• १३ मंसिर २०८१, बिहिबार

कालीकोटमा खाद्य अभाव

blog

मान्म समाचारदाता

कालीकोट, साउन २५ गते । कालीकोटमा खाद्यन्न अभाव भएको छ। सरकारले गत वर्ष कालिकोटमा १३ हजार क्विन्टल चामलको कोटा उपलब्ध गराएको थियो। जिल्लाका मान्म, थिर्पु, पादमघाट, खल्लागाड खाद्य डिपो र खिन धौलागोह वितरण केन्द्र अहिले खाली भएका छन्। 

गाउँका खाद्य डिपो तथा वितरण केन्द्र खाली भएपछि चामल लिन सदरमुकाम मान्म पुगेका सेवाग्राही खाली हात फर्किनु परेको छ। एकै दिन दुई सय क्विन्टलभन्दा बढी वितरण भएपछि बाँकी रहेको चामल कैदीबन्दीलाई एवं जन्म र मृत्यु कार्यमा दिनुपर्ने भएकाले अहिले सर्वसाधारणका लागि बिक्री बन्द गरिएको बताइन्छ। 

सदरमुकाम मान्मदेखि नरहरिनाथ गाउँपालिका–५ करिब १७ कोस टाढा छ। दुई हजार रुपियाँ खर्च गरेर सुपथ मूल्यको मसिनो चामल लिन दिनभर हिँडेर सदरमुकाम मान्म पुग्नुभएका भरत सहकारी पनि पछिल्लो दिन रित्तै घर फर्किनु परेको छ। उहाँले भन्नुभयो, “दिनभरि हिँडेर आइयो तर चामल पाइएन। अब रित्तै घर फर्किनुपर्ने भयो।”

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कार्यालय कालीकोटका प्रमुख कमलराज पाण्डेका अनुसार प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीको उपस्थितिमा बसेको बैठकले दुई हजार क्विन्टल खाद्यान्न ढुवानीको व्यवस्था गर्न व्यापार कम्पनीको प्रधान कार्यालयलाई अनुरोध गर्ने निर्णय गरेको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी कालीकोट र डिपो एवं खाद्य वितरण केन्द्रमा मौज्दात खाद्यान्न नभएका कारण खाद्य सङ्कट उत्पन्न हुने सम्भावना रहेको बताइन्छ। जिल्लाको नरहरिनाथ गाउँपालिकामा एक हजार पाँच सय र रास्कोट नगरपालिकालाई एक हजार क्विन्टल चामलको व्यवस्था मिलाउनसमेत लिमिटेडको प्रधान कार्यालयलार्ई अनुरोध गरिएको छ।

कार्यालय प्रमुख पाण्डेले यस वर्ष सदरमुकाम मान्म शाखाका लागि पाँच हजार, थिर्पु डिपोका लागि एक हजार सात सय, पादमघाट डिपोका लागि एक हजार पाँच सय, खल्लागाडका लागि एक हजार तीन सय र खिन, धौलागोह बिक्री केन्द्रका लागि एक हजार क्विन्टल गरी जम्मा १० हजार पाँच सय क्विन्टल ढुवानी अनुदानको चामलको कोटा निर्धारण गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार ढुवानीका लागि टेन्डर भइसकेको छ। ढुवानी गर्ने ठेकेदार पनि छनोट हुने प्रक्रियामा रहेकाले चामल आएपछि गाउँमा पठाइने भएको छ।