• २० वैशाख २०८१, बिहिबार

पहिरो अपडेट

बेपत्तामध्ये दुई जनाको शव फेला, दुई अझै बेपत्ता, एक जनाको १५ घण्टापछि उद्धार

blog

मकवानपुरको बागमती गाउँपालिका ५ मा मङ्गलबार बिहान पहिरोले घर बगाउँदा बेपत्ता भएकाहरूको खोजी गरिँदै । तस्बिर: गोरखापत्र

राममणि दाहाल

हेटौँडा, साउन २४ गते । मकवानपुरको बागमती गाउँपालिका ५ मा मङ्गलबार बिहान पहिरोले घर बगाउँदा बेपत्ता भएकामध्ये दुई जनाको शव फेला परेको छ । बागमती गाउँपालिका ५ भोर्लेनीस्थित सिक्रे दोभानमा भल बाढीसहित आएको पहिरोले बगाएर बेपत्ता भएका छ जनामध्ये दुई जनाको शव बुधवार बिहान फेला परेको हो । 

बागमती गाउँपालिकाका अध्यक्ष सर्केस घलानले दुई वटा शव फेला परेको जानकारी दिनुभयो । घरधनी ६० वर्षीय अक्कलबहादुर स्याङ्तान र निजको छोरी २२ वर्षीया शिला पहरी स्याङ्तानको शव फेला परेको उहाँले बताउनुभयो । अक्कलबहादुरका ज्वाइँ जीवन पहरी, चार वर्षीय नाति मिलन पहरी र डेढ वर्षीया नातिनी दिव्या पहरी अझै बेपत्ता छन् । घर बगाएको स्थानभन्दा करिब १० किमी दक्षिणमा हरिहरपुरगढी गाउँपालिका १ कोकरेस्थित बागमती नदीको बिच बगरमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

यसअघि मङ्गलबार साँझ सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका १ घर भई पाहुना बस्न पुगेका करिब १६ वर्षीय पासाङ घिसिङलाई पहिरोमा परी बेपत्ता भएको झन्डै १५ घण्टापछि घाइते अवस्थामा उद्धार गरिएको थियो । घाइते घिसिङको हेटौँडामा उपचार भइरहेको छ । 

यस्तै पहिरोमा परेर गम्भीर भएका अन्दाजी ५५ वर्षीया सन्तमाया स्याङ्तानको स्थानीय भोर्लेनीस्थित मेडिकलमा उपचारको क्रममा मृत्यु भएको थियो । जिल्ला प्रहरी कार्यालय मकवानपुरले पहिरोमा परेर बेपत्ता भएकाहरूका खोजी कार्य जारी रहेको जनाएको छ ।