• १२ मंसिर २०८१, बुधबार

राष्ट्रपतिको हत्यारा लुकेको घर

blog

अमेरिकाको टेक्सस राज्यको एउटा ठुलो सहर– डालस । अग्ला अग्ला भवनहरू, मिलेको सडक, बाक्लो गाडीहरूको ओहोरदोहोर अनि पातलो मान्छेको हिँडाइ । २०२२ फेब्रुअरी १० तारिखको दिन । हामीहरू त्यहाँ पुग्दा दिनको ३ बजेको छ ।  हामीहरू तीन जना छौँ । श्रीमती भगवती, बहिनी वीना र म । हाम्रो गन्तव्य छ– तिनै अग्ला भवनमध्ये एउटा भवनको भुइँतला । त्यो भुइँतलाको पसल धनी हुन्– मोहन ज्ञवाली । हामीहरू तीन जना तिनै मोहनजीको निमन्त्रणामा त्यहाँ पुगेका छौँ । उनले मलाई फोनमा भनेका थिए–

“दिउँसो ३ बजेतिर आउनुभयो भने मलाई फुर्सद हुन्छ । म पसलमा नै हुन्छु । घुम्ने ठाउँ पसलबाट टाढा छैन ।”

ट्याक्सीबाट निस्केपछि हामीहरू सरासर उनले दिएको ठेगाना खोज्दै अगाडि बढ्छौँ । उनको पसल पुग्न खासै अप्ठ्यारो पर्दैन । “दिउँसो ३ बजेतिर मलाई फुर्सद हुन्छ” भने पनि उनी त्यति फुर्सदिला देखिँदैनन् साथै “म पसलमा नै हुन्छु” भने पनि उनी मात्र पसलमा हुँदैनन् । अन्य कर्मचारी पनि छन् । ग्राहकको भिड बाक्लै छ ।

नेपालबाट आएर ब्युटीपार्लर जस्तो सेवाग्राही पसल अमेरिकामा खोल्नु कम चुनौतीपूर्ण होइन । उनको श्रीमतीको पनि यसमा भरपुर सहयोग मिलेको छ । नेपालमा हुँदा कुनै बेला मोहनजी र म एउटै कार्यालयका सहकर्मी थियौँ । वास्तवमा मोहनजीलाई नेपालबाट नै चुनौतीको सामना गर्ने बानी परेको छ । विद्रोही स्वभाव, हक्की आदत साथै बोल्न नडराउने भएर होला, उनले धेरै हण्डर खाएका छन् । अमेरिका आएपछि पनि उनको व्रिmयाशीलतामा फरक आएन । उनी सामाजिक काममा आबद्ध भइरहे । 

हामीहरू उनको पसलमा पुगेपछि सामान्य चिया पिएर बाहिर निस्कन्छौँ सहर घुम्नका लागि । रातो इँटाले छापेको सफा मैदान वरिपरि अग्ला–अग्ला कार्यालय भवन, बिच–बिचमा स–साना निला पोखरीहरू । हाम्रो हिँडाइ डालस सहरतिर बढ्छ ।  इँटाले छापेको पार्कबाट तल झर्नासाथ मेरो नजर एक हुल गाई–गोरुको बथानमा पर्छ । लामा–लामा अनि तिखा सिङ भएका गाई–गोरुहरू देख्दैमा डरलाग्दा छन् । अहिल्यै दुध चुहिएला जस्ता गाईहरू निकै रसिला छन् । उनीहरू ताँती लागेर हिँडेका छन् । ती गाई–गोरुको बथानपछाडि दुई–तीन जना गोठाला पनि लट्ठी लिएर हिँडेका छन् । म त्यो बथानको नजिकै जान खोजे पनि गोरुले हान्छ कि भन्ने डरले वरै उभिएर हेरिरहन्छु । 

मेरो मनमा अनगिन्ती प्रश्नहरू उब्जिन्छन् । “सहरभित्र यो बथान किन आयो ! कसरी आयो ! कहाँ जान लागेको छ ! आदि आदि !” तर मोहनजीले गोरुको सिङमा समाएर हल्लाउन थालेपछि मलाई थाहा हुन्छ ती गाईहरू त फलामको पो रहेछन् । नक्कली रहेछन् । म नजिक गएर गाई–गोरुलाई सुमसुम्याउन थाल्छु । त्यति बेला फेरि मेरा मनमा अनेकौँ प्रश्नको जन्म हुन्छ । म जिज्ञासु बन्छु । गाई–गोरुको बथानलाई कलात्मक रूपमा राख्नुको रहस्य खोज्छु ।

टेक्सास राज्यको आफ्नै इतिहास छ । गाईको दुध र गोरुको मासुबाट नै आजको टेक्सास यो अवस्थामा आएको हो । आजका टेक्सासवासीका पुर्खाहरूलाई गाईले ठुलो गुन लगाएको छ । त्यो गुनको बदलामा उनीहरूले गाईलाई फलामको प्रतिविम्बमा उतारेका छन् । उनीहरू गाई–गोरुबाट आभारी छन् । गाईपालनबाट पनि देशले समृद्धि पाउन सक्छ भन्ने सन्देश विश्वलाई दिन चाहन्छन् । अमेरिकाको सबैभन्दा ठुलो मात्रामा गाईको दुध र मासु उत्पादन गर्ने राज्य टेक्सास नै हो भने यहाँ चौथाइ विश्वका लागि दूध उत्पादन गर्ने क्षमता छ ।

गाईको बथानलाई पछाडि पारेर हामीहरू उत्तरतिर लाग्छौँ । राता इँटाका मध्यम खालका भवनहरू, सफा सडक अनि पैदलयात्रीको चहल–पहल बाक्लो छ । गाडीहरूभन्दा घुमन्तेको सङ्ख्या बढी नै छ ।

“ऊ ! त्यो भवनबाट हत्याराले राष्ट्रपति केनेडीलाई गोली हानेको थियो,” मोहनजी उत्तरतिरको एउटा रातो इँटाको घरलाई देखाउँछन् । म उनले देखाएको घरतिर हेर्छु । एउटा साततले अजङ्गको घर मेरोअगाडि देखा पर्छ । “छैटौँ तलाबाट उसले गोली हानेको थियो,” उनी फेरि दोहो-याउँछन् । हामीहरू अगाडि बढ्छौँ । वास्तवमा त्यो ठाउँ वरिपरि घुम्नका लागि पथप्रदर्शक आवश्यक पर्दैन । सम्पूर्ण जानकारी साइनबोर्डमा नै देखिएको छ । राष्ट्रपति केनेडी कहाँनेर थिए, पहिलो गोली कहाँ लाग्यो ! दोस्रो गोली कहाँ ! हत्यारा कहाँ लुकेको थियो ! हामीहरू त्यही साइनबोर्ड पछ्याउँदै अगाडि बढिरहेका हुन्छौँ ।

हत्याराले किन र कसरी केनेडीलाई गोली हान्यो । केनेडीसँग उसको कस्तो दुस्मनी थियो ! यसमा को को संलग्न छन् ! यसबारेमा इतिहासकारहरू अझै अन्योलमा छन् । यो अझै खोजीको विषय छ । वास्तवमा हत्याराले एउटा सानो लहडमा नै त्यति ठुलो व्यक्तिको हत्या गरेको थियो ।

केनेडीलाई मार्नैपर्ने त्यस्तो ठुलो अपराध केनेडीले गरेका थिएनन् । ली हारभरी ओस्वाल्ड; जसले केनेडीको हत्या ग-यो उसको अपराध यसरी सुरु हुन्छ : हाइस्कुलको पढाइ सकेपछि ऊ अमेरिकी सेनामा भर्ना भयो तर उसको गतिविधि नराम्रो देखिएकाले केही महिनामा नै सेवाबाट बाहिरिन बाध्य भयो । सेनामा छँदा ऊ राम्रो निसानाबाज भइसकेको थियो । तारो हान्न सिपालु थियो ।

हाइस्कुल पढ्दादेखि नै ली हारभरीमा सोभियत रुस समर्थकका विचारहरू देखा परेका थिए । सेनाबाट बाहिरिएपछि उनी झन् सशक्त भएर आउन थाले । यो थाहा पाएर ऊ जेलमा प-यो तर केही महिनापछि जेलबाट छुट्यो । जेलबाट छुट्नासाथ सन् १९५९ को अन्त्यतिर ऊ सोभियत रुस पुग्यो र त्यति बेलाको बेलारुसको राजधानी मिन्स्कमा बस्न थाल्यो । मिन्स्कमा नै एउटी रसियन केटीसँग उसको विवाह भयो र एउटी छोरी जन्मिइन् तर उसले सोभियत रुसको नागरिकता पाउन सकेन । छोरी र आफ्नी श्रीमती लिएर फेरि ऊ अमेरिका फर्कियो र टेक्सासको डालासको एउटा किताबखानामा सामान्य जागिर सुरु ग-यो ।

त्यति बेलासम्म विश्वमा शीतयुद्धले चरम रूप लिन थालिसकेको थियो । विश्व दुई चिरामा बाँडिसकेको थियो । एक पक्षको नेतृत्व अमेरिकाका राष्ट्रपति जोन एफ. केनेडीले गरेका थिए भने अर्कातर्फको नेतृत्व सोभियत रुसका राष्ट्रपति निकिता ख्रुस्चेभले । जर्मनी दुई भागमा पूर्वी जर्मनी र पश्चिमी जर्मनी भइसकेको थियो । 

पहिलादेखि नै सोभियत रुसप्रति झुकाव भएको ली हारभरीले केनेडीप्रति दुस्मनी मात्रै लिएन, मार्ने नै निर्णय ग-यो । संयोग त्यस्तै पर्न गयो कि ! केनेडी आफ्ना पार्टीका नेता तथा विपक्षी पार्टीका नेतालाई भेट्न डालस आउनु, त्यति बेला नै ली हारभरी पनि डालसको एउटा किताबखानामा काम थाल्नु संयोग पर्न गयो । अझ अर्को संयोग, आपूmले काम गर्ने किताबखानाको बाटोबाटै केनेडीको सवारी जाँदै छ भन्ने ली हारभरीले पहिल्यै थाहा पाउनु । अकेरिकामा यति सजिलो छ कि ! चुरोट किन्नु र बन्दुक किन्नु उस्तै हो । परिचयपत्र देखाएको भरमा नै बजारमा बन्दुक खरिद गर्न सकिन्छ । त्यसैको फाइदा उठाएर ली हारभरीले पनि एउटा राइफल किन्यो र आफूले काम गर्ने कोठामा लुकायो । नोभेम्बर महिनाको २२ तारिख, १९६३ को चम्किलो दिन । जब केनेडी पूर्ण राजकीयका साथ छत नभएको खुला गाडीमा बसेर दायाँ–बायाँका हजारौँ जनतालाई हात हल्लाउँदै डालस सहरमा गुडिरहेका थिए– त्यही बेला पहिलो गोली उनको दाइने छातीमा लाग्यो । छातीमा लागेको गोलीले उनी छट्पटाउँदै थिए, त्यही बेला फेरि अर्को गोली टाउकोमा लाग्यो । रगत चुहाउँदै उनलाई नजिकैको अस्पतालमा लगियो तर उनको सास फर्केन । ४३ वर्षीय होनहार राष्ट्रपति बिनाकारण एउटा २१ वर्षीय अल्लारे केटाको हातबाट छुटेको गोलीको सिकार बने ।

गोली पड्कनासाथ गोली छुटेको भवनमा प्रहरीले छापा मा-यो । सम्पूर्ण कर्मचारी हाजिर भए तर ली हारभरी हाजिर भएन । ऊ त्यहाँबाट भाग्यो । भोलिपल्ट मात्र ऊ समातियो । उसलाई प्रहरीले केरकार गर्दै थिए, अदालत जाने क्रम चल्दै थियो । आश्चर्य यस्तो भइदियो कि ! भोलिपल्ट अदालत जाने क्रममा भिडबाट कसैले गोली हानेर ली हारभरीको हत्या गरिदियो । अब घटना रहस्य बन्दै गयो । 

अमेरिकी गुप्तचर विभाग सशक्त बन्न करै लाग्यो । के केनेडीको हत्यामा अन्तर्राष्ट्रिय गिरोहको हात छ ? तर अन्तर्राष्ट्रिय गिरोह फेला परेन । ली हारभरीको हत्या गर्ने हत्याराले पनि लीलाई लहडमा नै हत्या गरेको रहेछ । ज्याक रुवी नाम गरेको एउटा नाइट क्लबको मालिकले लीको हत्या गरेको थियो । अदालतबाट बयान लिने क्रममा उसले जानकारी गरायो, “आफूलाई मन पर्ने राष्ट्रपतिको हत्या भएको मैले सहन गर्न सकिनँ र लीको हत्या गरिदिएँ ।”

यसरी हत्यामाथि हत्या थपिँदै जाँदा प्रहरी विभाग मात्र नभई अदालत पनि रनभुल्लमा पर्न थाल्यो । उसले ज्याक रुवीलाई कस्तो सजाय दिने भन्नेबारे तत्काल निर्णय गर्न सकेन । न्यायाधीशहरू आपूmहरूबिच छलफल गर्दै थिए । उसको मुद्दा टुङ्गो लागेको थिएन । उसलाई मृत्युदण्ड दिने कि आजन्म कैद गर्नेबारे बहस गर्दै थिए । दुर्भाग्यवस ! जेलभित्र नै ज्याक रुवी बिरामी प-यो । डाक्टरहरूले उसलाई बचाउन कोसिस गरे तर बचाउन सकेनन् । केनेडीको हत्या भएको चार वर्षपछि फोक्सोको क्यान्सरबाट ऊ पनि म-यो । “सङ्ग्रहालयमा जाने ? ऊ ! त्यो भवन अहिले सङ्ग्रहालय भएको छ ।” मोहनजी नजिकैको रातो घरलाई सङ्केत गर्छन्, जुन घरबाट हत्याराले केनेडीलाई गोली हानेको थियो । त्यो घर अहिले सङ्ग्रहालय बनेको रहेछ । हामीहरू केनेडीलाई गोली लागेको ठाउँबाट गोली हानेको घरमा पुग्छौँ । सङ्ग्रहालयभित्र पस्नका लागि शुल्क तिर्नुपर्ने हुन्छ । हामी शुल्क तिर्छौं र छैटौँ तलामा जान्छौँ । छैटौँ तला पूरै किताबखाना थियो, त्यही किताबखानामा ली हारभरी काम गथ्र्यो र उसले त्यहीँबाट केनेडीलाई गोली हानेको थियो । सङ्ग्रहालयभित्र हत्या गर्ने र हत्या हुने सबै व्यक्ति जीवित जस्तै देखिन्छन् ।

ली हारभरीले प्रयोग गरेको राइफललाई सुरक्षितसाथ सिसामा राखिएको छ भने उसको पूर्ण कदको फोटो पनि त्यहीँ छ । राष्ट्रपति केनेडीको जन्मदेखि नमरुन्जेलसम्मका तस्बिरहरू राखिएका छन् । त्यहाँ उनका बारेमा भिडियो पनि अनवरत चलिरहेकै छ । हामीहरू एक–एक गरेर हेर्छौं र साँझतिर मात्र त्यहाँबाट फर्किन्छौँ ।

अमेरिकामा दिनहुँ हत्या भइरहन्छ । राष्ट्रपतिदेखि साधारण नागरिक मरिरहन्छन् । मेरो दिमागमा जिज्ञासा थुप्रो लाग्न थाल्छन् । म प्रश्न गर्न थाल्छु– किन, यति विघ्न प्यारो छ बन्दुक अमेरिकामा ? किन मोहित छन् अमेरिकी जनता बन्दुकसँग ?   

Author

नगेन्द्र न्यौपाने