साउन ३० गते । फेदाप गाउँपालिका–५, इसिबुमा निर्माणाधीन स्वास्थ्य चौकी भवन ठेकेदारको लापरबाहीका कारण आठ वर्षदेखि अलपत्र छ । पाँचौँ पटकसम्म म्याद थप्दासमेत काम अगाडि बढेको छैन । 

पटक पटक ताकिता गर्दा पनि ठेकेदारले काम सम्पन्न नगरेको फेदाप गाउँपालिकाका अध्यक्ष केशव भेटुवालले बताउनुभयो । “ठेकेदारले जे गरे पनि स्थानीय सरकारले कारबाही गर्न सक्दैन,” उहाँले दुःखेसो गर्नुभयो । २०७१ जेठ २६ मा नीलगिरि निर्माण सेवाले ठेक्का सम्झौता गरी निर्माण थालेको यो भवन अहिलेसम्म निर्माण कार्य सम्पन्न नहुँदा वडावासीको स्वास्थ्य सेवा प्रभावित भएको छ ।

स्वास्थ्य चौकीको भवन सघन सहरी तथा भवन निर्माण आयोजना धनकुटाको एक करोड ५० लाख ९० हजार लागतमा निर्माण सुरु भएको थियो । भवन अभावमा पुरानै साँघुरो भवनबाट स्वास्थ्य सेवा प्रवाह भइरहेको स्वास्थ्य चौकीका प्रमुख रमेश रिजालले बताउनुभयो । “चार जना सेवाग्राही एकैपटक आउँदा बस्ने ठाउँ नै छैन,” उहाँले भन्नुभयो, “भवन निर्माण नहुँदा स्वास्थ्योपचार सेवा प्रभावित हुँदै आएको  छ ।”

निर्धारित समयमा सम्पन्न गराउन पटक पटक ताकिता गर्दा पनि उक्त कम्पनीका ठेकेदार युवराज डाँगीले अटेर गर्नुभएको छ । काम सम्पन्न नगरे पनि डाँगीले काम गरेबापतको ७७ लाख ५५ हजार ८५४ रुपियाँ भुक्तानी लिइसकेका छन् । हाल सञ्चालनमा रहेको स्वास्थ्य चौकीको सानो घरको कोठामा स्टोर गरेर राखेको औषधीमा वर्षाको पानी चुहिएर र मुसाले खाएर नोक्सान पु-याएको स्वास्थ्यकर्मी मेरिना राईको भनाइ छ । उहाँका अनुसार स्टोरमा राखेको आधाभन्दा बढी औषधी पानीले भिजेर सडेका छन् ।

भवन संरचनाको काम सकेर जस्तापाताको छानो लगाइए पनि निर्माण स्थलमा लागत स्टिमेट बोर्डसमेत राखिएको छैन । भवनमा झ्यालढोका लगाइएका छैनन् । शौचालय र विद्युतीय काम भएको छैन । झ्यालढोकाको चौकससमेत पानीले भिजेर मक्एिको स्थानीयवासीको गुनासो छ ।