भक्तपुर, साउन २८ गते । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले विश्व अङ्गदान दिवस मनाएको छ । मस्तिष्क मृत्युपश्चात् हुने अङ्गदानबाट प्रत्यारोपणसम्बन्धी जानकारी गराउने उद्देश्यका साथ केन्द्रले आज भक्तपुर नगरपालिकाका नगरप्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा भक्तपुर जिल्लाका चारवटै नगरपालिकाका प्रमुख र वडाध्यक्षको उपस्थितिमा एक कार्यक्रममको आयोजना गरी विश्व अङ्गदान दिवस मनाएको हो । कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरलाई अङ्गदानका लागि नमुना नगरका रूपमा विकास गर्ने प्रतिबद्धता गर्नुभयो ।
उहाँले भन्नुभयो, “नगरभित्र अङ्गदान सम्बन्धमा व्यापक जनचेतना फैलाउन प्रयास गर्छौं र अङ्गदानका क्षेत्रमा एउटा नमूना नगरपालिकाका रूपमा स्थापित गर्नेछाँै ।”
केन्द्रका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठले मस्तिष्क मृत्युपश्चात् हुने अङ्गदानबाट प्रत्यारोपणको आर्थिक भारसँगै जोखिम पनि कम हुने बताउनुभयो । उहाँले भन्नुभयो, “यदि मस्तिष्क मृत्युपश्चात् हुने अङ्गदानबाट प्रत्यारोपण हुन सकेमा खर्च कम हुनाका साथै जीवित व्यक्तिबाट अङ्ग झिक्न नपर्दा उसको स्वास्थ्यमा आउनसक्ने समस्या हँुदैन ।”
डा श्रेष्ठले केन्द्रका भौतिक संरचना विकास र सेवा विस्तारका लागि पायक पर्ने स्थानमा आवश्यक जग्गा उपलब्ध गराउन नगरपालिकाभित्रका सबै तहलाई आग्रहसमेत गर्नुभयो ।
केन्द्रका प्रमुख कन्सल्टेन्ट नेफ्रोलोजिष्ट डा कल्पनाकुमारी श्रेष्ठका अनुसार नेपालमा बर्सेनि तीन हजार जनाको मिर्गौला फेल हुने गरेको छ । उहाँले अङ्गदानसम्बन्धी जनचेतना विस्तारमा स्थानीय तहको भूमिका अत्यन्त महत्त्वपूर्ण हुने बताउनुभयो ।
“प्रत्येक १० जनामध्ये एक जनलाई मिर्गौला रोग लाग्ने गर्दछ र विश्वभरि नै मिर्गौला रोगको प्रकोप बढिरहेको परिप्रेक्ष्यमा रोगको पहिचान तथा उपचार र रोकथामका महत्त्वपूर्ण उपायबारे सबैलाई सचेत गराउनुपर्ने आवश्यक छ”, उहाँले भन्नुभयो ।
उहाँका अनुसार पश्चिमा मुलुकमा मस्तिष्क मृत्युपश्चात् प्राप्त अङ्गबाट ७० प्रतिशतभन्दा बढी प्रत्यारोपण हुने गरेको छ । तर सार्क राष्ट्रमा मस्तिष्क मृत्युपश्चात् हुने अङ्गदान तथा प्रत्यारोपण कममात्रामा हुने गरेको छ । रासस