• १२ मंसिर २०८१, बुधबार

बाँकेमा रगत अभाव : रक्तदानका लागि रक्तसञ्चार केन्द्रको अपिल

blog

रगत अभाव टार्न एचसिआरसी अस्पतालमा गरिएको रक्तदान कार्यक्रम । तस्बिर : सिराज खान

सिराज खान
नेपालगञ्ज, साउन २७ गते । 
पश्चिम नेपालका तीन वटा प्रदेशका गम्भीर अवस्थाका बिरामीको उपचार हुँदै आएको नेपालगन्जमा फेरि रगत अभाव हुन थालेको छ । मौसम परिवर्तनका कारण बाँकेका विभिन्न सरकारी र गैर सरकारी अस्पतालमा बिरामीको चाप बढ्नाले उनीहरूको उपचारमा रगतको अभाव देखिन थालेको जनाइएको छ  ।

रक्तसञ्चार केन्द्र नेपालगञ्जका प्रमुख उपेन्द्र रेग्मीले जिल्लाका विभिन्न अस्पतालहरूमा दैनिक उपचारका लागि रगतको माग बढ्नु र रक्तदान हुने क्रम घट्दा उपचारको लागि आवश्यक रगतमा अभाव देखिएपछि विभिन्न सङ्घसंस्था र व्यक्तिहरूलाई बढीभन्दा बढी रक्तदान गर्न अपिल गरिएको बताउनुभयो ।

उहाँले विभिन्न घटना दुर्घटनामा परेका र गम्भीर अवस्थाका गर्भवती महिलालाई बढी रगत आवश्यक पर्ने हुँदा रगतको अभाव हुन थालेकाले संस्थागत रक्तदान बढीभन्दा बढी गर्न अपिल गरिएको बताउनुभयो ।

रक्तदानका लागि अनुरोध गरिएपछि संस्थागत र व्यक्तिगत रक्तदानमा फेरि तीव्रता आएको रक्तसञ्चार केन्द्र नेपालगञ्जले जनाएको छ । केन्द्रका अनुसार वर्षातको मौसममा विभिन्न सङ्क्रमणजन्य रोगको चाप हुनुको साथै सडक दुर्घटना पनि बढ्दो सङ्ख्यामा हुने भएकाले उपचारका लागि रगतको माग अत्यन्त बढी हुने हुँदा रगतको चिन्ता बढेको छ ।

बाँकेमा रहेको रक्तसञ्चार केन्द्रमा विभिन्न अस्पतालहरूबाट प्रतिदिन ६५ पिन्ट रगतको माग आउने गरेको छ । यसमा पनि नेगेटिभ ग्रुपको रगत अत्यन्तै न्यून हुने भएकाले त्यस्ता दातालाई स्टेण्डवाई राख्ने र आवश्यक परेको बेलामा बोलाएर रगत लिने गरिएको केन्द्रले जनाएको छ ।

यसैबीच लोकप्रिय सन्देश दैनिकको आयोजनामा त्रैमासिक रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ । सो कार्यक्रममा ३० जनाभन्दा बढिले रक्तदान गरेका थिए । सो अवसरमा पूर्वमन्त्री मोहम्मद इस्तियाक राईले रगतको अभाव हुन नदिन रक्तदानलाई नियमित गर्न सबैसँग आग्रह गर्नुभयो ।

सोही प्रकारले रक्तसञ्चार केन्द्रको आग्रहलाई ध्यानमा राखेर युवा सञ्जाल बाँके र गैर सरकारी महासङ्घ बाँकेसँगको समन्वयमा एचसिआरसी अस्पताल नेपालगञ्जले पनि रक्तदान कार्यक्रम गरेको छ ।

अस्पतालका अध्यक्ष डा. कुमार शान शाहले सो रक्तदानमा २२ जना रक्तदाताले रक्तदान गर्नु भएको जनाउँदै रगतको अभाव हुननदिन आफूहरू गम्भीर रहेको बताउनुभयो ।

यसैगरी रक्तसञ्चार केन्द्रको अपिललाई मध्यनजर गरेर नेपाली कांग्रेस बाँकेले आइतबार बृहत् रक्तदान कार्यक्रमको आयोजना गरेको छ । नेपाली कांग्रेस बाँकेका सचिव सुधांशु कोइरालाले नेपाली कांग्रेस बाँकेले आयोजना गरेको रक्तदानमा सयभन्दा बढीबाट रक्तदान गराउने लक्ष्य रहेको बताउनुभयो ।

बाँकेमा नियमित रूपमा १२८ वटा संस्थाले रक्तदान कार्यक्रम आयोजना गर्दै आए पनि रगतको माग दिनदिनै बढ्दै गएकाले यसबाट पुग्न नसकेको रक्तसञ्चार केन्द्रले जनाएको छ ।