• ११ मंसिर २०८१, मङ्गलबार

प्रसारण लाइनका टावर जडान

blog

अमरराज नहर्की 

तनहुँ, साउन २७ गते  । तनहुँको ऋषिङ गाउँपालिका–१, झापुटारमा निर्माणाधीन तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइनको ६९ वटा टावरको निर्माण पूरा भएको तनहुँ जलविद्युत् आयोजनाले जनाएको छ । 

आयोजनाका प्रमुख राजाभाइ शिल्पकारले आयोजनाको तेस्रो प्याकेज अन्तर्गत प्रसारण लाइन निर्माण अन्तर्गत उक्त सङ्ख्यामा टावर निर्माण पूरा भएको र टावर फाउन्डेसन अन्तिम चरणमा पुगेको बताउनुभयो। प्रसारण लाइन निर्माणका लागि टावर राख्न तनहुँ र चितवनको जग्गाको मुब्जामा निर्धारण भई वितरण गरिसकिएको उहाँले जानकारी दिनुभयो। दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माण हुने आयोजनाले जनाएको छ। आयोजनाका अनुसार प्रसारण लाइन निर्माणका लागि कुल ९४ टावर निर्माण गरिने छन्। प्रसारण लाइन निर्माणको काम भारतीय कम्पनी केइसीले पाएको छ। 

प्रसारण लाइन निर्माणका लागि ९२३ रोपनी पाँच आना जग्गा अधिग्रहण गरिएको छ। आयोजना प्रमुख ताम्राकारका अनुसार तनहुँतर्फ व्यास नगरपालिका–१३ र १४, बन्दीपुर गाउँपालिका–६, आँबुखैरेनी गाउँपालिका–६, देवघाट गाउँपालिका–४ र ५ भित्र पर्ने जग्गा अधिग्रहण गरिएको छ ।

प्रसारण लाइन निर्माणको एक वर्षअघि सक्नुपर्नेमा कोभिड–१९ को महामारी र वन क्षेत्रमा रुख कटानको स्वीकृति दिन वन मन्त्रालयले विलम्ब गरेकाले केही ढिलो भएको भनिएको छ। आयोजनाको पहिलो प्याकेज अन्तर्गत १४० मिटर अग्लो बाँधलगायतका संरचना सोङ्ग दा कर्पोरेसन, भियतनाम–कालिका कन्स्ट्रक्सन प्रालि नेपाल जेभीले निर्माण गरिरहेका छन्। जस अन्तर्गत अहिले मुख्य बाँध निर्माणका लागि नदी फर्काउन आवश्यक डाइभर्सन सुरुङ, बाँधको माथिल्लो भाग तथा स्लोप खन्ने कार्य, प्रवेश सडकको स्तरोन्नति गर्नेलगायतका काम भइरहेका छन्।

आयोजनाको सुरुङ, विद्युत् गृह निर्माणलगायत अन्य काम दोस्रो प्याकेजमा सिनो हाइड्रो, चीनले गरिरहेको छ। आयोजनाको समग्र निर्माण २०८३ असारभित्र सक्ने लक्ष्य राखिएको छ। विद्युत् उत्पादनको पहिलो १० वर्षसम्म वार्षिक औसत विद्युत् उत्पादन ५८ करोड ७७ लाख, त्यसपछि ४८ करोड ९९ लाख युनिट उत्पादन हुने छ।