देशको राजनीतिक उद्देश्य प्राप्तिका लागि नागरिकले राजनीतिक दल निर्माण गरेका हुन् । दलहरूले आफ्नो राजनीतिक दर्शन, विचारधारा, कार्यक्रम र आफूले प्रतिनिधित्व गर्ने वर्गको उद्देश्य पूरा गर्न राजनीतिक प्रतिस्पर्धा गर्दछन् । दलहरूको मूल काम मत र विचार सङ्ग्रह गर्ने, वैकल्पिक नीति प्रस्तुत गर्ने र राजनीतिक नियुक्ति गर्ने हो । यसका लागि दलहरू स्वयम्मा आन्तरिक लोकतन्त्रान्त्रिक अभ्यास कति सफल छ, कति पारदर्शी र उत्तरदायी छ भन्ने कुरामा विशेष ध्यान दिनु पर्छ ।
हरेक दलहरूले आफ्नो सङ्गठनात्मक व्यवस्थापन, निर्वाचन प्रणाली र पार्टी संरचना, आर्थिक स्रोत तथा व्यवस्थापन, राज्य निकायमा पार्टीको प्रतिनिधित्वको व्यवस्थापन र पार्टी र संसदीय दलबिचको सम्बन्धलाई कसरी परिभाषित, परिचालित तथा व्यावहारिक रूपमा प्रयोग गरेको छ भन्ने कुराले पार्टीभित्रको आन्तरिक लोकतन्त्रको विद्यमान अवस्था कस्तो छ भन्ने निक्र्योल हुन्छ । जनता आफैँले बनाएको संविधानको अधीन रही राज्य सञ्चालन, अधिकारको संरक्षण र उपभोग गर्ने, समस्या समाधान गर्ने, सहमति वा विरोध गर्ने, अर्थतन्त्र सञ्चालन गर्न पाउने व्यवस्था नै लोकतन्त्र हो । लोकतन्त्र असलमा जनताको शासन हो ।
लोकतन्त्रमा जनता नै केन्द्रबिन्दु हुने भएकाले जनताले यसमा अपनत्व र स्वामित्व प्राप्त गर्दछन् । लोकतन्त्रका आधारभूत मूल्य मान्यता, सार्वभौसत्तासम्पन्न जनता, कानुनको शासन, संविधानको सर्वोच्चता, आवधिक निर्वाचन, मानव अधिकारको परिपालना, स्वतन्त्र प्रेस, सुशासन र नागरिक समाजको अस्तित्व पर्दछन् । विभिन्न जाति, वर्ग, धर्म, लिङ्ग र क्षेत्रका जनताको प्रतिनिधित्व र राज्यको स्रोतमा पहुँच स्थापित गर्ने काम लोकतान्त्रिक शासन प्रणालीले अङ्गीकार गर्छ ।
दलहरूले सच्याउनुपर्ने प्रणाली
लोकतान्त्रिक संस्कृति निर्माण गर्ने अभ्यास निकै कम छन् । परिवर्तन वा रूपान्तरणका लागि व्यक्ति स्वयम् तयार छ कि छैन ? एकअर्काप्रतिको आदर, सम्मान, पारस्परिक सहयोगको आदानप्रदान, सकारात्मक सोच, समानुपातिक प्रतिनिधित्वको सुनिश्चितता, नागरिक तथा अन्य सरोकारवालासँगको नियमित अन्तर्क्रिया, प्राप्त सुझावको ग्रहण गर्ने क्षमताको विकास, अर्थपूर्ण सहभागिताको अवसरको सिर्जना, सँगसँगै काम गर्ने, सामूहिक निर्णयप्रतिको विश्वास, साझा सवालप्रति संवेदनशीलता, सबै खाले विचारका बिचमा साझा विचारको निर्माण र कार्यान्वयन, समर्थकको संरक्षण, सहजिम्मेवारीको पालना, सक्रिय योगदान र अरूको योगदानको कदर जस्ता काम लोकतान्त्रिक संस्कृतिभित्र पर्दछन् ।
आफ्नो जिम्मेवारी र भूमिकाप्रति सधैँ सजग बन्ने र गरेका कामको उत्तरदायित्व लिने सवाल लोकतान्त्रिक संस्कृतिभित्रै पर्छ । बोल्दा, हिँड्दा, खाँदा वा अन्य राजनीतिक क्रियाकलापमा सहभागी भइरहँदा अरूप्रतिको दृष्टिलाई सकारात्मक बनाउने र सहयोगी भावनाको विकासले लोकतान्त्रिक संस्कृतिलाई मलजल गर्ने गर्दछ । बहुलता नेपाली समाजले अङ्गीकार गरेको विचार हो, बहुलता भएकै कारणले भिन्न दल अस्तित्वमा आएका हुन् भन्ने कुरालाई बिर्सनु हुँदैन ।
कुनै पनि व्यक्तिले लिएको विचार, सिद्धान्त र व्यवहार लोकतान्त्रिक छ कि छैन भन्ने कुराको प्रतिविम्बन ब्यक्ति सङ्गठित रहेको सङ्गठनभित्र पर्ने गर्छ । व्यक्तिका आचरण र व्यवहार लोकतान्त्रिक छन् कि छैनन् भन्ने विषय स्वाभाविक रूपमा व्यक्तिको नैतिकता, इमानदारी र सहयोगी व्यवहारमा प्रतिविम्बन हुन्छन् । व्यक्तिले बोक्ने मूल्य मान्यता, उसको पारिवारिक संस्कार र सामाजिक वातावरणले लोकतान्त्रिक व्यवहारलाई नियमित वा अनियमित बनाउन भूमिका निर्वाह गर्ने गर्छ । बहुलवादी खुला समाजमा एउटा राजनीतिज्ञको जीवन सधैँ खुला किताब जस्तै हुनु पर्छ ।
सिक्ने अभिरुचि, आफूलाई कस्तो ठान्ने – एउटा शिक्षक वा विद्यार्थी ? ठुलो वा सामान्य ? अरूका लागि सिक्ने अवसरको सिर्जना वा निर्देशनको पालना गराउने प्रयत्न, नेतृत्व विकासको प्रयत्न वा कार्यालयको हाकिम जस्तै आफूलाई जान्ने अरू नजान्ने ठान्ने, गल्तीको स्वीकारोक्ति वा दोषारोपण, सकारात्मक सोच र चिन्तन वा सधैँ खराब देख्ने नकारात्मकता जस्ता अवयवले व्यक्तिको लोकतान्त्रिक व्यवहारलाई निदिष्ट गर्ने गर्छ । समानता वा असमानता ? विभेद वा सामाजिक न्याय ? आफ्ना लागि वा अरूका लागि ? सेवा वा व्यापार ? जस्ता विचारले व्यक्तिलाई कता डो-याउने बाटो तय गर्छ । आफ्नै जिद्दी वा अरूको देखेको बाटो पनि ठिक हो कि भनेर विश्लेषण गर्ने, कडा भएर अघि जाने वा लचिलो बन्ने जस्ता अभ्यासले व्यक्तिका व्यवहारलाई लोकतान्त्रिक बनाउनका लागि योगदान गर्छ ।
शक्तिको केन्द्रीकरण वा विकेन्द्रीकरण, राज्य संयन्त्रका बिचमा सन्तुलन नियन्त्रण वा मनपरी परिचालन, सार्वजनिक स्रोतमाथि नागरिक नियन्त्रण वा राज्यको नियन्त्रण, सुशासन स्थापना वा बेथिति, आधारभूत मानव अधिकारहरूको सुनिश्चितता वा उल्लङ्घन ? राज्यका संयन्त्रमाथिको विश्वास वा अविश्वास ? राज्य संयन्त्र र नागरिक सङ्गठनबिचको असल सम्बन्ध निर्माण वा टकराव, सूचना प्रविधिमाथिको पहुँच सुनिश्चित वा नियन्त्रण जस्ता व्यवहारबाट लोकतान्त्रिक जवाफदेहिता कस्तो भन्ने निक्र्योल गर्न सकिन्छ ।
शासन प्रणाली कसरी जवाफदेही बनाउने ?
शासन प्रणालीलाई संस्थागत विकास गर्न दलहरू तयार नभएसम्म मुलुकमा राजनीतिक स्थिरता कायम हुन सक्दैन । इतिहासको ब्याज खाने प्रचलनका विरुद्धमा व्यापक समीक्षा गर्दै नागरिकको जीवन सहजताका लागि आधुनिक युगका सचेत नागरिकको आजको आवश्यकतामा आधारित भएर अघि बढ्नका लागि दलहरू सधैँ तयार हुनु पर्छ । राजनीतिक प्रणाली र शासन प्रणालीबिचको तादात्म्यता कस्तो, नागरिक सहभागिताका लागि स्पेस कति, आलोचना सुन्ने र सच्याउने अभ्यास कस्तो, स्वतन्त्र न्यायपालिकाको स्थापना र सञ्चालनको अवस्थाले पनि जवाफदेहिता मापन गर्छ ।
नागरिक जीवनका हरेक अप्ठेरालाई सम्बोधन गर्ने नीति तथा कार्यक्रम, संविधान, ऐन कानुनको परिपालना वा उल्लङ्घन, नागरिकका आवाजको तत्काल सम्बोधन वा त्यसलाई दबाउने अभ्यास कस्तो भन्ने विषयले पनि लोकतान्त्रिक जवाफदेहिताको मापन गर्ने हो । लोकतान्त्रिक राज्य प्रणाली स्थापनाको पहिलो सर्त हो, दलहरूद्वारा लोकतान्त्रिक प्रणालीको अवलम्बन । दलहरूमा आन्तरिक लोकतन्त्रको अवस्था कस्तो छ, लोकतान्त्रिक अभ्यास कति घनीभूत छन्, दलका हरेक संरचनाको निर्माण र परिचालनको प्रणाली लोकतान्त्रिक छ कि एउटा व्यक्तिको निर्णयका आधारमा सबै चल्छ भन्ने कुराले शासन प्रणाली जवाफदेही बनाउन योगदान गर्छ ।
दलका सबै संरचनाको वैधानिक व्यवस्थाको परिपालना भइरहेको छ कि छैन, तोकिएको समयमा नेता कार्यकर्ताबाट अनुमोदित हुन्छन् कि हुँदैनन्, तोकिएका अनुशासनको परिचालना गरिन्छ कि गरिँदैन । नेतृत्व परिवर्तनको प्रणाली कस्तो छ ? एउटा व्यक्ति सधैँभरिका लागि नेता बनिरहन्छ कि परिवर्तन गरिन्छ ? नेतृत्व परिवर्तनको योजना बन्ने र कार्यान्वयन हुने अवस्था कस्तो छ ? पार्टी र राजकीय निकायबिचको भिन्नताका बारेमा सबैले बुझ्छन् कि बुझ्दैनन् भन्ने विषयले नै लोकतान्त्रिक राज्य प्रणाली कस्तो छ भन्ने देखिन्छ ।
निर्वाचनको घोषणापत्र निर्माण, प्रचारप्रसार, प्रशिक्षण तथा आमसभामा बोल्ने वक्ताले आफ्नो पार्टीको नीति, कार्यक्रम तथा योजना नागरिकलाई बताउने, आगामी पाँच वर्ष पार्टीले महिला, बालबालिकाका लागि के गर्छ ? ज्येष्ठ नागरिक तथा अशक्त नागरिकका लागि के गर्छ ? उद्योग नीति के हुन्छ ? शिक्षा नीति कस्तो हुन्छ ? स्वास्थ्य नीति कस्तो हुन्छ ? रोजगार नीति कस्तो हुन्छ ? भूमि नीति कस्तो हुन्छ ? जस्ता विषय मात्रै नागरिकका बिचमा राख्ने र तदनुकूलको व्यवहार गर्ने हो भने पनि व्यवस्थालाई मजबुत बनाउने छ ।
आवधिक निर्वाचन, कानुनी शासनको प्रत्याभूति, सुशासित र जवाफदेही सरकार सञ्चालन, राज्यका संरचनाबिचको समन्वय र सहकार्यको अवस्था, नागरिकलाई सहज सेवा प्रवाहको सहज प्रणाली, सीमान्तकृत र छेउ पारिएका समुदायका लागि सामाजिक न्यायको प्रत्याभूतिको प्रणाली, निर्णय प्रक्रियामा नागरिक सहभागिता, लोककल्याणकारी राज्यभित्र विभेदजन्य ब्यवहारको निषेधीकरण, दण्डहीनताको अन्त्य र आधारभूत मानव अधिकारको सुनिश्चितता जस्ता विषयको सम्बोधनले राज्य प्रणालीलाई तोकतान्त्रिक बनाउन योगदान गर्छ ।
निष्कर्ष
लोकतन्त्रका लागि नेपाली नागरिकको सङ्गठित, असङ्गठित प्रयास र प्रयत्न बलिदानीपूर्ण रहेको छ । नेपालका राजनीतिक दलहरूले नेपालको शासन प्रणाली परिवर्तनका लागि निकै लामो सङ्घर्ष र बलिदान गरेका छन् । राजनीतिक परिवर्तनका लागि आमनागरिकलाई तयार गर्ने, प्रशिक्षित गर्ने र दलहरूको झन्डामुनि गोलबन्द गर्ने काम मेहनतका साथ गर्दै आइरहेका छन् । परिवर्तनलाई संस्थागत बनाउने र आफूलाई शासकीय क्षमताको प्रयोगमार्फत आमजनजीवनलाई सहज बनाउने कुरामा अहिले पनि चुकिरहेका छन् ।
किन बारम्बार यस्तो भइरहेको छ भन्ने प्रश्नको जवाफ खोज्ने, आत्मसमीक्षा गर्ने र विगतबाट पाठ सिक्ने प्रवृत्ति वा अभ्यासको अहिले पनि खडेरी नै छ । जबसम्म हामी परिवर्तनलाई संस्थागत गर्ने र नेपालमा रहेका स्रोतसाधनको न्यायोचित वितरण प्रक्रियालाई सबलीकरण गर्न सक्दैनौँ, देश र नागरिक जीवनलाई केन्द्रमा राख्न सक्दैनाैँ वा सत्ता र शक्तिको दुरुपयोग गर्ने प्रवृत्तिमाथि हमला गर्न सक्दैनौँ, तबसम्म हाम्रो लोकतन्त्र सधैँ कमजोर र आलोचनामुक्त रहन सक्दैन ।
लोकतन्त्रलाई संस्कार, संस्कृतिका रूपमा ग्रहण गर्ने, हाम्रा दैनिक व्यवहारलाई लोकतान्त्रिक र जवाफदेही बनाउने तथा नागरिकको जीवनलाई सहज बनाउने कार्यक्रम र योजना कार्यान्वयनको तहमा लैजान सक्दैनौँ, जबसम्म नेपालका दलभित्र लोकतान्त्रिक वातावरण निर्माण गर्न सक्दैनौँ, व्यक्तिगत स्वार्थ र सर्वसत्तावादी चिन्तन प्रवृत्तिमाथि हमला बोल्न सक्दैनौँ, जबसम्म नागरिक आवाजलाई सुन्ने र प्राप्त भएका नागरिकका आवाजलाई तत्काल सम्बोधन गर्ने प्रणाली स्थापित गर्न सक्दैनौँ, तबसम्म हाम्रो लोकतन्त्रमाथिको कालो बादल निरन्तर लागिरहने छ ।
दल तथा राजकीय सत्ताभित्रको भिन्नतालाई स्वीकार गर्ने, निर्वाचित भएपछि पार्टी नेता, कार्यकर्ताभन्दा माथि उठेर आमजनताको प्रतिनिधि ठान्ने र सबै विचार, दर्शन र संरचनाको नेता बन्ने क्षमताको विकास आजको आवश्यकता हो । एक जनप्रतिनिधि तथा नेताको जीवन सधैँ खुल्ला र सार्वजनिक जीवन हो भन्ने कुराको बोध गर्ने र आमनागरिकले तिरेको करको हिसाब नागरिककै समृद्धिका लागि खर्च गर्ने प्रणाली स्थापना गरी नागरिकप्रति जवाफदेही र उत्तरदायी सरकार, प्रशासन तयार नभएसम्म हामीले जति लोकतन्त्रको गीत गाए पनि आमनागरिक जीवनमा परिवर्तनको कल्पना गर्न सकिँदैन भन्ने बोध सबैमा आउनु जरुरी छ ।
राजनीतिक दलहरूमा विभाजन, बेमेल र विभाजनका शृङ्खलाको समूल नष्ट नभएसम्म नेपालको लोकतन्त्र दिगो हुँदैन र अहिले स्वतन्त्रका नाममा जे जस्ता क्रिया भइरहेका छन्, ती क्रियाकलापले पनि लोकतन्त्रलाई कमजोर बनाउने र अराजकता सिर्जना गर्ने काम नै गर्ने छ । विचारविहीनता, दलविहीनता र पार्टीको सन्तुलन तथा नियन्त्रणबिना लोकतन्त्र बलियो हुनै सक्दैन । विचार, दर्शन र वैकल्पिक कार्यक्रमले नै लोकतन्त्रलाई बलियो र सुन्दर बनाउने हो । लोकतन्त्रमा राजनीतिक दलको विकल्प स्वतन्त्र हुनै सक्दैन, दलको विकल्प दल नै हुन् । दलहरूले निरन्तर रूपमा आफूलाई सच्याउँदै जाने विषयमा बढी ध्यान दिनु जरुरी छ । दलहरूले आन्तरिक लोकतन्त्रको क्षयीकरण रोक्नका लागि नयाँ शिराबाट अघि बढ्नुपर्ने अहिलेको आवश्यकता हो ।