ठाकुरप्रसाद आचार्य
म्याग्दी, साउन २२ गते । बेनी-जोमसोम कोरला सडक खण्डको बैसरीमा पहिरो खसेर सडक अवरुद्ध भएको छ । सडक माथिबाट खसेको पहिरोका कारण रघुगंगा गाउँपालिका २ बैसरी खण्डमा शनिबारदेखि सडक पूर्ण रूपमा अवरुद्ध भएको हो ।
सडक माथिबाट पहिरो खस्ने क्रम नरोकिएका कारण सडक खुलाउन सकिएको छैन । सडकमा सवारीसाधनको लामो लाइन छ । आइतबार र सोमबार दिनभर सडक खुलाउने प्रयास गरेपनि खुलाउन नसकिएको बेनी–जोमसोम कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले बताउनुभयो । उहाँले भन्नुभयो,‘‘दिनभर सडक खुलाउने प्रयास गरियो तर खुलाउन सकिएन । सडक माथिबाट पहिरो खस्ने क्रम रोकिएको छैन । पहिरो नरोकिए सम्म सडक सञ्चालन गर्न सम्भव छैन ।’’
सडकमाथिको पाखोमा भूमिगत पानी र पहिरोले जमिन चिराचिरा भएर सडकमा पहिरो खसिरहेको उहाँले बताउनुभयो । वर्षा नरोकिएका कारण पहिरो खसिरहेको छ ।
सडक अवरुद्ध हुँदा मुक्तिनाथ दर्शनका लागि हिँडेका यात्रु र मुक्तिनाथ र जोमसोमबाट फर्किएका यात्रुहरू बैसरीमा अलपत्र परेका छन् । बैसरी खण्डमा दुवैतर्फ करिब पाँच सय सवारीसाधन अलपत्र परेका छन् । यात्रुहरू बिच सडकमै सुतेका छन् । बैसरीमा पर्याप्त होटल नहुँदा यात्रुहरूलाई खानको समस्या भएको छ ।
आइतबारदेखि यहाँ आएर बसेको छु सडक खुल्ने कुनै टुङ्गो छैन मुक्तिनाथबाट यात्रु लिएर आउनुभएका बसका चालक प्रकाश सुनारले भन्नुभयो, "हिजोदेखि सडकमा बसेका छौँ । बसमा मुक्तिनाथ दर्शन गरेर फर्किएका भक्तजनहरू छन् । बाटोमा खाना र बास बस्ने होटल पनि छैनन् । सडक खुल्ने आशामा कुरेर बसेका छौँ । आज पनि सडक खुल्ने सम्भावना देखिँदैन ।"
सडक अवरुद्ध हुँदा बिच बाटोमा अलपत्र परेको भारतको हैदराबादबाट मुक्तिनाथ दर्शनका लागि आउनुभएका रमेश जलानले भन्नुभयो, "सडक अवरुद्ध भएको सूचना नपाउँदा बिचबाटोमा अलपत्र परेका छौँ । हामीहरु मुक्तिनाथ दर्शनका लागि आएका छौँ । सडक माथिदेखि पहिरो खसिरहेको छ । बिच बाटोमा अलपत्र परेका छौँ । खान खाने र बस्ने होटल पनि यहाँ वरपर छैनन्। सडक खुलाउन यहाँको सरकारले पहल गरे हाम्रो उद्धार हुने थियो ।"
सडक खुलाउन प्रहरी तथा बेनी-जोमसोम-कोरला सडक आयोजनाको टोली खटेको भए पनि पहिरो झर्ने क्रम नरोकिएकाले सडक खुलाउन सम्भव नभएकाले यात्रुहरूलाई सुरक्षित स्थलमा जान सूचना गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरीक्षक मदन कुँवरले बताउनुभयो ।