सन्तोष सुवेदी
कास्की, साउन २२ गते । उच्च अदालत पोखराले पोखरा महानगरपालिकालाई वडा ३२, लामेआहालस्थित अस्थायी ल्याण्डफिल साइटमै फोहोर फाल्ने बाटो खोलिदिएको छ । स्थानीयको स्वच्छ वातावरण अधिकारको हनन भएको भन्दै ल्याण्डफिल साइट रोकी पाऊँ भनी स्थानीयको तर्फबाट दिइएको रिटको विपक्षमा अदालतले आदेश गरेको हो ।
उच्च अदालतको इजलास २ मा न्यायाधीशद्वय रमेशप्रसाद राजभण्डारी र ऋषिराज भण्डारीको संयुक्त इजलासले पोखरा महानगरपालिकाको पक्षमा आदेश गरेको हो । उच्च अदालत पोखराका रजिस्ट्रार श्रीलाल पौडेलले पोखरा महानगरपालिकालाई ‘आफ्नो काम गर्नू’ आदेश गरेको जानकारी दिनुभयो ।
अब महानगरले सोही स्थानमा फोहोर फाल्न पाउनेछ । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले अदालतले फोहोर फाल्न आदेश दिए पनि स्थानीयसँग वार्तापश्चात् मात्रै फोहोर व्यवस्थापन गर्ने बताउनुभयो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि उडान र अवतरणमा समस्या भएपछि पोखरा १४ बाच्छेबुडुमा रहेको ल्यान्डफिलबाट सारेर अस्थायी रूपमा पोखरा महानगरपालिका ३२, लामेआहालको सेती नदी किनारमा फोहोर फाल्न थालिएको थियो ।