• २१ वैशाख २०८१, शुक्रबार

कैद सजाय पाएका यादव प्रदेश सभा सदस्य !

blog

ललिता साह

बोदेबरसाइन (सप्तरी), साउन २१ गते। सप्तरी क्षेत्र नं. ४ (ख) बाट प्रदेश सभा सदस्य पदमा निर्वाचित अनिरुद्धसिंह यादव तीन तहका अदालतबाट दोषी ठहर भई चार वर्ष जेल सजाय तोकिएका व्यक्ति रहेको रहस्य खुलेको छ । 

गोविन्द चौधरीको हत्या अभियोगमा यादव अदालतबाट दोषी ठहर भएको हो । कैद सजाय भुक्तान नभएकाले सांसद यादव अदालतको फरार सूचीमा छन् । स्वतन्त्र उम्मेदवार भई २०७१ सालमै प्रदेश सांसदमा निर्वाचित भएपछि दोषी ठहर भएको जिल्ला अदालतको फैसलामा उल्लेख गरिएको छ । सप्तरी जिल्ला अदालतका जिल्ला न्यायाधीश दुर्गाप्रसाद ढुङ्गेलको इजलासले २०७१ चैत ११ गते यादवसमेतलाई चार वर्ष कैदको फैसला गरेको थियो ।

यस्तै उच्च अदालत जनकपुरधाम, राजविराज इजलासका न्यायाधीश नारायणप्रसाद श्रेष्ठ र शेखरचन्द्र अर्यालको संयुक्त इजलासले २०७५ भदौ ९ गते यादवको हकमा जिल्ला अदालतको फैसलालाई नै सदर गरेको थियो भने सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमान सिंह राउत र बमकुमार श्रेष्ठको संयुक्त इजलासले २०७८ पुस १३ गते जिल्ला तथा उच्च अदालतको फैसलालाई नै सदर गरेको थियो ।

यादवकै निर्देशनमा साविकको बोदेबरसाइन गाविस–४ बाट विस २०६४ असार ९ गते सप्तरीको खोक्सरप्रवाहा गाविस–१ का ३२ वर्षीय दिपु भन्ने गोविन्द चौधरीलाई नियन्त्रणमा लिई नेङ्गडा गाविस–५, बैरिया टोलमा पु-याई गोली हानी हत्या गरेको अभियोगपत्रमा उल्लेख छ । चौधरीको २०६४ असार १० गते राजविराजस्थित अञ्चल अस्पतालमा शव परीक्षण भएको अस्पताल अभिलेखले जनाएको छ । 

उक्त विषयमा जाहेरी परेपछि यादव अदालतमा उपस्थित नै नभए फरार रहेका थिए । अदालतले दोषी ठहर गरे पनि प्रहरीले भने हालसम्म यादवलाई पक्राउ गरेको छैन । यादव २०७९ मङ्सिर ४ गते भएको प्रदेश सभा निर्वाचनमा निर्वाचित भएको हो । फरारको सूचीमा रहेका यादवलाई प्रहरीले अहिलेसम्म पक्राउ गरेको छैन । मृतकका दिदी धनगढी गाविसकी ३६ वर्षीय रीताकुमारी चौधरीले जिल्ला प्रहरी कार्यालय सप्तरीमा २०६४ असार १४ गते यादवसमेत नौ जनामाथि किटानी जाहेरी दिनुभएको थियो ।

प्रदेश सभा सदस्य अनिरुद्ध सिंह यादवले अदालतको फैसलाका विषयमा अनभिज्ञता प्रकट गर्नुभयो । “मलाई कुनै जानकारी छैन, अहिले कुनै प्रतिव्रिmया दिन मिल्दैन,” उहाँले भन्नुभयो । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रमुख नरेन्द्र कार्कीले अदालतको आदेश कार्यान्वयन गर्न प्रहरी प्रतिबद्ध रहेको बताउँदै देशको कानुन सबैको हकमा बराबर लागु हुने बताउनुभयो ।