• ६ जेठ २०८१, आइतबार

सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने राजमार्ग अवरुद्ध

blog

पहिरोका कारण अवरुद्ध भएको भीमदत्त राजमार्ग । तस्बिर: लवराज जोशीको फेसबुकबाट

अविनाश चौधरी

धनगढी, साउन २३ गते । सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्लालाई जोड्ने भीमदत्त राजमार्ग अवरुद्ध भएको छ । 

अविरल वर्षाले गर्दा गए राति कैलालीको गोदावरी नगरपालिका–४ स्थित भावर क्षेत्रमा ठुलो पहिरो गएपछि राजमार्ग अवरुद्ध भएको हो । पहिरोका कारण राजमार्ग चर्किएर भासिएको छ । पहिरोले राजमार्ग अवरुद्ध भएपछि सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लाको यातायात ठप्प भएको छ । पहाडबाट तराई झर्ने र तराईबाट पहाड जाने सबै सवारी साधन बाटोमा रोकिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले जानकारी दिनुभयो । 

उहाँका अनुसार अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको छ । तर माथिबाट पहिरो झर्ने क्रम जारी रहेकाले बाटो खुलाउन समस्या भइरहेको छ । राजमार्ग अवरुद्धका कारण यात्रुहरू अलपत्र परेका छन् । राजमार्ग अवरुद्ध भएकाले पहाडी जिल्लाका लागि र पहाडबाट तराईका लागि यात्रा नगर्न प्रहरीले सबैलाई आग्रह गरेको छ । 

स्थानीय लवराज जोशीले बुढीतोलादेखि करिब एक किलोमिटरको दूरीमा पहिरो गएर राजमार्ग अवरुद्ध भएको जानकारी दिनुभएको छ ।