• १४ मंसिर २०८१, शुक्रबार

मुस्ताङको राजखोलामा बाढीले सडक अवरुद्ध

blog

अमृतप्रसाद पौडेल

म्याग्दी, साउन २४ गते । हिमालपारिको जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मार्ग बेनी-जोमसोम सडक खण्डको मुस्ताङ खण्डको माफाको राजखोलामा आएको बाढीले सडक बगाउँदा मंगलबारदेखि सडक अवरुद्ध भएको छ । मुस्ताङको घरपझोङ गाउँपालिका-२, मार्फाको राज खोलामा लेदो सहितको बाढीले झण्डै तीन सय मिटर हाराहारी सडक बगाएपछि मुस्ताङ खण्ड अवरुद्ध भएको हो ।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी अनुप केसीका अनुसार मुस्ताङको मार्फास्थित राज खोलामा लेदो र ग्रेग्रानसहितको बाढी आएपछि तीन सय मिटर हाराहारी सडक अवरुद्ध भएको हो । सहज प्रकारको भूगोलमा आएको लेदोसहितको बाढीले आफ्नो नियमत बग्नेभन्दा अन्यत्रै धार परिवर्तन गर्दा झण्डै तीन सय मिटर क्षेत्रको सडक पुर्ने तथा बगाउने हुँदा सवारी साधनकासाथै पैदल यात्रुहरूलाई आउजाउ गर्नेसम्मको सडक नरहँदा समस्या भएको उहाँको भनाइ छ ।

बेनी–जोमसोम–कोरला सडक खण्ड अन्तर्गतको मार्फास्थित राज खोलामा रहेको अस्थायी पुल पनि पुरै पुरिएको भएपनि त्यसलाई अब उत्खनन गरिएको प्रजिअ केसीले बताउनुभयो । उहाँले भन्नुभयो, “पुल चाहिँ सामान्य अवस्थामा छ बाढीले पुरै पुरेको कारणले गर्दा पुल प्रयोग गर्न मिल्ने वा नमिल्ने कस्तो अवस्थामा छ यसै भन्न सकिँदैन ।” “आजै सडक सञ्चालनका लागि प्रयास भई रहेको छ, नभए पनि बिहानै सञ्चालनमा आउँछ”, प्रजिअ केसीले भन्नुभयो । 

मार्फाका युवा दीपक लालचनले मेसिन प्रयोग गरेर सडक खुलाउन प्रयास गरिएको र आज साँझ सम्म खुल्न सक्ने सम्भावना रहेको बताउनुभयो । एक्कासि आएको बाढीले गर्दा सडक रोकिएको हो सकभर आज खुल्ला नभए पनि भोली बिहानै सडकमा सवारी सञ्चालन गर्न सक्ने अवस्थाको हुन्छ लालचनले भन्नुभयो ।

त्यस्तै, गएको शनिबारदेखि बेनी–जोमसोम सडक खण्डकै म्याग्दी खण्डको बैसरीमा अवरुद्ध भएको सडक दिउँसो १ बजेबाट सञ्चालनमा आएको म्याग्दीका प्रहरी नायव उपरीक्षक(डिएसपी) मदन कुँवरले बताउनुभयो । “रघुगंगा गाउँपालिकाको बैसरीमा लेदोसहितको पहिरो लगातार खस्ने गर्दा पछिल्लो एक महिना देखि हरेक दिन अवरुद्ध भई रहेको सडक शनिबार बेलुकादेखि फूलफेजमा खुलाउन सकिएको थिएन आज भने खुलेको छ”, उहाँले भन्नुभयो ।