• ७ वैशाख २०८१, शुक्रबार

गुराँस संरक्षण अभियान

blog

ठाकुर सेनेहाङ

तेह्रथुम, साउन २६  गते । प्रत्येक शनिबार आउनेबित्तिकै हातमा गुराँसका बिरुवा बोकेर सडक छेउछाउ पुग्नुहुन्छ, म्याङ्लुङ नगरपालिका–६ का मित्र नेपाली । उहाँले मध्यपहाडी लोकमार्गको दायाँबायाँ गुराँसका बिरुवा रोप्न थाल्नुभएको दुई वर्ष भयो । राष्ट्रिय फूल लालीगुराँस संरक्षण गर्ने उद्देश्यले नेपालीले सुरु गर्नुभएको गुराँसको वृक्षरोपण अभियानमा अहिले गाउँले र छिमेकीले पनि साथ दिन थालेका छन् ।

गुराँसको राजधानीका रूपमा परिचित तिनजुरे, मिल्के, जलजले क्षेत्रमा गुराँस संरक्षणका लागि ठोस पहल नभएका बेला यस क्षेत्रमा गुराँस रोपिएको हो । बोटबिरुवाले पर्यावरण संरक्षणमा समेत टेवा पुग्ने भन्दै म्याङ्लुङ नगरपालिका–६ का वडावासी यति बेला वृक्षरोपणमा जुटेका छन् ।

म्याङ्लुङ बजारदेखि पिङ्गुवा खोलासम्म १० किलोमिटर दुरीको सडकका दायाँबायाँ लालीगुराँसका बिरुवा रोप्ने काम साप्ताहिक रूपमा भइरहेको छ । आफ्नो क्षेत्रलाई सफा, सुन्दर र हरियाली बनाउन स्थानीयवासीले वृक्षरोपण अभियान सञ्चालन गरेका हुन् । राष्ट्रिय गौरवसँग जोडिएको मध्यपहाडी लोकमार्गको दायाँबायाँ राष्ट्रिय फूल लालीगुराँस ढकमक्क फुलाउने र पर्यटन प्रवर्धन हुनेमा आफू ढुक्क रहेको वृक्षरोपण अभियानका संयोजक नेपाली बताउनुहुन्छ । “सुरु सुरुमा म एक्लै बिरुवा रोप्न आउथेँ, अहिले धेरै जना आउन थाल्नुभएको छ,” उहाँले भन्नुभयो ।

यस क्षेत्रमा गुराँसका साथै ज्याकारान्डा, कल्की, धुपी, गुलमोहर, मधु आल्चा, अम्बकलगायतका एक हजारभन्दा बढी बिरुवा रोपिएको छ । वृक्षरोपणले सदरमुकाम जोड्ने मुख्य सडक क्षेत्रलाई हरियाली बनाउनुका साथै सडक सौन्दर्यसँगै भूक्षयसमेत रोक्ने भएकाले विद्यार्थीसहित आफूहरू वृक्षरोपण कार्यक्रममा सहभागी भएको स्थानीय सरस्वती आधारभूत विद्यालयका शिक्षक विष्णु भट्टराईले बताउनुभयो । 

पर्यावरण संरक्षण तथा पर्यटन प्रवर्धनका निम्ति स्थानीय तहले कुनै कार्यव्रmम नबनाए पनि स्थानीवासी स्वस्फूर्त रूपमा वृक्षरोपणमा जुटिरहेका छन् । यस कार्यमा युवादेखि वृद्धासम्म जोशजाँगरका साथ सहभागी भएका छन् । रोपिएका वृक्षहरूले यस क्षेत्रको सौन्दर्य बढाउने र पर्यटकको मनसमेत लोभ्याउने भएकाले यस आर्थिक वर्षमा रोपिएका बिरुवा संरक्षणका लागि बजेट व्यवस्थापन गर्ने म्याङ्लुङ नगरपालिका–६ का वडाध्यक्ष मीनप्रसाद लिम्बूले बताउनुभयो । उहाँले भन्नुभयो, “पर्यटन प्रवर्धनका दृष्टिले हामी पछाडि परिहेका छौँ । अब योजना बनाएर काम गर्ने पक्षमा छौँ ।”

वन र मानवबिच अन्योन्याश्रित सम्बन्ध छ । वनबाट वन पैदावार उपलब्धताका साथै वातावरण संरक्षण, जैविक विविधता संरक्षण, पर्यटन प्रवर्धन, जलवायु परिवर्तन असर न्यूनीकरण, प्रदूषण नियन्त्रण, भूदृश्य सौन्दर्यीकरण, शैक्षिक तथा अनुसन्धान कार्यलगायतका वस्तु तथा सेवाका क्षेत्रमा उल्लेख्य योगदान पुगेको विज्ञहरूको भनाइ छ ।