• ३ जेठ २०८२, शनिबार

प्रधानमन्त्रीको भारत भ्रमण राष्ट्रिय स्वार्थमा केन्द्रित भएन : अध्यक्ष ओली

blog

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली । फाइल तस्बिर

गोरखापत्र अनलाइन

काठमाडौं, साउन २० गते । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमण राष्ट्रिय स्वार्थभन्दा सत्तास्वार्थमा केन्द्रित भएको टिप्पणी गर्नुभएको छ । 

अध्यक्ष ओलीले प्रधानमन्त्री दाहालको भारत भ्रमणमा राष्ट्रिय स्वार्थ प्रधान नभई सत्ता स्वार्थ मात्रै प्रधान बनाएको उहाँको दाबी छ । पार्टीको परराष्ट्र मामिला विभागले शनिबार काठमाडौँमा आयोजना गरेको ‘वर्तमान अन्तर्राष्ट्रिय परिस्थिति र नेपालको परराष्ट्र नीतिसम्बन्धी एमालेको धारणा’ विषयक विचार गोष्ठीमा सो कुरा बताउनुभएको हो ।

उहाँले नेपाली आवश्यकता, नेपाली हित, नेपालको न्यायोचित पक्षमा हुनुपर्ने कुरामा प्रधानमन्त्री दाहालले आफ्नो भारत भ्रमणमा धेरै कमजोरी देखाएको जिकिर गर्नुभयो । अध्यक्ष ओलीले इपीजी प्रतिवेदन र नेपालको भूमिबारे समेत प्रधानमन्त्री दाहालले भारतीय पक्षसँग कुनै कुरा गर्न नसकेको उहाँले आरोप लगाउनुभयो ।

राष्ट्रिय हितलाई सर्वोपरि राखेर मात्रै परराष्ट्र नीति तय गर्न आफूहरू सदैव तयार रहेको र रहिरहने उहाँले अडान राख्नुभयो । सरकारले मनपरी र बेठिक ढङ्गले अघि बढाएको परराष्ट्र सम्बन्धमा आफ्नो पार्टीको साथ नरहने ओलीको भनाइ छ । 

उहाँले भन्नुभयो, “प्रधानमन्त्री प्रचण्ड हालै भारत भ्रमणमा जानुभएको थियो । कुन–कुन सम्झौता गर्नुभयो केही बताउनुभएको छैन । जे गर्नुपर्ने थियो त्यो काम गर्नुभएन ।” राष्ट्रिय हितको पक्षमा कसैले तलमाथि गर्न नहुने भन्दै अध्यक्ष ओलीले त्यसमा राष्ट्रिय सहमति बन्न आवश्यक रहेको बताउनुभयो ।

“राष्ट्रिय हितको पक्षमा सरकारले कुरा ल्याओस् । अरू पार्टीले कुरा ल्याउन् । हामी राष्ट्रिय हितको पक्षमा जोसुकैले ल्याएको कुरालाई पनि समर्थन गर्छौँ” अध्यक्ष ओलीले भन्नुभयो, “एकताबद्ध भएर अगाडि बढ्न तयार छौँ । राष्ट्रिय हित छाडेर सहमति हुने कुरामा एमाले तयार हुँदैन ।”

हाम्रा छिमेकीलाई मित्र भन्दछौँ, छिमेकी मित्र हुन् । छिमेकी बदल्न, सार्न पनि सकिँदैन अध्यक्ष ओलीले भन्नुभयो, “मित्रसँग हामी बोल्न सक्दैनौँ । आफ्ना मर्का राख्न सक्दैनौँ । आफ्ना जायज हितहरू बोल्न सक्दैनौ भने त्यस्तो सत्ताको के अर्थ भयो ?” 

“हामीले कहिल्यै भारतलाई एक पटक पनि नाकाबन्दी गरेका छौँ र ? चीनलाई हामीले नाकाबन्दी गरेका छौँ र ? तर भारतले त हामीलाई पटक पटक नाकाबन्दी गरेको छ” अध्यक्ष ओलीले भन्नुभयो, “भारत र चीन दुई मित्रराष्ट्रहरू भएकाले उनीहरूसँग खुलस्त कुरा राखेर मात्रै आपसी समस्यालाई समाधान गर्न सकिन्छ ।”