सदाचार, निष्ठा, उच्च नैतिक चरित्र, असल आचरण र जवाफदेहिताबाट विमुख भई व्यक्तिगत स्वार्थपूर्तिका लागि सार्वजनिक पद, शक्ति र अधिकारको दुरुपयोग गर्नु भ्रष्टाचार हो । भ्रष्ट आचरण भ्रष्टाचार हो । नैतिक मूल्यमान्यता, आदर्श र सिद्धान्त विपरीत गरिने नकारात्मक व्यवहार भ्रष्टाचार हो । पतित आचरण, दूषित मर्यादा, नियम, कानुन विपरीत नैतिक पतन हुने काम गरी घुस खाई पक्षपातपूर्ण व्यवहार प्रदर्शन गर्नु भ्रष्टाचार (प्रज्ञा नेपाली बृहत् शब्दकोश) हो । सार्वजनिक क्षेत्रमा काम गर्ने पदाधिकारी र राजनीतिक वा सरकारी अधिकृतले आफूलाई सुम्पिएको अख्तियारी र शक्तिको दुरुपयोग गरी कुनै पनि व्यक्ति वा सम्बद्ध व्यक्तिको निजी फाइदाको लागि प्रयोग गर्ने व्यवहारलाई भ्रष्टाचार (ट्रान्सपरेन्सी इन्टरनेसनल) भनिन्छ ।
सार्वजनिक पदाधिकारीले आफ्नो पद, प्रतिष्ठा, ओहोदा, शक्ति, औकात र अधिकार सार्वजनिक सरोकारका क्रियाकलापमा नलगाई व्यक्तिगत वा निजी फाइदाका लागि प्रयोग गर्नु भ्रष्टाचारभित्र पर्छ । इमानदारी र नैतिकतालाई बेवास्ता गरी व्यक्तिगत स्वार्थपूर्ति गर्नु भ्रष्टाचार हो । मान्छेलाई सास फेर्ने जीवहरूमध्ये सबैभन्दा बुद्धिमान, मेहनती, विज्ञ, प्राज्ञको परिभाषाभित्र राखिएको छ । पद, शक्ति, औकात र मानवीय संवेदना मानिसले ग्रहण गरेको हुन्छ । सबैभन्दा असन्तोषी प्राणी पनि मानिस नै हो भन्नुमा हिच्किचाउनु पर्दैन ।
भौतिक सुखसयल, समृद्धि र शान्ति अरू कुनै जीवले खोज्छ भने त्यो पनि मान्छे नै हो । सार्वजनिक स्रोतसाधन दोहन गरी मातृभूमि नेपाल राज्यलाई कङ्गाल बनाएर आफ्ना सन्तान दरसन्ततिका लागि बचत गर्ने कुनै सास फेर्ने अभागी जीव छ भने त्यो तपाईं हामी हौँ भनेर किन गर्व नगर्ने ? कुकृत्य गरी २१ पुस्तासम्मका सन्तानका लागि सम्पत्ति जोहो गरेर राखिदिने पृथ्वीमा कुनै जीवित प्राणी छ भने त्यो पनि मानिसै हो । त्यसैले तपाईं हामीले नेपाल आमालाई निर्वस्त्र बनाएर धन सम्पत्ति सङ्कलन गर्नै प¥यो । सङ्कलन गर्छौं पनि । धनसम्पत्ति भएपछि घरपरिवार, इष्टमित्र, नातागोता सबै घनिष्ट हुनु अस्वाभाविक होइन । पछ्याउनेको कमी हुँदैन । सबैले देवीदेवता सरह व्यवहार प्रदर्शन गर्छन् । बिहानैदेखि घरमा भिडभाड लाग्छ । सबैले गुणगान गर्छन् । माग्नेले हात रित्तो फर्कनु पर्दैन । सबै खुसी र प्रसन्न हुन्छन् ।
पद, शक्ति र अधिकार नित्य धारण हुन नसकी एकदिन अवश्य क्षय हुन्छ । अति भएपछि मति बिग्रन्छ । विनाशकालमा विद्वान्को पनि बुद्धि विपरीत हुन्छ । तपाईं हाम्रो पद, शक्ति र अधिकार आफू अनुकूल नहुँदा दशाले घेर्न थाल्छ ।
हिजो मातृभूमि नेपाल राज्यलाई चुसेका पापका वर्षा, नागरिकलाई गैरनागरिक घोषणा गर्न आतुर मन, मिटरब्याजी पीडितका मलिन अनुहार, ललिता निवासलगायत विभिन्न जग्गा काण्डमा मतियार भई अकुत जग्गा जोड्ने देशद्रोही, राज्यको कोषमा गरिएको हालीमुहाली र निमुखा जनतालाई सताइएका काला बादल धारावाहिक चलचित्र झैँ देखा पर्छन् । त्यसपछि हामी कुम्भकर्ण निद्राबाट खुले झैँ झल्यास्स हुन्छौँ । हिजो मध्यरातसम्मसँगै मनोरञ्जनमा रमाएका परम मित्र पनि आज देखिँदैनन् । घरपरिवार, छोराछोरी, इष्टमित्र, नातागोता, छरछिमेक सबैले साइनु टुटेको अभिनय गर्छन् । त्यतिखेर सँगै जीउने सँगै मर्ने कसम खाएका पतिपत्नी पनि बिरानो भइसकेका हुन्छन् । त्यसपछि जीवनको अर्को मजाको अध्याय प्रारम्भ हुन्छ । कोही भेटघाटमा आउँदैनन्, कोही नजिक देखिँदैनन् । हिजोका प्रशंसक र भजन मण्डली समाजमा भिडभाड जम्मा गरेर कुरा काट्नका लागि तँछाड मछाडमा हुन्छन् ।
सदाचारयुक्त जीवन त्यागेर भ्रष्टाचारजन्य क्रियाकलाप गर्नु पाप हो । आर्थिक अनियमितता र भ्रष्टाचारजन्य क्रियाकलाप गरेर पछुताउनुभन्दा सदाचारयुक्त, आनन्द, सरल, सहज र सादा जीवन बिताउनु नै यस लोक र परलोकका लागि मोक्षको मार्ग हो । धर्म, धन र मातृभूमिमध्ये सबैभन्दा सर्वोच्चस्थानमा मातृभूमि हुन्छ । मुलुकलाई शिरोभागमा राखेर सार्वजनिक पदाधिकारीले आफ्नो जवाफदेहिता पूरा गर्नु पर्छ । आमनागरिकले खाई नखाई तिरेको करबाट तलब भत्तालगायत अन्य सेवा सुविधा उपभोग गर्ने, देश र जनतालाई धोका दिई अकुत सम्पत्ति कमाएर मोजमस्ती गर्ने तपाईं हामी सार्वजनिक पदधारक जेल नगए अरू को जान्छ त ?
सदाचार, निष्ठा तथा नैतिक चरित्र खस्कनु र भ्रष्टाचारजन्य गतिविधि वृद्धि हुनुमा सार्वजनिक पदाधिकारी मात्र दोषी होइन कि ? प्रश्न उठान गर्ने प्रशस्त मार्ग छन् । तपाईं उच्च, निर्णायक, सम्मानित र शक्तिशाली पदमा हुनुहुन्छ । समाजमा मोजमस्ती, असामान्य हाउभाउ र सुखसयलको जीवनयापन नगरेर सामान्य रूपमा व्यवहार चलाउनु भएको अवस्थामा तपार्इंले एक्लोपनको अनुभूति गर्नुपर्ने छ । धनसम्पत्ति जोड्न सक्नुभएन भने समाजले तपाईंलाई नामर्दको विशेषणद्वारा सम्बोधन गर्ने छ । सँगैको छिमेकी जग्गा दलाल गर्छ, गुण्डागर्दी गर्छ, मिटरब्याजी छ, नागरिकलाई अनागरिक बनाउन पछि पर्दैन, अनेकौँ अनैतिक र अपच क्रियाकलाप गर्छ, त्यस्तै छिमेकी सानो पदमा भए तापनि अकुत सम्पत्ति छ, करोडौँको सवारी साधन जोडेको छ, अपत्यारिलो विलासी गगनचुम्बी भवन निर्माण गरेको छ, असामान्य हाउभाउ र उच्चस्तरको जीवनयापन छ, झिसमिसेबाटै निवासमा उच्चपदस्थदेखि राजनीतिज्ञसम्मको भिडभाड देखिन्छ । समाजले उसैको सम्मान गर्छ प्रशंसा गर्छ र भजन गाउँछ ।
समाजमा प्रत्यक्ष देखिएको, भोगिएको, बेहोरिएको, सबैद्वारा अनुभव र अनुभूति गरिएको सत्य विषय ओकल्न किन आनाकानी गर्ने ? समाजले गन्यमान्यको कोटिमा राखेका व्यक्तिहरू विश्वका सबै विषयको ज्ञाता र सर्वज्ञ म हुँ भन्ने घमण्डका साथ रन्कीरन्की कुरा गरिरहेको बखत एक जना सज्जन प्राध्यापक डाक्टर साइकल चढेर गाउँघरको एउटा चिया पसलमा पुग्छन् । सामान्यबाहेक खासै कुराकानी हुँदैन र ती सदाचारी विद्वान् व्यक्तित्वलाई वास्ता पनि गरिन्न । अर्को शब्दमा अनौपचारिक रूपमा विषय समाप्त हुन्छ र प्राध्यापक हिँड्छन् । एक व्यक्ति मूल्यवान् कारमा सरर त्यस चिया पसलमा पुग्छ । त्यहाँ उसलाई भव्य स्वागत सत्कार गरिन्छ । हुन त उनी सानै पदका जागिरे कर्मचारी हुन् । मैले सानो पदको कर्मचारीको सम्मान नगर्ने भन्न खोजेको होइन । सम्मान गरिने व्यक्ति नैतिकवान् र सदाचारी हुनु पर्छ मात्र भन्न खोजेको हो । यी त प्रतिनिधि उदाहरणका पात्र मात्र हुन् । घरपरिवार, कुलकुटुम्ब, छरछिमेक र नेपाल राज्यभर यस्ता घटना परिघटना प्रत्यक्ष बेहोरिएका प्रशस्त उदाहरण छन् तपार्इं हाम्रासामु ।
सामाजिक सहमति, सहकार्य, एकता, सहयोग, सद्भाव र आत्मीयताभन्दा पनि सबैको मन धनसम्पत्तितर्फ आकर्षित भएको छ । हुन त विश्वब्रह्माण्डमा कसलाई धन चाहिँदैन र ? त्यसैले नै भनेको होला धन देख्दा महादेवका त्रिनेत्र । औकात हेरी सङ्कलित धनसम्पत्तिबाट आत्मिक शान्ति, सुख र समृद्धि प्राप्त हुन्छ । बेइमानी गरेर राष्ट्रलाई धोका दिएर भ्रष्टाचारजन्य कार्य गरेर सार्वजनिक पदाधिकारीले अथाह धनसम्पत्ति जोड्नु भनेको यस पृथ्वीबाट छिट्टै बिदा हुनु हो । लाखौँ नागरिकको मन जितेर भारी मतका साथ निर्वाचित प्रतिनिधि, विद्वता, विशेषज्ञता र प्राज्ञिक क्षमताको उच्चमूल्याङ्कन गरी विश्वासका साथ सरकारद्वारा मनोनीत पदाधिकारी र सरकारको नीति, ऐन, नियम र कार्यक्रम कार्यान्वयन गर्ने सार्वजनिक प्रशासन सञ्चालन गर्ने कर्मचारी सबै सरकारका दरिला खम्बा हुन् । सबै देश निर्माणमा जुट्नु पर्छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डज्यूको नेतृत्वमा मिति २०७९ पुस ११ गते सरकार गठन भएपश्चात् सोही दिन बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले देश र जनताको हितमा विभिन्न नीतिगत, प्रक्रियागत, संस्थागत र अन्य सुधारका क्षेत्रमा महत्वपूर्ण निर्णय गरेको थियो । मिति २०७९ चैत्र २३ गते संयुक्त सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रम घोषणा भएको थियो । घोषणामा सुशासन र सदाचारलाई महìवपूर्ण बुँदाको रूपमा राखिएको थियो । सुशासनयुक्त तथा भ्रष्टाचारमुक्त शासकीय व्यवस्था निर्माण गर्न इगभर्नेन्स ऐन यथाशीघ्र संसद्मा प्रस्तुत गरी पारित गर्ने । राज्यका सबै संयन्त्रलाई निष्पक्ष र जवाफदेही बनाउने । प्रशासकीय प्रणालीलाई कानुनी जटिलता र प्रक्रियागत भन्झटबाट मुक्त गर्न कार्यगत एकाइ प्रणालीमा ढाल्ने, समाजमा शान्ति सुव्यवस्था कायम गर्न अपराध र अराजकता नियन्त्रण तथा दण्डहीनताको अन्त्य गर्ने उल्लेख थियो ।
सार्वजनिक सेवा सरल, छिटोछरितो र झन्झटरहित गराउने, भ्रष्टाचार निर्मूल गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई स्रोतसाधनसम्पन्न गराउने, राष्ट्रिय सतर्कता केन्द्र र सार्वजनिक खरिद अनुगमन कार्यालयलाई परिणाममुखी र प्रभावकारी बनाउने, मिटरब्याजलाई दण्डनीय अपराध बनाई अधिकारसम्पन्न जाँचबुझ आयोग गठन र मिटरब्याज अपराध नियन्त्रण सिफारिस कार्यदलको प्रतिवेदन कार्यान्वयन गर्ने, सरकारी एवं सार्वजनिक विद्युतीय कारोबार प्रणाली एकीकृत गरी सुरक्षित सञ्चालन गर्नेलगायत सेवा प्रवाहको पहुँचलाई विद्युतीय सुशासन आयोगमार्फत कार्यप्रक्रिया अगाडि बढाउने घोषणामा उल्लेख थियो ।
वर्तमान संयुक्त सरकार गठनको छ महिना सफलतापूर्वक सम्पन्न भएको सुखद अवसरमा यस अवधिमा सरकारद्वारा हासिल गरेको प्रमुख उपलब्धि सरकारले आमनागरिकसमक्ष सार्वजनिकीकरण पनि गरिसकेको छ । भ्रष्टाचार नियन्त्रण र सदाचार प्रवर्धनका लागि उक्त समयावधिमा भएका उपलब्धिको विषयमा उल्लेख गरेको छ । सार्वजनिक प्रशासनलाई स्वच्छ, सक्षम, पारदर्शी, व्यावसायिक र जवाफदेही बनाउँदै भ्रष्टाचारलाई कडाइका साथ नियन्त्रण गर्न आवश्यक नीतिगत कानुनी तथा संस्थागत सुधारका विषयलाई अगाडि बढाइएको र भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीतिलाई राज्यका तीनै तहमा कडाइका साथ कार्यान्वयन गरिएको छ । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई विदेश पठाउने प्रकरणको निष्पक्ष र तथ्यपरक छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याइएको र थप अनुसन्धान भइरहेको उल्लेख गरिएको छ ।
मिटरब्याजी पीडितको समस्या समाधान गर्न मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनमा संशोधन भएर अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोग २०७९ गठन भई सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा उपलब्धि सार्वजनिकीकरणको अवधिसम्म कुल २३, ११८ दर्ता भएका उजुरीमाथि कारबाही भइरहेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कुल ११,३७३ उजुरी दर्ता भएकोमा अनुसन्धानबाट ९,३७४ उजुरी फस्र्योट र विभिन्न कसुरमा ७८ वटा मुद्दा दायर भई रु. एक अर्ब ११ करोड ५५ लाख बिगो दाबी गरिएको उल्लेख छ । यस अवधिमा विशेष अदालतबाट फैसला भएका ८० वटा मुद्दामा सर्वोच्च अदालतमा पुनरावेदन गरिएको छ । अख्तियारबाट सञ्चालित रङ्गेहात कारबाहीमा २९ व्यक्ति पक्राउ परेका छन् ।
त्यसै गरी राष्ट्रिय सतर्कता केन्द्रबाट २९५ उजुरी फस्र्याेट भएको, २२४ वटा सरकारी कार्यालयको अनुगमन गरी १,१५० कर्मचारी कारबाहीको सिफारिसमा परेको र २२४ कार्यालयको नागरिक बडापत्रको कार्यान्वयन अवस्था अनुगमन गरिएको उल्लेख छ । राष्ट्रिय सतर्कता केन्द्रबाट राष्ट्रिय महत्वलगायत ६७ वटा आयोजनाको प्राविधिक परीक्षण गरिएकोमा ४४ वटाको अन्तिम प्राविधिक परीक्षण प्राप्त भएको छ ।
नेपाल राज्यको तेस्रो पटक प्रधानमन्त्री हुनुभएका प्रचण्डद्वारा देशमा दिगो शान्ति, सुशासन, सदाचार, पारदर्शिता, विकास, समृद्धि, संविधान कार्यान्वयनलगायत विषयलाई केन्द्रमा राखेर अभिव्यक्त गर्नुभएको प्रतिबद्धता साँच्चै आमनागरिकले अनुभूति गर्न थालेको प्रतीत हुन्छ । वर्तमान भ्रष्टाचाररूपी फोहोरको डङ्गुर सफा गरेर देश निर्माणको अभियानमा सरकार अनवरत रूपमा लागिरहेको छ । सदाचारयुक्त र भ्रष्टाचारमुक्त समाज निर्माणका परिकल्पनाकार प्रधानमन्त्रीको एकोहोरो एकसूत्रीय सत्सङ्कल्पको महायज्ञमा आमनेपाली जनताको साथ, सहयोग र समर्थन आवश्यक पर्छ । इतिहासमा लेखिने र आउने पुस्ताले सम्झने ऐतिहासिक काम गर्ने प्रधानमन्त्रीको अठोटमा तपाईं हामीले होस्टेमा हैसे मात्र गर्न सके पनि असत्यबाट सत्यतिर अन्धकारबाट उज्यालोतर्फको मार्ग समात्न सकिनेमा द्विविधा रहन्न ।
अख्तियारको संस्थागत सुदृढीकरण गर्न र भ्रष्टाचार नियन्त्रणका लागि अवलम्बन गर्दै आएको निरोधात्मक, प्रवर्धनात्मक र उपचारात्मक विधि अझ बढी प्रभावकारी र सशक्त बनाउन तयार गरेको संस्थागत रणनीतिक योजना (आर्थिक वर्ष २०७६।७७– २०८१।८१) सफल तुल्याउन प्रधानमन्त्रीको जोड रहेको छ । शान्ति, समृद्धि र विकासको अवरोधकको रूपमा रहेको भ्रष्टाचार न्यूनीकरण, भ्रष्टाचारजन्य कार्यको पहिचान, अनुसन्धान र अभियोजन प्रभावकारी बनाउनु सबैको साझा जिम्मेवारी र कर्तव्य हो ।