• २० असोज २०८१, आइतबार

बन्दले जनजीवन प्रभावित

blog

कबिराज घिमिरे 

हिले, साउन २२ गते । राष्ट्रिय जनमुक्ति पार्टी लगायत विभिन्न ७ वटा सङ्गठनले आह्वान गरेको यातायात बन्दले धनकुटा सहित अरुण पूर्वका ९ जिल्लाका जनजीवन प्रभावित भएको छ । 

बन्दका कारण सोमबार पूर्वी पहाडबाट धनकुटा हुँदै छुट्ने सबै यातायातका साधन छुट्न सकेका छैनन् । त्यस्तै, तराइबाट धनकुटा सहित तेह्रथुम सङ्खुवासभा भोजपुर लगायतका जिल्लातर्फ आउने सवारीसाधन आउन सकेका छैनन् । 

साउन २२ गतेलाई लिम्बुवानको कालो दिनको रूपमा मनाउँदै यातायात बन्दका कारण जिल्लामा लामो तथा छोटो दुरीका कुनै पनि सवारीका साधन सञ्चालनमा आउन नसकेको जिल्ला ट्राफिक प्रहरी प्रमुख यज्ञराज शर्माले जानकारी दिनुभयो । सडकमा मोटरसाइकल, ट्याम्पो लगायतका सवारी साधन भने सञ्चालनमा रहेको उहाँले बताउनुभयो । सार्वजनिक सवारीका साधन सञ्चालनमा नआउँदा यात्रुहरू बिच बाटोमै अलपत्र परेका छन् । यातायात चल्ने आसमा विभिन्न बसपार्कमा पुगेका यात्रुहरू त्यसै फर्किएका छन्, यातायातका साधनहरू बिच बाटोमै रोकिएका छन् ।

वि.सं. १८३१ साल साउन २२ गते लिम्बुवानको सार्वभौमसत्ता समाप्त गरी नेपाल राज्यमा गाभिएको भन्दै साउन २२ गतेलाई हरेक वर्ष कालो दिनको विरुद्ध यातायात भन्दै राष्ट्रिय जनमुक्ति पार्टीले बन्द गर्दै आएको थियो । यो पटक भने राष्ट्रिय जनमुक्ति पार्टी सहित सङ्घीय लिम्बुवान पार्टी नेपाल, सङ्घीय खम्बुवान लोकतान्त्रिक पार्टी, लिम्बुवान राष्ट्रिय समिति, किराँत खम्बुवान राज्य परिषद्, किराँत लिम्बुवान राज्य परिषद् र लिम्बुवान राष्ट्रिय मोर्चाले संयुक्त रूपमा बन्दको आह्वान गरेका हुन् ।

बन्दको प्रभाव तेह्रथुम, ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी र सङ्खुवासभामा समेत परेको छ ।