• २४ पुस २०८१, बुधबार

सडक स्तरोन्नति नहुँदा यात्रुलाई सास्ती

blog

मुगु समाचारदाता

मुगु, साउन २३ गते ।  नाग्म–गमगढी सडक कालोपत्रे नहुँदा नागरिकले सधैँ सास्ती खेप्नु परेको छ। सडक स्तरोन्नति नहुँदा सवारी दुर्घटनासमेत बढ्दै गएको छ।

सडकको अवस्थाबारे सङ्घीय र प्रदेश सभा सदस्यले समेत उठाएको आवाज सरकारले सुनेको छैन। मुगुका सांसद ऐनबहादुर शाही, प्रदेश सभा सदस्य जितबहादुर मल्लले नाग्मदेखि गमगढी लोकमार्ग स्तरोन्नति गर्न पटक पटक माग गर्दै आउनुभएको छ। सांसद शाहीका अनुसार नाग्म–गमगढी लोकमार्गलाई छिटोछरितो स्तरोन्नतिका लागि सडक कार्यालयले चासो देखाएको छैन।

साँघुरो र खाल्टाखुल्टीका कारण लोकमार्गमा यात्रा गर्ने यात्रुले हिउँदमा धुलाम्मे र बर्खामा हिलाम्मे हुनुपर्ने समस्या खेप्दै आएका छन्। मुगमकार्मारोङ गाउँपालिका–८ का  रामसिङ रोकायाले लोकमार्गको नाग्म–गमगढी सडकको वर्षौं बितिसक्दा पनि स्तरोन्नति नहुँदा सास्ती खेप्नु परेको बताउनुभयो।

जिल्ला नागरिक समाजका संयोजक रूपबहादुर मल्लले नाग्म–गमगढी लोकमार्गको काम मापदण्ड अनुसार नभएको बताउनुभयो। यता सडक डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी चित्र चौलागाईंका अनुसार ३२ करोडमा नाग्म–गमगढी लोकमार्गको कालोपत्रेका लागि ६.५० किलोमिटर थोदुङ बास्ना जेभीले जिम्मा पाएको छ। 

सिँजाको रोकायावाडा खण्डमा सडक कालोपत्रेका लागि सडक चौडाइ र नालाको स्तरोन्नतिका लागि स्थानीय र गैरस्थानीय सामग्री जम्मा गरिएको छ। उहाँका अनुसार २०७९ देखि २०८२ सालसम्म ६.५० किलोमिटर कालोपत्रे सम्पन्न गर्ने योजना छ।