• १४ मंसिर २०८१, शुक्रबार

पृथ्वी राजमार्ग विस्तार : दमौली बजारका घर भत्काउन सुरु

blog

अमरराज नहर्की

तनहुँ, साउन २२ गते । पृथ्वी राजमार्ग विस्तारका लागि तनहुँको सदरमुकाम दमौली बजारका घरटहरा भत्काउन सुरु गरिएको छ । पृथ्वी राजमार्गले छोएको वडा नम्बर २,३ र ४ मा रहेका सडक मापदण्डभित्रका घरटहरा भत्काउन सुरु गरिएको हो ।

७० वटा घरहरु भत्काउन पर्ने देखिएको र ३० जनाले पहिलो किस्ता लगिसकेकाले भत्काउन सुरु गर्न थालेको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिनुभयो । राजमार्ग विस्तारको काम छिटो सम्पन्न होस् भन्ने चाहाना रहेकोले घर भत्काएको व्यास नगरपालिका–२ भोर्लेटारचोक निवासी पीताम्बर पन्थले बताउनुभयो । पन्थले भन्नुभयो, “विकासको काम समयमा नै सम्पन्न गर्न साथ दिनुपर्छ, यात्रु र स्थानीय बासिन्दालाई हिलो र धुलोले सास्ती भएकोले दमौलीमा पहिलो पटक घर भत्काउन सुुरु गरेको हुँ ।’’ 

मुग्लिन पोखरा सडक योजना (पूर्वी खण्ड) का प्रमुख नरेन्द्र सुवेदीका अनुसार ९० प्रतिशत दूरीको सडक अतिक्रमण गरिएको संरचना हटाईसकिएको छ भने घर तथा टहरा भने ७५ प्रतिशत भन्दा बढी हटाइसकिएको छ । दमौली सुरु भएको र डुम्रे बजारमा घर भत्काउने काम धमाधम भइरहेको छ । 

डुम्रे बजार बन्दीपुरको प्रमुख व्यापारिक केन्द्र हो । डुम्रे बजार लमजुङ जिल्लाको प्रवेशद्वार पनि हो । सुवेदीले भन्नुभयो, “डुम्रे बजारका क्षेत्रमा रहेका सडक मापदण्डभित्र पर्ने घरटहरा भत्काउने काम भइरहेको छ, अहिलेसम्म ४० प्रतिशत घर भत्काइएको छ ।” डुम्रे बजारमा धेरै वर्ष पहिला बनेका अधिकांश घर सडक मापदण्डभित्र बनेका छन् । त्यस्ता घरटहरालाई मुआब्जा दिएर भत्काईएको उहाँले जानकारी दिनुभयो । पूर्वी खण्डअन्तर्गत आँबुखैरेनी गाउँपालिका, बन्दीपुर गाउँपालिका र व्यास नगरपालिका पर्दछन् । 

आँबुखैरेनी र व्यास नगरपालिका क्षेत्रभित्रका घरटहरा पनि हटाउने कार्य भइरहेको आयोजनाले जनाएको छ । आयोजनाका अनुसार यो खण्डमा छ सय ३१ घरटहरा भत्काइनेछ। यसका लागि रु. २२ करोड ४५ लाख मुआब्जा वितरण गरिनेछ । 

मुग्लिन पोखरा सडक विस्तार आयोजनाले दुई खण्डमा सम्झौता गरेर काम गरिरहेको छ । आँबुखैरेनीदेखि जामुनेसम्मको पूर्वी खण्डमा ३२ प्रतिशत प्रगति भएको आयोजनाले जनाएको छ ।

पूर्वी खण्डअन्तर्गत तनहुँको आँबुखैरेनी खण्डमा दुई किलोमिटर कालोपत्रे सम्पन्न भइसकेको छ । पूर्वी खण्डको कामका लागि विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । ४१ द्यशमलव ४५ किमी यो खण्डमा तीन ठुला र चार साना पुल निर्माण गरिनेछ । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले पाएको छ । यो खण्डको म्याद विसं २०८१ वैशाखसम्म छ । 

सरकारले मुग्लिन पोखरा सडक विस्तारका लागि आगामी आर्थिक वर्षमा रु.पाँच अर्ब ४२ करोड विनियोजन गरेको छ । विसं २०२६ मा रेखाङ्कन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो । पूर्वी खण्डको ठेक्का रु. छ अर्ब २१ करोड ३१ लाख १३ हजारमा र पश्चिम खण्डको ठेक्का रु. सात अर्ब ४० करोड ४६ लाखमा लागेको छ । पश्चिम खण्डको ८ दशमलव पाँच प्रतिशत काम पूरा भएको आयोजनाले जनाएको छ । 

चार लेनको बन्दा सडक सीमा दुईतर्फी २५-२५ मिटर हुनेछ । बाक्लो बस्ती भएका स्थानमा ४१ मिटर चौडाईको सडक बन्नेछ । डिजाइन अनुसार तनहुँको दमौली र डुम्रे बजारमा ४१ मिटरको सडक बन्नेछ । दुलेगौंडादेखि खैरेनीटार बजारसम्म, कोत्रे बजार क्षेत्र र कास्कीको गगनगौंडादेखि पोखरासम्म सडकको चौडाइ ४६ मिटरको हुने आयोजनाले जनाएको छ ।