• १३ मंसिर २०८१, बिहिबार

कर्णाली करिडोरको हुम्ला खण्डको पैमामा सडक अवरुद्ध

blog

पानी बढेपछि यातायात सेवा अवरुद्ध भएको पैमा खोला । तस्बिर : राजन रावत

राजन रावत
हुम्ला, साउन २४ गते ।
कर्णाली करिडोरको हुम्ला खण्डको सडक ताँजाकोट गाउँपालिका–५ को पैमा खोलामा सडक अवरुद्ध भएको छ । वर्षाले खोलामा पानी बढेपछि यातायातका साधन वारपार गर्न नसक्ने भएको कारण सडक अवरुद्ध भएको हो ।

पैमाका होटेल व्यवसायी जैबिर बोगटीले चार दिनदेखि कर्णाली करिडोरको हुम्ला खण्डको पैमा खोलामा यातायात सेवा बन्द भएको बताउनुभयो । उहाँले वर्षा भइरहने भएका कारण खोलामा पानी बढेको र  यातायात सञ्चालनमा समस्या हुँदा बन्द भएको जानकारी दिनुभयो ।

खोलामा पुल नभएका कारण गाडी वारपार गर्ने अन्य विकल्प नहुँदा यात्रुहरु पैमामै अलपत्र पर्दै भएका छन् । नेपालगञ्ज, सुर्खेत र बाजुराबाट हुम्ला आउने यातायातको साधन पैमा खोलाबाट अदानचुलीको केन्द्र श्रीनगर, गल्फागार्ड, बालुकुना र सलीसल्ला आउने साना ठूला यातायातका साधन अलपत्र पर्दै आएका छन् ।

खोलामा ठूला ढुङ्गा बगेर आएको कारण यातायातका साधनलाई डोजरले समेत तान्न सक्ने अवस्था छैन । यसअघि स्थानीयले पटक पटक पैमा खोलामा बेलिब्रिज निर्माणका लागि माग गर्दै आएको भए पनि सुनुवाइ हुन नसकेका कारण अहिलेको समस्या भोग्नुपरेको उहाँको भनाइ छ  ।

अब पैमा खोला नघटेसम्म कवाडीदेखि सलीसल्लासम्मको सडक सुचारु हुने अवस्था नरहेको पैमाका स्थानीय बताउँछन् । जिल्ला प्रहरी कार्यालयका निरीक्षक दिपम मल्लले चारदेखि पैमा सलीसल्लसम्मको यातायात सेवा बन्द रहेका कारण यसलाई सुचारु गराउन हिल्सा सिमकोट सडक आयोजनासँग पहल भइरहे पनि काम अगाडि बढ्न नसकेको बताउनुभयो ।

प्रहरी दैनिक पैमा खोलामा पुग्ने गरेका छन् । यातायात सेवा अवरुद्ध भएपछि श्रीनगर, बालुकुना र सलीसल्लामा सामानको अभाव हुन थालेको छ भने सर्केगार्ड, खार्पुनाथ, सिमकोट र नाम्खा गाउँपालिकाका लागि आउने विकास निर्माण सामग्री ढुवानी ठप्प भएको छ ।