गोकर्ण दयाल
बैतडी, साउन २३ गते ।
‘धोती मैलो, टोपी मैलो धोइदिन्या कोही छैन
परदेशमा मरन्याको रोइदिन्या कोही छैन...’
उल्लेखित देउडा गीतको यी पङ्क्तिले सुदूरपश्चिम र कर्णाली प्रदेशको विभिन्न जिल्ला तथा गाउँबस्तीबाट कामको खोजीमा भारत पुग्नेको कष्टकर जीवनकथालाई इङ्गित गरेको छ ।
केही दिनअघि भारतको गौरीकुण्ड पहिरोमा लालाबालासहित अस्ताएका जुम्ला पातारासीका अमर बोहरासहित १४ जना परदेशीको जीवनगाथा उक्त देउडा गीतसँग दुरुस्तै मिलेको छ । कर्णाली प्रदेशको जुम्ला पातारासी गाउँपालिका–२ का अमरसहित उहाँकी पत्नी अनिता, छोरीहरू राधिका र पिङ्की, छोराहरू पृथ्वी, जटिल र वकिलको पहिरोले एक चिहान नै बनाइदिएको छ ।
उहाँको परिवारमा रोइदिने र काजकिरिया गर्नेसम्म कोही बाँकी रहेनन् । सोही पहिरोमा उहाँका छिमेकी धर्मराज बुढा, चन्ने कामी, बम बोहरा र सुकराम रावत बेपत्ता भएका छन् । अन्य ११ जना नेपाली बेपत्ता छन् । बेपत्ता भएकामध्ये तीन जनाको शव फेला परेको छ तर शवको सनाखत हुन सकेको छैन । रोजगारीका लागि भारतको दुर्गम तथा जोखिम क्षेत्रमा काम गर्न पुग्दाको दयनीय नियति यहाँका सर्वसाधारणले भोग्दै आएका छन् ।
कामको खोजीमा भारत पस्दै गर्दा विभिन्न दुर्घटनामा मृत्यु हुने परवासी नेपालीका लागि यो एक प्रतिनिधिमूलक घटना मात्र हो । भारत जाने आप्रवासी कामदारको जीवन बिमा नहुँदा शव स्वदेश ल्याउन घरपरिवारले ऋण बोक्नु पर्ने अवस्था रहेको छ ।
गत वर्ष भारतको उत्तराखण्ड राज्यको पिथौरागढको धारचुला हुँदै कैलाश मानसरोवर जोड्ने सडकमा काम गर्दा पहिरोमा परेर डडेलधुराका ४५ वर्षीय नरबहादुर रोकाको मृत्यु भएको थियो । अर्का मजदुर पदमसिंह कुँवर गम्भीर घाइते हुनुभयो ।
घाइते र मृतकको जीवन बिमा नहुँदा परिवारका सदस्यले कुनै राहत पाउन सकेनन् । शव ल्याउनसमेत निकै सास्ती भोग्नु प-यो । रोजगारीका लागि भारतको बैङ्लोर गएका बैतडीको सिगास गाउँपालिका–४ का डम्बरसिंह धामीको कार्यस्थलबाट फर्किने क्रममा गाडीले ठक्कर दिएर मृत्यु भयो । रोजगारी खोज्न भारतको काश्मीर पुगेका पाटनका हिमाल विष्ट काम गर्ने व्रmममा मेसिनमा अल्झेर दायाँ हात काटिएपछि अपाङ्ग बनेर घर फर्किनु भयो । आर्थिक समस्याले उहाँको उपचारमा समेत समस्या भएको छ । घाइते विष्टलाई उहाँका आफन्त तथा साथीभाइले रकम सङ्कलन गरेर नेपाल फर्काएको बताइन्छ ।
डोजरले खोस्यो रोजगारी
स्थानीय तहको पुनर्संरचनासँगै गाउँ गाउँमा पु-याइएका डोजरले स्थानीय मजदुरको रोजगारी खोसेपछि अधिकांश भारत पलायन हुन थालेका छन् । आर्थिक वर्ष २०७९/८० मा पश्चिमी सीमानाका झुलाघाटबाट २२ हजार ६३२ जना नेपाली रोजगारी तथा उपचारका लागि भारत गएका छन् ।
प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले २०७९ साउनदेखि २०८० असारसम्म १६ हजार ५१८ पुरुष र छ हजार ११४ महिला विभिन्न कामका लागि भारत गएको बताउनुभयो । झुलाघाट नाकाबाट सुदूरपश्चिम र कर्णाली प्रदेशका विभिन्न जिल्लाबाट अधिकांश मानिस रोजगारीका लागि भारत जाने गरेका छन् ।
केही स्वास्थ्य उपचार र किनमेलका लागि भारत गएको तथ्याङ्क रहेको उहाँले बताउनुभयो तर गाउँ गाउँमा डोजरलगायत विभिन्न उपकरणको प्रयोग हुन थालेपछि मजदुरी गर्नेहरू भारत पलायन हुन थालेको स्थानीय राजनीतिकर्मी बताउँछन् ।
बिमा कार्यक्रम रद्द
सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले भारतमा काम गर्ने आप्रवासी कामदारको जीवन बिमा गर्ने निर्णय गरे पनि कार्यविधि नबन्दा रद्द भएको छ । आप्रवासी कामदारको जीवन बिमासम्बन्धी कार्यविधि नबनेका कारण बजेट नै फ्रिज भएको सो मन्त्रालयका सूचना अधिकारी भुवन जोशीले बताउनुभयो ।
सुदूरपश्चिमबाट रोजगारीका लागि भारत जाने कामदारको मन्त्रालयमा तथ्याङ्क नै नभएको रोजगार संयोजक चम्पा जोशीले बताउनुभयो । कञ्चनपुरको गड्डाचौकी, बैतडीको झुलाघाट र कैलालीको गौरीफन्टा नाका हुँदै कामको खोजीमा हजारौँ मानिस भारत जाने गरेका छन् ।