• १२ मंसिर २०८१, बुधबार

सम्मान संस्कृतिको अपेक्षा

blog

अपमानजनक व्यवहार, आफ्नो स्वार्थ समूहमा नरहेको आधारमा अरूलाई होच्याउने, गाली गर्ने, झुटो आरोप लगाउने, खिसी गर्ने, धम्की दिने जस्ता घृणायुक्त मानव अधिकारविरुद्धको कार्य हो । पछिल्लो समयमा उच्च राजनीतिक नेतृत्वमा समेत यस्तो व्यवहारले प्रश्रय पाउँदै गएको पाइन्छ । 

राज्यको जिम्मेवार राजनीतिक, प्रशासनिक पदमा बसेर यस्तो व्यवहार प्रदर्शन गर्नु आफैँमा एउटा दुःखद अवस्था हो । नेतृत्वको घृणायुक्त अभिव्यक्तिले जागिरे जीवनमा खल्लो, कमजोर र नमिठो बनाइदिन्छ । कति गाह्रो हुन्छ इच्छा विपरीत आदेशको पालना र निर्देशनात्मक मार्गमा हिँड्न ? सङ्गठनमा कार्यस्थलको स्वच्छ वातावरण, समानता, समता, उत्प्रेरणा, मनोबल, रमाइलो कार्यवातावरण, सहयोगी वातावरण हाकिमको भूमिका जहिले पनि रोल मोडल बनी, नेतृत्वले मार्गदर्शन गर्छ । 

स्वच्छ वातावरणमा कर्मचारी जहिले पनि स्वतःस्फूर्त रूपमा काम गर्ने, सिक्ने र सिकाउने जस्ता कार्यसंस्कृतिको विकास भएको छ । जुन सिद्धान्तलाई पङ्क्तिकारले शिक्षा आर्जन गरी परीक्षामा लेखी पास गरेर आयो तर पढेका ती सिद्धान्त त व्यवहारमा कहाँ, कता लागु हुन्छन् भन्ने सरकारी जागिरे जीवनको आधा बीस हुँदाहुँदासम्म कहिल्यै बु्झ्न सकिएन ।

मानव अधिकारसम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दस्तावेजले अभिव्यक्ति स्वतन्त्रतालाई सुनिश्चित गरेका छन् । आफ्नो अधिकारको उपभोग गर्दा अरूको अधिकारको सम्मान गर्नुपर्ने दायित्व पनि जोडिएर आउने सन्दर्भमा घृणायुक्त अभिव्यक्तिले व्यक्तिको सम्मानपूर्वक बाँच्न पाउने अधिकारमा नै प्रभाव पार्ने हुनाले घृणायुक्त अभिव्यक्तिलाई मानव अधिकारविरुद्धको कार्य मानिन्छ । 

कार्यालयमा कर्मचारीमाथि दमन गर्ने, भेदभाव गर्ने, होच्याउने वा अपमानित गर्ने, पटक, पटक दुःख दिने, खिसी गर्ने, ठुलो ठुलो स्वरमा थर्काउँने अभिव्यक्ति घृणायुक्त अभिव्यक्तिको रूपमा लिइन्छ । घृणायुक्त अभिव्यक्तिको प्रयोगले व्यक्तिको मानव अधिकार हनन हुने तथा यसले हिंसालाई प्रोत्साहित गरी गम्भीर मानव अधिकार हननका घटनासमेत भएको तथ्यलाई मनन गरी संयुक्त राष्ट्रसङ्घ तथा विभिन्न मुलुकले यस्तो अभिव्यक्तिको रोकथामका लागि प्रयास गर्दै आएको पाइन्छ । कार्यान्वयनको पक्ष निकै कमजोर रहेको छ ।

घृणायुक्त अभिव्यक्ति मानिसले बोलेर, लेखेर वा व्यवहारबाट प्रदर्शन गर्ने अभिव्यक्ति, मानव अधिकारविरुद्धको गाली बचन, घृणाले भरिएको भाषा, अभद्र भाषा, महिलामाथि हुने दोहोरो विभेद र अनादर व्यवहार जस्ता शब्दले गर्दा कर्मचारीको कार्यालयप्रति वितृणा ल्याई आफ्नो जिम्मेवारी र दायित्व निर्वाह गर्न सक्दैन । उसलाई कामप्रति उत्साह, जोश र जागर आउँदैन । कार्यालय जानै नपरे हुन्थ्यो भन्ने मानसिक तनाव सुरु हुन्छ । परिणाम स्वरूप डिप्रेसनको सिकार बन्दै जान्छ । 

कर्मचारीभित्रको दक्षता, क्षमता उजागर हुनुको साटो घट्दै जान्छ । भित्रभित्रै कुण्ठाले डेरा जमाउँछ । उसलाई घृणायुक्त शब्दले अपमानित गर्ने व्यक्तिसँग बिस्तारै डर लाग्ने, देख्न मन नलाग्ने, सकेसम्म टाढै बस्न पाए हुन्थ्यो जस्तो भइरहन्छ । परिणाम स्वरूप संस्था, कर्मचारीका लागि नै अहित हुन जान्छ । घृणायुक्त अभिव्यक्तिलाई पछिल्लो समयमा लोकतान्त्रिक मूल्य र मान्यता, सामाजिक स्थिरता र शान्ति सुव्यवस्थामा खतरा पैदा गर्नुको साटो खलल पु-याउने भनी व्याख्या र विश्लेषण विभिन्न अध्ययनले गरेको छ । जसले मानिसलाई मनोवैज्ञानिक प्रभाव मात्र पार्दैन असहिष्णुता र द्वन्द्वलाई प्रोत्साहित गरी शारीरिक हिंसा गर्न प्रोत्साहित गर्दछ । 

अमर्यादित अभिव्यक्तिको प्रयोगले व्यक्ति तथा समूहको मर्यादा तथा सम्मानपूर्वक जीवनयापन गर्ने अधिकारमा असर पर्ने हुनाले यस्तो व्यवहार आफैँमा मानव अधिकारविरुद्धको कार्य हो । मानव अधिकारको विश्वव्यापी घोषणापत्रको धारा २९ ले आफ्नो अधिकार तथा स्वतन्त्रताको उपभोग गर्दा अरूको अधिकार तथा स्वतन्त्रताको सम्मान गर्नुपर्ने र कानुनी दायराभित्र बस्नु पर्ने कर्तव्य तोकेको छ ।

मानिस जहिले पनि पुरस्कार, प्रशंसा, सम्मान र वृत्ति विकासको भोको हुन्छ । मधुर बोली, स्याबासी, धन्यवाद, राम्रो छ अझ राम्रो गर्नु जस्ता शब्दको प्रयोगले नै कार्यस्थलमा स्वतःस्र्फूत ल्याई कर्मचारीको मनोबल उच्च बनाउनका लागि महत्वपूर्ण भूमिका खेल्दछ । पुरस्कारको थुप्रो र रास नै चाहिँदैन । कार्यस्थलमा पदसोपानिक पद्धतिमा आदेश माथिबाट तलतिर प्रवाह हुन्छ ।

तलको श्रेणीविहीन र मातहतको कर्मचारीले माथिल्लो उच्च ओहोदामा आसीन व्यक्तित्वसँग धेरै कुराको आस गरेको हुन्छ । आफ्नो हाकिम वा उच्च पदस्थ नेतृत्व बोल्दाका बखत धेरै कुराको सिकाइ होस् । उसले हरेक पलमा मार्गदर्शन गरोस् । काम गर्ने वातावरणमा स्वच्छता छाओस् जहाँ भोक प्यास भुलेर पनि आफ्नो कर्ममा दत्तचित्त बन्न सकोस् । कर्मचारीलाई परिचालन यसरी गरोस्की फूलको रस चुसिरहँदा माहुरीलाई कुनै पत्तै हुँदैन ताकी बढीभन्दा बढी संस्था र कर्मचारीको हितमा केन्द्रित बनायोस् । गर्भका साथ हाकिमका अगाडि आफ्ना कुरा दिल खोलेर भन्न र राख्न पाइयोस् । हाकिमले पनि आफ्ना कर्मचारीको मनोभावना बुझेर कार्य गरोस् । राम्रो कामको प्रशंसा, नजानेका काममा मार्गदर्शन गरियोस् । एउटा इमानदार कर्तव्यनिष्ठ, अनुशासित कर्मचारी बन्नका लागि मदत पुगोस् । कार्यस्थलभन्दा बाहिरको विषयवस्तुभन्दा फरक विषयमा अनावश्यक बिनाकारण आफ्नो कार्यकक्षमा बोलाएर थर्काउने ठुलो ठुलो स्वरमा थर्काइ दुव्र्यवहारपूर्ण, हैकम, बर्बर व्यवहार गर्छ । विषाक्त शब्दका प्रहारले मन मस्तिष्क नै भत्काउँदा पीडाको मापन गर्न सकिँदैन । मनमा कति ठुलो चोट लागेको हुन्छ । जसलाई कुनै पनि औषधीले निको बनाउनँ सक्दैन । एक थप्पड हानेको झापडले एकछिन मात्र पीडा भई केही छिनमा निको हुन्छ । 

मनमा हिर्काएको विषाक्त शब्दले जीवनभर निको नहुने गरी बल्झिरहन्छ । हाकिमको अगाडि चाहिने विषयवस्तुमा आफ्नो राय राख्न नपाउने । तल्लो कर्मचारी मरीमरी काम गर्ने माथिल्लो पदले क्रेडिट पाउने । ठुला ठुला सेमिनार, गोष्ठी, कार्यशालामा कामचोर उपस्थित हुनुपर्ने संस्कार रहेको छ । 

वैदेशिक भ्रमण तालिम, गोष्ठी, सेमिनार, कार्यशालामा माथिल्लो पद र नजिकका आसेपासेले अवसर पाउछन् । चाकरी, चाप्लुसी, दायाबाया गरिरहने कर्मचारी जहिले पनि पुरस्कार प्रशंसा र अवसरका लागि अग्रस्थानमा पर्दछ । दिनभरि खाजासमेत नखाई आफ्नै काममा मरिमेटिरहने इमानदार, कर्तव्यनिष्ठ कर्मचारीले कहिले पनि प्रशंसा, अवसर, पाउँदैन उल्टै घृणायुक्त अभिव्यक्तिको सिकार बन्नु पर्दछ । मार्गदर्शन त परको कुरा रहेछ । 

उच्च मनोबल, उत्प्रेरणा भन्ने त कता हो ? उल्टै अपमानित भई दुव्र्यवहार सहनु पर्ने ? कहिलेसम्म यस्तो कार्यवातावरणमा कर्मचारीले कार्य गर्न सक्दछ । पङ्क्तिकारलाई किन सानो छँदा परिवारले कामचोर बनाएन ? किन ठुलो ठुलो स्वरमा तर्साएन ? किन चाकरी चाप्लुसी र स्वस्ती गर्ने बनाएन ? सधैँ पाइला पाइलामा इमानदार, कर्तव्यनिष्ठ इमानदार, नैतिकवान् बनायो । एक अर्कामा माया, सद्भाव, दया र करुणाको भाव सिकायो । परिणाम स्वरूप कार्यालयको दूषित संस्कृतिमा रमाउन गाह्रो भएको छ । किन प्रशंसाको पगरी होइन कि उल्टै दुव्र्यवहारको सिकार हुनु पर्छ । 

पङ्क्तिकारलाई जस्तो सुकै परिस्थितिमा पनि परिवार, समाजले सिकाएको असल मार्गमा हिँडेर मानव अधिकार संस्कृति, स्वच्छ कार्य वातावरणमा सारा जागिरे जीवन समर्पित गर्न जरुरी ठान्छ । यस्ता घटना संस्थामा हुनु हुँदैन । कर्मचारी, संस्था मात्र नभएर समग्र राज्यका लागि घातक बन्छ । अरूको मान सम्मान र इज्जत गर्ने बानी बसालौँ, ताकी आफूले गरेको व्यवहारले कसलाई पनि पीडाको अनुभूति गर्न नपरोस् । कार्यालयको कार्यसंस्कृतिलाई सधैँ स्वस्थ, स्वच्छ र मधुर राखी संस्थालाई जनमुखी, परिणाममुखी र नतिजामुखी बनाउनु आवश्यक छ । 

घृणायुक्त अभिव्यक्ति मानव अधिकारको विरुद्ध हो भन्ने विषयमा जनचेतनालाई बढाउन लागौँ । एक असल नेतृत्व मात्र नभएर समग्रले एकअर्कामा मर्यादित, सम्मानित, शिष्ट भाषाको प्रयोगलगायत मानवीय व्यवहार गरी रोल मोडल बन्न आवश्यक छ । कर्मचारी र संस्थाको हितमा केन्द्रित हुनु पनि त्यत्तिकै जरुरी रहेको छ । यो समयको माग हो । मानव अधिकार संरक्षणका लागि थप बलसमेत हो ।

 

Author

कल्पना नेपाल आचार्य