• १६ चैत २०८०, शुक्रबार

प्रदेश सभामा एमालेको सार्वजनिक महत्वको प्रस्ताव

blog

फडिन्द्र अकिञ्चन

लेखनाथ, साउन २५ गते । नेकपा (एमाले) ले गण्डकी प्रदेश सभा सचिवालयमा जरुरी सार्वजनिक महत्वको २ प्रस्ताव दर्ता गराएको छ । एमाले गण्डकीले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन र लम्पी स्किन महामारी नियन्त्रण गर्न माग गर्दै प्रस्ताव दर्ता गराएको हो । 

एमालेले पोखराबाट अन्तर्राष्ट्रिय उडान थाल्न र लम्पी स्किन नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न माग गरेको छ । एमाले सचेतक देवका पहारीको उडानसम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्ताव सांसदद्वय यशोदा रिमाल र कृष्ण पाठकको समर्थनमा दर्ता भएको छ ।  

विमानस्थलका लागि जग्गा अधिग्रहण भएको साढे चार दशकपछि चलेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नभए ऋणको किस्ता तिर्न नसकिने एमाले सचेतक पहारीले बताउनुभयो । गत अंग्रेजी नयाँ वर्षबाट सुरु भएको विमानस्थलमा चीनबाट एक चार्टड उडानबाहेक अरु अन्तर्राष्ट्रिय उडान भएका छैनन् । 

एमालेले लम्पी स्किन महामारी नियन्त्रण गर्न छलफल आवश्यक रहेको भन्दै जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रदेश सभामा दर्ता गराएको हो । गण्डकी सरकारको तथ्याङ्कअनुसार प्रदेशका ८५ स्थानीय तहमध्ये ८२ मा लम्पी स्किनको महामारी देखिएको छ । सांसद भीम कार्कीको यो प्रस्तावमा एमाले सांसद राजकुमारी भुजेल र राप्रपाकी सांसद विन्दु पहाडी समर्थक हुनुहुन्छ । 

सदनमा आवश्यक बिजनेस नभएपछि बिहीबार बोलाइएको बैठक २९ साउनसम्मका लागि स्थगित भएको छ । प्रदेशसभा गठन भएको महिनौं हुँदा पनि यहाँ संसदीय समितिहरु बन्न सकेका छैन । बिहीबारको बैठकमा समिति गठन गर्ने तयारी भए पनि दलहरुबीच सहमति नहुँदा बैठक स्थगित भएको हो । 

गण्डकी प्रदेशसभा नियमावलीअनुसार यहाँ चार समिति हुने व्यवस्था छ । कांग्रेस र एमालेले समान दुई समितिको नेतृत्वमा दाबी गरेका छन् भने माओवादी केन्द्रले पनि कमसेकम एक समितिको नेतृत्व पाउनैपर्ने अडान राखेको छ । गण्डकी प्रदेशसभा अर्थ तथा विकास समिति, सार्वजनिक लेखा समिति, प्रदेश मामिला तथा कानुन समिति र सामाजिक विकास र कृषि समिति बन्ने छन् ।