• २३ मंसिर २०८०, शनिबार

टिकापुरको पद्म प्रकाशेश्वर महादेव मन्दिर (फोटो फिचर)

blog

सुदूरपश्चिम, साउन २० गते । कैलाली जिल्ला टिकापुर नगरपालिका–७ सत्ती बजार अर्थात् पूर्वबाट पूर्वपश्चिम राजमार्ग हुँदै सुदूरपश्चिम जाँदा लम्कीबाट बायाँतर्फ करिब २४ किलो मिटरको दूरीमा अवस्थित छन् प्राचीन एवम् ऐतिहासिक पद्म प्रकाशेश्वर महादेवको मन्दिर ।

निकै नै कलात्मक शैली र आकर्षक यो मन्दिर पूर्वाधिमूख  भएको नेपालकै दुर्लभ कालो प्रस्तरको शिवलिङ्ग रहेको छ । कालो प्रस्तरको आकर्षक शिवलिङ्ग १८ इन्च लामो, गोलाई ५१ इन्च, पिथिकाको गोलाई १६५ इन्च, पिथिकाको उचाइ ३२ इन्च रहेको छ ।

त्रेतायुगमा भगवान् परशुरामले पिता जमदग्नको आज्ञा पालन गर्ने क्रममा आफ्नी आमाको हत्या गरे पश्चात् सो पाप मोचनबाट मुक्ति हुनका लागि स्थापना गरिएको यस मन्दिरलाई पापमोचन शिवलिङ्ग पनि भन्ने गरिन्छ ।


विक्रम संवत् १९६५ माघ शुक्ल दशमीको अवसरमा राजा नरेन्द्रविक्रम सिंहकी कान्छी महारानी पद्यमावतीद्वारा वर्तमान यस मन्दिरको स्वरूप जीर्णोद्धार गरिएको भनिन्छ । सम्पदा सम्बन्धी केही पुस्तकमा महारानी पद्यकुमारीले पतिको सम्झनामा १९६१ साल तिर यस मन्दिरको निर्माण गरेकी हुन भनेर पनि उल्लेख गरिएको छ ।

यस शिवलिङ्गको ब्रम्हनाल भने उत्तर दिशातिर प्रवाहित रहेको छ । यसो गर्नुका कारण भगवान् परशुराम बिहानी पख जलाभिषेक गर्दा आफ्ना इष्ट देवता र कुलदेवताको एकैसाथ पूजा गर्ने अभिप्रायले अभिष्ट इच्छाले परशुरामद्वारा स्थापित भएको किम्बदन्ती रहेको छ ।


कर्णाली नदीको किनारमा भगवान् परशुराम दैनिक कुण्डमा स्नान गरी भगवान् शिवको आराधना र पूजा अर्चना गर्दर्थ्ये र सूर्यनारायणलाई जलाभिशेष गर्नुहुन्थ्यो । वि.स. २०१६ सालमा नौतनपुरी जामनगरको खिचडा मन्दिर भारतको गुजरातबाट आएका गुरु कृष्णमणि उप्रेतीको आदेशअनुसार यस मन्दिरको अवलोकन गर्न आएका र गुरु आनन्द बाबाको भनाइअनुसार यस मन्दिर भित्र शक्ति गौरी प्रकाशेश्वर शिवलिङ्ग पहेँलो तारले लेखिएको अभिलेखको साथै परशुरामले प्रयोग गर्नुभएको चाँदीको एकजोडी खडाउ पनि थियो भनेका थिए । भारतका नैयषारणयबाट कैलाश दर्शनका आउने श्रृषिमुनीहरुका लागि पहिलो ढोकाको रूपमा रहेको यस मन्दिरमा कैलाश पर्वत अर्थात् मानसरोवर जाँदा र आउँदा बास बसी पूजा अर्चना गरे पश्चात् मात्र कैलाश पर्वत अर्थात् मानसरोवर दर्शनमा जाने गर्दर्थ्ये भन्ने कुरा पनि किम्बदन्ती रहेको छ र स्कन्दपुराणमा समेत पनि उल्लेख भएको पाइन्छ ।


साथै, यहाँ पाण्डवहरू समेत आएर बासबसेका र त्रेतायुगमा रामचन्द्र वनवास जाँदा यस मन्दिरमा पूजा गरेर पञ्चवटी गएका कुरा पनि अर्थात् रहेको छ । यस मन्दिर परिसरमा मन्दिरको प्रमुखद्वारा अगाडि निकै नै आकर्षक नन्दी, लामो पित्तलको त्रिशूल, श्री भक्ति भवानी, जङ्गली देवीको मन्दिर र सन्तानेश्वर महादेवको मूर्ति लगायत विभिन्न देवदेवताहरुको मूर्ति पनि रहेकाले यस प्रकाशेश्वर महादेवको पूजा अर्चना गर्नाले सन्तानको मनोकामना प्राप्त हुन्छ भन्ने जनविश्वास समेत रहेको छ । सूर्य उदाउँदा यस मन्दिरको शिवलिङ्गमा प्रकाश पर्ने भएका कारण यस मन्दिरको नाम प्रकाशेश्वर महादेव रहन गएको भनाइ समेत रहेको छ ।

वि.स. १९६७ मा यस क्षेत्रमा नै पहिलो मन्दिर महोत्सव गरी महारानी पद्यमावतीद्वारा मन्दिरको संरक्षण गर्नका लागि सात सय बिगाहा जमिन गुठी स्वरूप राखी, ५० धार्नीको घण्ट र सुनको गजुर चढाउनु भएको भन्ने कुरा समेत उल्लेख रहेको छ । तर हाल मन्दिर परिसर दुई कठ्ठा १० धुरमा मात्र सीमित रहेको छ । मन्दिर क्षेत्रफल बाहिर ६ कठ्ठा जग्गा दान स्वरूप प्राप्त भएकाले हाल भोग चलन गर्दै आइरहेको छ । उक्त जग्गा फेला नपरेको, घण्टी र गजुर चोरी भइसकेको ।


यस मन्दिरमा रहेको घण्ट यति ठुलो थियो कि यस मन्दिरमा पूजा गरी घण्ट बजाई सोही घण्टीको आवाजबाट कैलाली चिसापानी राजकाण्डा दरबारमा रहनु भएका राजाले पूजा भइसकेको जानकारी पाएपछि मात्र भोजन ग्रहण गर्दथ्यो । सोही समयदेखि सल्वारा शक्त गौरी स्थापना भएको श्री नरेन्द्र प्रकाशेश्वर शिव जी, जङ्गली देवी श्री शक्ति भवानी गुठी राखी यस मन्दिरको नाम श्री पद्मप्रकाशेश्वर महादेवको मन्दिर राखिएको भन्ने समेत उल्लेख गरिएको छ ।

२०६७ फागुन १ देखि २०६८ फागुन ८ गतेसम्म मन्दिर शतवार्षिकी मनाउँदा भारत उत्तराखण्डका पिठाधीश्वर जगतगुरु शङ्कराचार्य, माधव वाश्रमजी, महाराष्ट्र अन्तर्राष्ट्रिय व्यास आचार्य, स्वामी दिनदयाल महाराज, बालव्यास नारायण न्यौपानेहरूको सहभागी रहेको थियो । विक्रम संवत् २०६९ साउन १ गते नेपालका जगतगुरु बालसन्त मोहनशरण महाराजको हातबाट पहिलो बोलबम धार्मिक कार्यक्रम सुरुवात गरस् निरन्तरता दिँदै आइरहेको छ । २०६९ साउनमा यस मन्दिरमा भारत उत्तर काशीका श्रृषिमुनी लगायत निशानन्द महाराजबाट विशेष शिव पूजा समेत गरिएको थियो ।


यस मन्दिरमा प्रत्येक वर्ष श्रीकृष्ण जन्माष्टमीको दिन १०८ कन्या पूजा गर्दै आइरहेको छ । हिन्दु धर्मावलम्बीहरूको महानपर्व शिवरात्रि, विजया दशमी, चैते दशैं, अक्षय तृतीयाको दिन विशेष पूजा हुने गरेको यस मन्दिरका पुजारी बताउँछन् । साथै स्थानीयवासी हिन्दुको विभिन्न पर्वहरूमा यस मन्दिरमा दर्शनार्थीहरुको भीड लाग्ने गर्दछ ।

यस मन्दिरको संरक्षण समितिको पहलमा विभिन्न सङ्घसंस्था, पुरातत्त्व विभाग, गुठी संस्थान, समाज कल्याण परिषद्मा दर्ता गराई पुरातात्त्विक सम्पदा श्रेणीमा यस मन्दिरलाई राखिएको छ भनेर मन्दिर संरक्षण समितिका अध्यक्ष विदुर कायस्थ बताउनुहुन्छ ।

उहाँका अनुसार यस मन्दिरमा विभिन्न वर्षहरूमा विभिन्न गतिविधिहरू गरिएको र यस मन्दिरमा दीर्घकालीन योजनाहरू जस्तै, मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचिकृत गर्न पहल गर्ने, धार्मिक पर्यटनका लागि प्रवर्द्धन गर्ने, हाल मन्दिरको क्षेत्रफल निकै नै थोरै भएकाले जग्गादाताको आह्वानमा कोहलपुर निवासी गुरु श्रृषिराज आचार्यले यस मन्दिरका लागि गौशाला, धर्मशाला, धार्मिक कार्यका लागि मन्दिर परिसरमा जोडिएका जग्गाहरू खरिद गर्ने सङ्कल्प गर्नु भएको, यस मन्दिरमा सत्सङ्ग गर्ने ठाउँ एवम् गुरुज्यूहरूका लागि बासको व्यवस्था, स्नानगृह, शौचालयहरू निर्माण गर्ने बताउनुभयो ।

यस प्रकाशेश्वर मन्दिरमा नित्य बिहानी रुद्रिपाठ सहित पूजा, अर्चना, शिवभजन आदीका साथै महाभोग प्रसाद समेत वितरण गरिन्छ ।


Author
राजेश ढुंगाना

ढुंगाना गोरखापत्र संस्थानका पूर्व प्रमुख फोटो सम्पादक तथा हाल स्वतन्त्र फोटो पत्रकार हुनुहुन्छ ।