• २९ वैशाख २०८२, सोमबार

प्रदेशकै अग्लो शिव मूर्ति स्थापना

blog

अर्खामा स्थापना गरिएको शिव मूर्ति । तस्बिरः सलिम मियाँ

सलिम मियाँ

बिजुवार, वैशाख २९ गते ।  प्यूठानको गौमुखी गाउँपालिका –१, अर्खा पीपल डाँडामा लुम्बिनी प्रदेशकै अग्लो शिव मूर्ति स्थापना गरिएको छ । ३६ फिट अग्लो र १२ मिटर चौडाइको यो मूर्ति करिब २ टन तौलको ढुङ्गाबाट निर्माण गरिएको हो ।

शिव मूर्तिको उदघाटन लुम्बिनी प्रदेश सरकारको सहरी विकास तथा खानेपानीमन्त्री सरोज थापाले गर्नुभएको हो । श्री तामेश्वर महादेव शिवालय पर्यटन विकास समितिको पहलमा निर्मित मूर्तिको लागत ३६ लाख ४७ हजार ४९ रुपियाँ रहेको समितिका अध्यक्ष तेजु गिरीले जानकारी दिनुभयो ।

गिरीका अनुसार धार्मिक तथा सांस्कृतिक दृष्टिले महत्वपूर्ण गौमुखी क्षेत्रमा यो मूर्ति स्थापनाले प्रदेशको धार्मिक पर्यटन प्रवर्धनमा ठुलो योगदान गर्ने विश्वास व्यक्त गर्नुभयो । गौमुखी क्षेत्र पर्यटकीय दृष्टिले महत्वपूर्ण छ” उहाँले भन्नुभयो, “शिवको ३६ फिट अग्लो मूर्ति स्थापनाले धार्मिक पर्यटक बढाउने अपेक्षामा छौं ।”

समितिका कोषाध्यक्ष बेले गिरीले मूर्ति कास्की, पोखराबाट ल्याएर अर्खामा स्थापना गरिएको जानकारी दिनुभयो । कार्यक्रममा मूर्ति निर्माणमा एक लाख रुपियाँभन्दा बढी सहयोग गर्ने दाताहरूलाई पञ्चेबाजासहित सम्मान गरिएको थियो ।