रजनी योगी
सुर्खेत, साउन २४ गते । सल्यानको बनगाड कुपिन्डे नगरपालिका वडा नं. ७ का ५५ वर्षीय नरेन्द्र परियारलाई सर्पले डस्यो । असार १३ गते बिहान करिब आठ बजेतिर घाँस काट्दै गर्दा उहाँलाई सर्पले डसेको थियो । उहाँ कर्णाली प्रदेश अस्पतालमा उपचार गरेर घर फर्किसक्नुभएको छ ।
अस्पतालमा एक हप्ताको उपचारपछि घर फर्किएको नरेन्द्रले बताउनुभयो । सर्पले डसेपछि तत्काल अस्पताल लैजानुको सट्टा उहाँलाई गाउँमै धामीझाँक्री बोलाएर झारफुक गरियो । तर निको भएन, झनै समस्या बढ्यो । उहाँको अवस्था बिग्रँदै गएपछि भोलिपल्ट मात्रै प्रदेश अस्पताल सुर्खेतमा पुर्याइएको हो । नरेन्द्र भन्नुहुन्छ, “अस्पतालमा पुर्याएकाले ज्यान जोगियो । गाउँघरमै झारफुक मात्र गरे ज्यानै जाने रहेछ ।”
उहाँहरूलाई सर्पले टोकेको उपचार प्रदेश अस्पतालमा हुन्छ भन्ने नै जानकारी थिएन । “गाउँघरमा अझै पनि झारफुक गरेर निको हुन्छ भन्ने विश्वास छ”, नरेन्द्र भन्नुहुन्छ, “अस्पतालमा पनि यसको उपचार हुने रहेछ, म निको भएर घर फर्केँ ।” नरेन्द्रका दाइ कालुराम परियार सर्पले टोकेको उपचार अस्पतालमा हुनेमा ढुक्क हुनुहुन्थ्यो । उहाँले भन्नुभयो, “गाउँघरको करकापमा भाइलाई अस्पताल ल्याएका थियौँ । राम्रो उपचार हुने रहेछ । निकै खुसी लागेको छ ।”
यस्तै, अछामको तुर्माखाँद गाउँपालिका वडा नं. १ का ३३ वर्षीय कमलेशसिंह कट्टारीलाई पनि असार २४ गते रातीको समयमा सर्पले डसेको थियो । शौचालय जाँदै गर्दा खुट्टामा सर्पले टोकेको हो । उहाँलाई तत्काल प्रदेश अस्पताल सुर्खेतमा ल्याइयो । उपचार गरेर उहाँ पनि फर्किसक्नु भएको छ । “अस्पताल लैजानुको सट्टा गाउँमै धामीझाँक्री बोलाएर फुकफाक गर्नुपर्यो भन्ने थियो तर मेरो अवस्था जटिल हुँदा प्रदेश अस्पतालमा ल्याइयो । अस्पतालमा उपचार गर्दा मलाइ ढुक्क भयो,” उहाँले भन्नुभयो ।
दैलेखको दुल्लु नगरपालिका वडा नं. १० का ८ वर्षीय सविन थापालाई साउन २ गते खेल्दै गर्दा घरमै सर्पले टोक्यो । चार घण्टाभित्र सविनलाई आफन्तले प्रदेश अस्पताल सुर्खेतमा पुर्याउनुभयो। समयमै उपचार गर्दा उहाँलाई थप समस्या भएन । उहाँलाई एक हप्ताको उपचारपछि घर लगिएको छ ।
पछिल्लो समय प्रदेश अस्पताल सुर्खेतमा सर्पदंशका बिरामी बढ्न थालेका छन् । सर्पले डसेर उपचार गर्न आउने बिरामीको सङ्ख्यामा उल्लेख्य वृद्धि हुन थालेको हो । कर्णाली प्रदेशका दश वटै जिल्ला र सुदूरपश्चिम प्रदेशबाट पनि सर्पदंशका बिरामी उपचारका लागि आउने गरेका छन् । ग्रामीण भेगका बिरामीलाई तत्काल अस्पताल ल्याउनुभन्दा अन्य उपचारमा भर पर्ने, धामीझाँक्रीकोमा उपचार गर्दा ठिक हुन्छ भन्ने अन्धविश्वास थियो । तर अहिले सर्पदंशका बिरामी उपचारका लागि अस्पतालमा आउने गरेका हुन् । अस्पतालमा उपचार हुँदा कैयौँको ज्यान जोगिएको छ ।
कर्णाली प्रदेश अस्पतालका कन्सल्टेन्ट फिजिसियन डा.के.एन.पौडेलले अस्पतालमा सर्पदंशका बिरामी बढेको बताउनुभयो । गत वर्ष यो समयमा फाट्टफ्ट्ट मात्र बिरामी आउने गरेको भएपनि यो वर्ष उपचारका लागि आउनेको सङ्ख्या बढेको उहाँको भनाइ छ । डा. पौडेलले भन्नुभयो, “जिल्ला अस्पतालहरूबाट रेफर भएर आउनेको सङ्ख्या पनि उत्तिकै छ । त्यस्ता बिरामीलाई ‘एन्टी स्नेक भेनम’ दिनुपर्ने हुन्छ ।”
अस्पतालमा भ्याक्सिन, दक्ष जनशक्तिलगायतको व्यवस्था गरिएको र ‘एन्टी स्नेक भेनम’ पर्याप्त रहेको डा. पाैडेलको भनाइ छ । सर्पको टोकाइबाट बच्न चेतनामूलक कार्यक्रमहरू पनि आवश्यक हुने भन्दै उहाँले सर्पले टोकेको भन्ने थाहा नहुँदा पनि जोखिम बढेको बताउनुभयो ।
अस्पतालका अनुसार यो वर्षको वैशाख महिनामा चार जना, जेठमा पाँच जना, असारमा १५ जना र साउनको १९ गतेसम्म २१ जना सर्पदंशका बिरामी उपचारका लागि आएका छन् । तीमध्ये आधालाई मात्र ‘एन्टी स्नेक भेनम’ दिइएको छ ।
यो महिना अस्पतालमा भर्ना भएका २१ मध्ये नौं जनालाई ‘एन्टी स्नेक भेनम’ दिइएको अस्पतालले जनाएको छ । उपचारमा आएकामध्ये ९० प्रतिशतमा उक्त रोगको लक्षण नदेखिने गरेको डा.के.एन. पौडेलले जानकारी दिनुभयो । जसले गर्दा थोरैलाई मात्र ‘एन्टी स्नेक भेनम’ दिनुपर्ने हुन्छ । बढेको चेतनास्तर तथा अस्पतालको सेवा प्रभावकारी हुँदा सर्पदंशका बिरामी बढेका हुन् ।