• ३० वैशाख २०८२, मङ्गलबार

गोरखापत्र समाचार प्रभाव

तीन वर्षपछि कारागारमा स्वास्थ्यकर्मी

blog

तम्घास समाचारदाता

तम्घास, साउन २० गते । तीन वर्षपछि जिल्ला कारागार कार्यालय गुल्मीले स्वास्थ्यकर्मी पाएको छ। गत असार २२ गते गोरखापत्र दैनिकमा ‘गुल्मीमा दरबन्दी, सिंहदरबारमा काम’ भन्ने शीर्षकमा समाचार प्रकाशन भएपछि स्वास्थ्यकर्मीको काज फिर्ता भएको छ। कारागारमा सिनियर अहेवको दरबन्दी भए पनि २०७७ जेठदेखि स्वास्थ्यकर्मी प्रकाशचन्द्र घिमिरे स्वास्थ्य मन्त्रालयमा काजमा रहनुभएको थियो। 

स्वास्थ्यकर्मी नहुँदा कैदीबन्दीलाई अस्पताल लैजान र ल्याउनका लागि सुरक्षाकर्मीको भर पर्नु परेको थियो। जिल्ला प्रशासन कार्यालय गुल्मीका सूचना अधिकारी हरिप्रसाद गैरेले गोरखापत्रमा समाचार प्रकाशन भएपश्चात् कडाइका साथ पत्राचार गरेर काजमा रहनुभएका स्वास्थ्यकर्मी फिर्ता आई साउन १६ देखि नियमित काममा रहेको बताउनुभयो।

पछिल्लो समयमा कारागारमा खानेपानी र भवनलगायतको समस्या मर्मतपछि सुधार भएको बताउँदै दीर्घकालीन रूपमा कारागारलाई सुधार गृहका रूपमा उचित व्यवस्थापन गर्ने गरी योजना बनाएर अगाडि बढ्ने गैरेले बताउनुभयो।

२०२४ सालमा स्थापना भएको (ङ) वर्गको कारागारमा २० पुरुष र पाँच महिलाको क्षमता रहे पनि अहिले एक सय दुई जना कैदीबन्दी रहेको निमित्त कार्यालय प्रमुख रेश्मीराज पन्थीले जानकारी दिनुभयो । 

कारागारमा पर्याप्त खेलमैदान, उचित बासस्थान र उद्यमी गर्नेका लागि उचित व्यवस्था नहुँदा समस्या भएको पन्थीको भनाइ छ। जिल्ला कारागार गुल्मीमा अधिकृत एक, सिनियर अहेव एक, नायब सुब्बा एक, खरिदार एक, सहायक लेखापाल एक, सहायक कम्प्युटर अपरेटर एक र कार्यालय सहयोगी चार जना गरी १० जनाको दरबन्दी रहेको छ।