खलङ्गा समाचारदाता
जाजरकोट, साउन २८ गते । जाजरकोटमा आँखा पाक्ने रोगको प्रकोप बढेपछि विद्यालय बन्द गरिएका छन्। ‘कन्जङ्क्टिभाइटिस एनिडो’ भाइरसले सर्वसाधारणलगायत विद्यार्थीका आँखा पाक्न थालेपछि एक हप्ताका लागि यहाँका निजी तथा सामुदायिक विद्यालय बन्द गरिएको हो।
ठुलादेखि विद्यालयस्तरका बालबालिकाका आँखा पाक्न थालेपछि विद्यालय बन्द गरिएको हो। भेरी त्रिवेणी माध्यमिक विद्यालय, त्रिभुवन माध्यमिक विद्यालय, रिभर डाइनामिक बोर्डिङ, नेवेलिस्ट बोर्डिङ स्कुललगायत दर्जनभन्दा बढी विद्यालयका बालबालिकामा आँखा पाक्ने रोगको प्रकोप बढेपछि विद्यालय बन्द गरिएको छ।
भगवती माध्यमिक विद्यालयका प्रधानाध्यापक प्रताप रोकायका अनुसार आँखा पाक्ने रोग सरुवा रोग भएकाले सङ्क्रमित विद्यार्थीबाट निरोगी विद्यार्थीलाई सर्ने सम्भावना हुँदा एक हप्ताका लागि विद्यालयको पठनपाठन बन्द गर्नुपरेको हो। भेरी नगरपालिका शिक्षा शाखासँगको समन्वयमा विद्यालय बन्द गरिएको प्रधानाध्यापक रोकायले जानकारी दिनुभयो।
सुरुमा आँखा चिलाउने, रातो हुने, सुन्निएर पाक्ने समस्या विद्यालयका करिब २५ प्रतिशत विद्यार्थीमा आएपछि समुदायस्तरमा रोगको प्रकोप फैलन थालेको छ। नेपाल रेडक्रस सोसाइटी जाजरकोटका आँखा उपचार केन्द्रका इन्चार्ज प्रदीपजङ्ग शाहका अनुसार आँखा पाक्ने क्रम बढेपछि जिल्ला अस्पताल, निजी क्लिनिक, नेपाल रेडक्रस सोसाइटी शाखा जाजरकोटको आँखा उपचार केन्द्रमा बिरामीको भीड लाग्न थालेको छ। आँखा पाक्ने समस्याले ग्रसित भएका दैनिक ६० देखि ७० जना बिरामी आउने गरेका छन्। उहाँले ‘कन्जङ्क्टिभाइटिस एनिडो’ भाइरस सरुवा रोग भएकाले भीडभाडमा नजान, घरमै सुरक्षित बस्न, आँखामा समस्या देखिन थालेपछि तातोपानीले सफा गर्ने, औषधि प्रयोग गर्न आग्रह गर्नुभयो।
भेरी नगरपालिका–३ का तेजविक्रम शाहले आँखा पाक्ने रोगको सङ्क्रमण फैलिँदै गएकाले स्थानीय सरकारले छिटोभन्दा छिटो औषधि र विशेषज्ञ डाक्टरको व्यवस्थाका लागि सरोकारवाला निकायसँग समन्वय र सहकार्य गर्न अनुरोध गर्नुभयो।