• ९ जेठ २०८१, बुधबार

युवा राष्ट्रकै भविष्य

blog

युवा अदम्य शक्ति र साहसका पुञ्ज हुन् । ती देशका आशा र भरोसा हुन् । राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक रूपान्तरणका अग्रदूत तथा परिवर्तनका संवाहक शक्तिसमेत हुन् तर त्यस्ता नेपाली युवा आफैँ अन्योलमा छन्  । युवाको अपार ऊर्जा आत्मसात् गरी व्यवस्थापन र परिचालन गर्दा मुलुकको कायापलट हुन्छ । त्यसैले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले युवामा रहेको ज्ञान, सिप, दक्षता र अनुभव प्रयोग गरी दिगो विकास लक्ष्य हासिल गर्न र समतामूलक अनि शान्तिपूर्ण समाज निर्माण गर्न केन्द्रित हुने बताउनुभएको छ । राष्ट्रिय युवा परिषद्ले २४ औँ अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आयोजना गरेको कार्यक्रममा उहाँले गुणात्मक र सङ्ख्यात्मक दुवै दृष्टिले युवा राष्ट्रका मेरुदण्ड भएकाले तिनको सर्वाङ्गीण विकास गरी उनीहरूको क्षमतालाई राष्ट्रिय विकासको मूलधारमा ल्याउने नीति तथा कार्यक्रम रहेको बताउनुभयो । यो सकारात्मक आयाम हो ।

युवा शक्तिको महत्त्व मनन गरी संयुक्त राष्ट्रसङ्घले सन् १९९९ देखि हरेक वर्ष अगस्ट १२ लाई अन्तर्राष्ट्रिय युवा दिवसका रूपमा मनाउने निर्णय गरेसँगै सन् २००० देखि विश्वभर युवा दिवस मनाउने गरिएको छ । नेपालमा औपचारिक रूपमा सन् २००४ देखि यो दिवस मनाउन थालिएको हो । राष्ट्र विकासमा युवाशक्तिको सार्थक परिचालनको महत्व र आवश्यकता आत्मसात् गरी २०६५ सालमा युवा तथा खेलकुद मन्त्रालय स्थापना गरियो । २०६६ सालमा राष्ट्रिय युवा नीति तय गरियो । २०७२ सालमा त्यसलाई परिमार्जन गरी त्यसैको मार्गदर्शनमा १० बर्से ‘युथ भिजन–२०२५’ बनाई उत्साहपूर्ण रणनीति, कार्ययोजना जारी गरी लागु गरिएको छ । त्यो ‘भिजन’ ले युवाका लागि गुणस्तरीय शिक्षा, रोजगारी र उद्यमशीलता, युवाको स्वास्थ्य र सामाजिक सुरक्षा, युवा परिचालन, सहभागिता र नेतृत्व विकास अनि खेल र मनोरञ्जनलाई आधार मानेर पाँचखम्बे रणनीति र कार्यक्रम तय गरेको छ । 

‘युथ भिजन–२०२५’ को सोच अनुसार रणनीति र कार्यक्रमहरू कार्यान्वयन भइदिएका भए अबको दुई वर्ष अर्थात् सन् २०२५ सम्ममा नेपाली युवालाई सफल, सक्षम, प्रतिस्पर्धी र आत्मनिर्भर बनाउँदै उनीहरूको सार्थक सहभागिता र नेतृत्व क्षमताको विकासमार्फत आधुनिक न्यायपूर्ण र समृद्ध नेपाल निर्माण भएको देख्न सकिने थियो । के त्यो सम्भव हुने छ ? रणनीति, कार्यक्रम बनाइएका छन्; राष्ट्रिय बजेट ती कार्यक्रमका लागि अपर्याप्त नै सही; विनियोजन भएकै छ । युवासम्बन्धी कार्ययोजना कार्यान्वयनको मुख्य जिम्मेवार निकाय तोकिएको छ तर तय गरिएका १० रणनीतिमध्ये पहिलोमै राखिएको युवा उद्यम कार्यक्रम (सिप, पुँजी, प्रविधि र बजार व्यवस्थापन गरी रोजगारी र स्वरोजगारी सिर्जना गर्ने) नै प्रभावकारी नहुँदा अहिले बर्सेनि युवाशक्ति बिदेसिने क्रम बढेको छ । राज्य दुई लाख ६० हजारभन्दा बढी युवाले वैदेशिक श्रम स्वीकृति लिएको भनी विप्रेषणमा रमाएको दुःखद यथार्थ छ । 

राष्ट्रिय युवा नीति अनुसार १८ देखि ४० वर्ष उमेरका युवा हुन् । देशको कुल जनसङ्ख्याको चालिस प्रतिशतभन्दा बढी यही समूह छ । यो समूह नै आर्थिक, सामाजिक गतिविधिमा बढी संलग्न छ तर यो जनसाङ्ख्यिक लाभ लिन सकिएको छैन । स्वदेशमा रोजगारी, स्वरोजगारीको प्रवर्धन हुन नसक्दा, अध्ययन र भविष्यप्रतिको निराशालगायतका कारण बिदेसिने क्रम बढ्दो छ । राष्ट्रिय युवा परिषद्को एक प्रतिवेदन अनुसार युवाशक्तिको २.३ प्रतिशत पूर्ण बेरोजगार, २८ प्रतिशत अर्ध बेरोजगार र ५८.८ प्रतिशत स्वरोजगार छ । वैदेशिक रोजगारीमा जाने युवामध्ये दुई प्रतिशत मात्र दक्ष र ७४ प्रतिशत अदक्ष छन् । 

युवा राष्ट्रका भविष्य हुन् । यस सन्दर्भमा यस पटकको युवा दिवसमा तय गरिएको ‘दिगो विकास लक्ष्य प्राप्तिमा युवाको साथ, हरित विश्व निर्माणमा हरित सिप विकास’ नारा मननीय छ । युवामा सिप विकास गरी दक्ष बनाउने र समुचित परिचालनमार्फत विकास लक्ष्य परिलक्षित कार्यक्रमहरूमा राज्यको प्राथमिकता आवश्यक छ । युवाको समुचित व्यवस्थापन र परिचालन गर्न सक्दा तीव्र रूपान्तरण अनि युवा परिचालन सही ढङ्गले नहुँदा ध्वंस, द्वन्द्वको दुष्चक्रमा परेका मुलुक देखिए, भोगिएकै छ । अग्रगामी सङ्कल्प र लगनशीलता भएका नेपाली युवामा पनि नवप्रवर्तनकारी सोच, सिप र क्षमता छ । प्रधानमन्त्री प्रचण्डले आफ्नो सिप र क्षमतालाई राष्ट्रको दिगो विकासमा खर्चिन गर्नुभएको आह्वानलाई युवाले आफ्नै सुन्दर भविष्यका लागि आत्मसात् गर्नु बुद्धिमत्ता हुने छ ।