• १२ मंसिर २०८१, बुधबार

युवा शक्ति सुदृढीकरण

blog

भनिन्छ, युवा राष्ट्रका गहना, भविष्यका कर्णधार र उन्नतिका नायक हुन् । उत्साहका परिचायक हुन् । राष्ट्र निर्माणका प्रमुख स्रोत हुन् । राष्ट्रका अमूल्य नीधि हुन् । परिवर्तनका संवाहक र विकासका उत्प्रेरक हुन् । कुनै पनि राष्ट्र कति विकसित, सम्पन्न र शक्तिशाली छ भन्ने कुराको मापन गर्ने एक विश्वासिलो र भरपर्दो सूचक त्यस देशका युवाको क्रियाशीलता, लगनशीलता, मेहनत, अनुशासन र उत्पादनशीलतालाई मान्न सकिन्छ तर नेपाली समाजमा युवाशक्तिको सही पहिचान हुन सकेन, युवाको क्षमताको सदुपयोग हुन सकेन । राष्ट्रले युवाका लागि सही कार्यदिशा र नीति तर्जुमा गरी लागु गर्न सकेन भने व्यक्ति, समाज, राष्ट्र अनि विश्वलाई नै दुर्भाग्य हुन सक्छ । कुनै पनि देशको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिकलगायत क्षेत्रमा युगान्तकारी परिवर्तन गर्ने सवालमा युवाको भूमिका सदैव अग्रणी रहँदै आएको विगतका इतिहासले पुष्टि गर्छ । चाहे त्यो इतिहास विश्वका हुन् वा नेपालका । 

संयुक्त राष्ट्रसङ्घको आह्वानमा हरेक वर्ष अगस्ट १२ का दिनलाई नेपालले पनि अन्तर्राष्ट्रिय युवा दिवस भनेर विभिन्न कार्यक्रम गरेर औपचारिकता निर्वाह गर्ने गरेको छ । युवाको काँधमा ठुलो जिम्मेवारी छ । रूपान्तरणका सबै आयाम, जस्तो कि राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, वातावरणीय र शासकीय आयामलाई गतिशील बनाउन युवा वर्गको सार्थक सव्रिmयता जरुरी छ । युवा नै अल्मलियो भने मुलुक सधैँ अल्मलिइरहने छ । त्यस्तै युवाको सही उपयोग कसरी गर्ने ? युवालाई निर्माण र विनिर्माणमा कसरी स्वचालित गर्ने ? सिर्जना र सकारात्मकतामा कसरी ल्याउने ? भन्ने चिन्ता र चासो नीति निर्मातामा रहनु पर्दछ । युवाका अपेक्षा र युवा उपयोगबिच सन्तुलन ल्याएर नै युवालाई उनीहरूको भविष्यप्रति आश्वस्त पार्न सक्नु पर्छ ।

विद्यमान राजनीतिक पार्टीका कुनै पनि संरचनामा युवाको प्रतिनिधित्व जनसङ्ख्याका आधारमा हुन सकेको छैन । राजनीतिक दल र सोका प्रमुख नेताबाट कुनै पनि सङ्घ र संस्थाका कार्यकारी स्थानमा युवा सिफारिस गर्ने गरिँदैन । कारण उनीहरू युवालाई सधैँ अपरिपक्व, अदक्ष र कमजोर देख्छन् । यो उल्टो सोचलाई सुल्टो बनाई राजनीतिक पार्टीका उच्चदेखि तल्लो तहसम्म युवाको जनसङ्ख्याका आधारमा प्रतिनिधित्व गराउनु आजको मूल एजेन्डा हो । यति मात्र होइन, राजनीतिक पार्टीहरूमा युवा नीति नै छैन । नीति नै नभएपछि युवालाई विकास गर्ने कार्यक्रम हुने कुरा नै आउँदैन, यदि आइहाले पनि नीतिबिनाको कार्यक्रमको कुनै गन्तव्य नै हुँदैन ।

आज हाम्रा गाउँबस्ती युवाविहीन भएका छन् । त्यहाँ देखिएका दृश्यले नेपालको भविष्य कता जाँदै छ भन्ने दिशा निर्देश गर्दछ । नेपालको विकासका लागि लागि युवालाई विकास र राजनीतिमा केन्द्रित गर्न आवश्यक छ। सरकार र राजनीतिक दलहरू युवाको प्रतिनिधित्व पर्याप्त गराउनतर्फ सचेत हुनु पर्छ। युवालाई सरकारी र गैरसरकारी क्षेत्रबाट गुणस्तरीय शिक्षा, स्वास्थ्य, मर्यादित रोजगारी, रोजगारीका अवसरहरू, सार्वजनिक जीवन र नीति निर्माणका विभिन्न मञ्चमा सहभागिता एवं अन्य विषयको खाँचो पर्छ। आवश्यकताका क्षेत्रमा युवालाई जोखिम कम गर्न तत् क्षेत्रमा तीव्र र व्यवस्थित सेवा प्रवाह जरुरी हुन्छ। न्यून गुणस्तरीय वैदेशिक रोजगारीमा निर्भरता कम गर्न र त्यताबाट फर्किएकालाई समायोजन गर्न सरकारका कार्यक्रममा सुधार गरी संस्थागत र सामाजिक अवरोधलाई हटाउँदै देशभित्र रोजगारीका अवसर सिर्जना गर्नु पर्छ।

अहिले अधिकांश युवा लक्षित भनेर ल्याइएका कार्यक्रममा समेत गैर युवा वर्गको प्रतिनिधित्व भइरहेको छ । यसमा ध्यान पुग्न सकेको छैन । आमयुवा वर्गको अपनत्व हुने गरी प्रभावकारी काम यस्ता कार्यक्रममार्पmत हुनु पर्दछ । युवाका नाममा यदाकदा हुने गरेका यी प्रयासको कार्यान्वयन पक्ष के कस्तो रूपमा कति प्रभावकारी रह्यो समीक्षा हुनु पर्छ । 

नेपालमा भएका हरेक ठुला आन्दोलन युवा सहभागिताबिना असम्भव जस्तै थिए भन्नेमा कसैको दुईमत नहोला तर हरेक आन्दोलनपछि युवा खोला तर्न प्रयोग भएका लठ्ठी जस्तै किनारामा फालिए । राजनीतिक दलले युवालाई भ-याङ बनाएर सत्तामा पुग्ने र त्यसपछि युवाको भावना भुल्ने प्रवृत्ति छ। यो प्रवृत्ति नेपालका सबै राजनीतिक दलले छोड्नु पर्छ। युवाको चाहना भनेको उद्यमशीलता, शिक्षा र रोजगारीको अवसर हो तर अहिले पनि युवा रोजगारीका लागि बिदेसिनुपर्ने अवस्था छ। ठुला आयोजना कार्यान्वयन भएका छैनन् । युवा आफैँले गरी खाने वातावरण बनेको छैन। तरुणहरू परिवर्तनका संवाहक भनिए पनि व्यवहारमा कार्यान्वयन भएको छैन। 

समयले युवालाई आह्वान गरिरहेको छ, युवाहरू हो, तिमीहरूको जीवनमा आज रहेको सबैभन्दा मूल्यवान् वस्तु समय हो । जीवनकै यो मूल्यवान् र स्वर्णिम समयको अत्यधिक र प्रभावकारी प्रयोगबाट तिमीहरू आफ्नो व्यक्तिगत जीवनको चित्र मात्र होइन, समाजकै चित्र बदल्न सक्ने छौ । त्यसो भए आफूभित्र अन्तर्निहित यत्रो विराट् र अजेय क्षमता बोकेर युवा ‘जुटपत्ती र लुँडो’ खेलेर समय व्यतीत गर्ने बहानामा निरीह भएर किन बस्ने ? तसर्थ युवापङ्क्तिले अब सोच्नै पर्छ र केही त गर्नै पर्छ । किनकि युवाको भाग्यको विधाता युवा स्वयम् आफैँ हो । त्यसैले आफ्नो भाग्यको निर्माण आफैँ गर्दै युवाका रचनात्मक नवीन सोचमा आधारित सत्य, न्याय र समानतामूलक समाज निर्माणका लागि युवा आफ्नो ऐतिहासिक दायित्व र भूमिका निर्वाह गर्नबाट किमार्थ चुक्नु हुँदैन ।

राजनीतिक नेतृत्वले युवालाई आफूमाथि कहिल्यै प्रश्न नगर्ने मानव परिचालित रोबटमा परिणत गर्न खोजिरहेका छन् । यो समाजका लागि दुःखद कुरा हो । त्यसैले युवामा आलोचनात्मक चेतको विकास हुन अत्यन्त जरुरी छ । किनकि आलोचनात्मक चेतले मात्र सही र गलत छुट्याइ समाजमा घट्ने विभिन्न घटना–परिघटनाबारे तथ्यमा रहेर समर्थन वा विरोध गर्न सिकाउँछ तर यतातिर ध्यान नदिनेहरू समाजमा घट्ने त्यस्ता अनेक घटनाको वा कुनै पनि कुराको कि अन्धविरोध गर्छन्, कि त अन्धसमर्थन वा विश्वास गर्न पुग्छन् । यो प्रवृत्तिले समस्याको जडसम्म कहिल्यै पु¥याउँदैन । 

नेतृत्वमा जेजति युवा देखिएका छन्, सबैभन्दा बढी यही प्रवृत्तिका सिकार बनिरहेका छन् । यसले सत्यको पैरवीभन्दा चाकडी गर्न सिकाउँछ । आफ्नो भविष्य सुरक्षित गर्न चाहने युवा आज नेताहरूको स्वार्थपूर्तिका लागि प्रयोग हुन पुगेका छन् । निश्चय नै कुनै पनि कुराको सीमा हुन्छ तर अहिले हाम्रो समाजमा भ्रष्टाचार, अनियमितता, घुसघोरी, दलाली, कालोबजारी, लुट, विभेदले सीमा नाघिरहेको छ । यसको समयमै निराकरण गर्नु पर्छ । अनि मात्र समतामूलक समाज निर्माण गर्न सकिन्छ । 

नेपालको समृद्धिका लागि युवालाई विकास र राजनीतिमा केन्द्रित गर्न आवश्यक छ। सरकार र राजनीतिक दलहरू युवाको प्रतिनिधित्व गराउनतर्फ सचेत हुनु पर्छ। युवालाई सरकारी र गैरसरकारी क्षेत्रबाट गुणस्तरीय शिक्षा, मर्यादित रोजगारी, र नीति निर्माणका विभिन्न मञ्चमा सहभागिता गराउनु पर्छ । रोग, गरिबी र अन्य आवश्यकताका क्षेत्रमा युवालाई जोखिम कम गर्न तत् क्षेत्रमा तीव्र र व्यवस्थित सेवा प्रवाह जरुरी हुनु पर्छ। न्यून गुणस्तरीय वैदेशिक रोजगारीमा निर्भरता कम गर्न र त्यताबाट फर्किएकालाई समायोजन गर्न सरकारका कार्यक्रममा सुधार गरी संस्थागत र सामाजिक अवरोधलाई हटाउँदै देशभित्र रोजगारीका अवसर सिर्जना गर्नु पर्छ। नीति निर्माण र कार्यान्वयनमा युवा जनसहभागिता बढाउनु पर्छ ।

सबै नीतिमध्येको मूलनीति मानिएको राजनीतिलाई सही दिशानिर्देश गर्न युवा दूरदृष्टि, सक्षम नेतृत्व, कुशल व्यवस्थापकको आवश्यकता पर्छ। मुलुकको विकास र समृद्धिका लागि युवा जनसङ्ख्या महत्वपूर्ण मानिन्छ। युवालाई विकासमा उपयोग गर्ने देशले आर्थिक र सामाजिक विकासमा फड्को मार्छ। हाम्रो देशको शासन व्यवस्थालाई सबल र प्रभावकारी बनाउन राजनीतिमा युवाको आकर्षण र सहभागिता बढाउनु आवश्यक छ। राजनीतिक दलहरूले पनि युवालाई परिचालन गर्ने मात्र होइन, उनीहरूको योग्यता, दक्षता र क्षमता अनुसारको उचित अवसर र जिम्मेवारीसमेत दिनु पर्छ। राज्यको नीतिनिर्माण तथा नेतृत्वको जिम्मेवारी युवालाई दिनु पर्छ।

विभिन्न मन्त्रालयमार्फत युवा लक्षित कार्यक्रम सञ्चालन भइरहेको छ। प्रधानमन्त्री रोजगार कार्यक्रम, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, राष्ट्रिय युवा जागरण, कृषि उत्पादन, सुशासनमा युवा, विज्ञान प्रविधि र वातावरण संरक्षणमा युवा, पर्यटन प्रवर्धन, छुवाछुतविरुद्धको अभियानमा युवा, स्वयम्सेवकीय भूमिकामा युवा व्रिmयाशील छन्। त्यसै गरी लैङ्गिक हिंसाविरुद्ध युवा, विपत् व्यवस्थापनमा युवालगायत कार्यक्रम पनि छन् । उल्लिखित अवसर प्राप्तिका लागि युवा सधैँ अग्रसर हुनुपर्ने देखिन्छ ।

राज्यका हरेक तहमा युवा प्रतिनिधित्व, युवाको नेतृत्व विकास तथा दक्षता अभिवृद्धि, युवालाई राज्यको मूलप्रवाहमा ल्याउने, समग्र क्षेत्रका नीतिहरूलाई युवामैत्री बनाइनु पर्छ । साथै, हरेक राजनीतिक पार्टीले युवासम्बन्धी आफ्नो स्पष्ट नीति बनाउनु पर्छ, जसले राज्यका विभिन्न निकायबाट युवाका लागि सञ्चालन गरिने कार्यक्रमलाई समन्वय गर्न र पार्टीभित्र पनि युवा नेतृत्व निर्माण गर्न मद्दत पुग्ने छ ।

युवाले पनि कुनै पूर्वाग्रह नराखी आफ्नो चेतनाको सही सदुपयोग गर्दै अघिल्लो पुस्ताको अनुभवबाट सिक्दै उनीहरूसँग सम्मानपूर्वक सहकार्य गर्दै मुलुकमा विधिको शासन, गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवा, सामाजिक सुरक्षा र रोजगारी सिर्जना आदि जस्ता नागरिकका आधारभूत आवश्यकताका निम्ति अग्रसर हुनु अत्यावश्यक छ। अनि मात्र हामीले परिकल्पना गरेको समृद्ध, प्रगतिशील र समतामूलक समाज र राष्ट्रको निर्माण हुन सक्छ। अबको समय युवाको हो ।  

 

 

Author

दधिराम खतिवडा