• १९ असार २०८१, बुधबार

नेपालगञ्ज र खजुराका विद्यालय चार दिन बन्द

blog

कोहलपुरमा एक विद्यालयको निरीक्षण गर्दै उपप्रमुख सङ्गीता सुवेदी । तस्बिर : सिराज खान

सिराज खान 

नेपालगञ्ज, साउन २३ गते । बालबालिकामा आँखा पाक्ने रोग ‘कन्जक्टिभाइटिस एनिडो भाइरस’को सङ्क्रमण फैलिएपछि नेपालगञ्ज र खजुराका सबै विद्यालय चार दिनका लागि बन्द गरिएको छ। 

नेपालगञ्ज उपमहानगरपालिकाको शिक्षा महाशाखा प्रमुख गोर्ख बहादुर थापाले उपमहानगरका अधिकांश बालबालिकामा आँखा पाक्ने सङ्क्रमण देखिएकोले त्यसलाई थप फैलिनबाट रोक्न नेपालगञ्जका निजी र सामुदायिक सबै विद्यालय चार दिन बन्द गर्ने निर्णय गरिएको बताउनुभयो । उहाँले बालबालिकामा आँखा पाक्ने सङ्क्रमण वृद्धि हुँदै गएकोले विद्यालयबाट नै अन्य बालबालिकामा पनि सर्ने सम्भावना रहेकोले बुधवारदेखि शुक्रबारसम्म बिदा दिने र शनिबार बिदा नै परेकोले चार दिन विद्यालय बन्द गर्ने निर्णय मङ्गलबार गरिएको बताउनुभयो । 

‘कन्जक्टिभाइटिस एनिडो भाइरस’ बालबालिकामा फैलिन थालेपछि नगरका विभिन्न स्थानबाट अभिभावक र आम नागरिकले विद्यालय बन्द गर्न आग्रह गरेको पनि उपमहानगरको शिक्षा महाशाखाले जनाएको छ । सोही प्रकारले एनिडो भाइरसको सङ्क्रमणका कारण बालबालिकामा आँखा पाक्ने रोगको प्रकोप बढ्दै गएकोले खजुरा गाउँपालिकाको शिक्षा शाखाले पनि बुधबारदेखि शुक्रबारसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ । 

खजुरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुवेदीले पालिकाका सबै विद्यालयका विद्यार्थीमा आँखा पाक्ने सङ्क्रमण देखिएकोले शिक्षा शाखाले चार दिन विद्यालय बन्द गर्ने निर्णय गरेको बताउनुभयो । कोहलपुर नगरपालिकामा पनि सो सङ्क्रमणका कारण बालबालिकामा आँखा पाक्ने रोगको प्रकोप बढ्दै गएको पाइएको छ । कोहलपुर नगरपालिकाले पनि विद्यालय बन्द गर्ने बारेमा छलफल भइरहेको जनाएको छ । 

बाँकेमा ‘कन्जक्टिभाइटिस एनिडो भाइरस’ बाट बालबालिका बढी प्रभावित भएको चिकित्सकहरूले जनाएका छन् । नेपालगञ्जस्थित फत्तेबाल आँखा अस्पतालका नेत्र चिकित्सक डा. मुबिन सिद्धिकीले अस्पतालमा उपचारका लागि आउनेहरूमा बालबालिका अत्यधिक रहेको बताउनुभयो । उहाँले अस्पतालमा दैनिक २०० जति बालबालिका उपचारका लागि पुगिरहेको जनाउँदै यो सङ्क्रमण तीव्र गतिमा फैलिरहेको बताउनुभयो । 

आँखा पाक्ने सङ्क्रमणका कारण जिल्लाका अधिकांश सामुदायिक तथा निजी विद्यालयका विद्यार्थी र शिक्षकलाई नै आँखामा समस्या आएपछि पठनपाठन प्रभावित भएको छ ।नेपालगञ्ज, कोहलपुर र खजुरास्थित विभिन्न स्वास्थ्य केन्द्रमा आँखा पाक्ने रोगका बिरामी आउने क्रम बढ्दै गएको जानकारी आएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।