• ११ मंसिर २०८१, मङ्गलबार

विश्व आदिवासी दिवस साताव्यापी मनाइने

blog

पत्रकार सम्मेलनमा साताव्यापी कार्यक्रम सार्वजनिक गर्दै नेपाल आदिवासी जनजाति महासंघका पदाधिकारी । तस्बिरः केशब गुरुङ

काठमाडौं, साउन १९ गते। २९ औं विश्व आदिवासी जनजाति दिवस साताव्यापी विविध कार्यक्रम गरेर मनाइने भएको छ। नेपाल आदिवासी जनजाति पत्रकार महासंघले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी विविध सांस्कृतिक तथा वैचारिक कार्यक्रमको आयोजना गरी मनाउने जानकारी गराएको हो।

नेफिनका महासचिव दिवश राईले महासंघले यस वर्ष ‘पहिचान र अधिकार सुनिश्चितताको लागि आदिवासी जनजाति आन्दोलनमा सहभागी बनौं, परम्परागत ज्ञान सिपको प्रवर्द्धन गर्दै पुर्ख्यौली भूमि, भाषा र संस्कृतिको संरक्षण गरौं’ भन्ने राष्ट्रिय मूल नारा तय गरिएको जानकारी दिनुभयो।

यस वर्ष संयुक्त राष्ट्र संघले २९ औं विश्व आदिवासी दिवसको सन्दर्भमा ‘आत्मनिर्णयका लागि परिवर्तनका संवाहक आदिवासी युवा’ भन्ने अन्तर्राष्ट्रिय मूल नारा तय गरेको छ। नेफिनले नेपालका आदिवासी जनजाति सम्बद्ध संघसंस्थासँगको समन्वयमा राष्ट्रिय नारा तय गरेको महासचिव राईले जानकारी दिनुभयो। 

महासंघले साउन २४ गते बुधबारका दिन कमलादीस्थित नेपाल प्रज्ञा भवनको सभा हलमा मूल समारोहको आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो। मूल समारोह प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्य तथा पहिचानको आवाज उठाउने नेपाल सरकारका मन्त्रीको उपस्थिति रहने  छ।

पत्रकार सम्मेलनमा बोल्दै नेपाल आदिवासी जनजाति महासंघका संघीय अध्यक्ष गेल्जे लामा शेर्पाले आदिवासी जनजातिको प्रथाजनित मान्यतामाथि विभिन्न व्यक्तिले लोकप्रियताको नाममा सामाजिक सञ्जाल तथा मिडियामा आदिवासी जनजातिको मान्यता र विश्वासमाथि ठेस पुग्ने काम गरेको भन्दै खेद प्रकट गर्नुभयो। 

मूल समारोहमा नेपालका आदिवासी जनजातिहरूका मातृभाषा र लोक भाकामा बनेका गीतहरू, सांस्कृतिक झाँकीहरू, स्थानीय र रैथाने प्रकृतिका आदिवासी जनजातीय कलाकृति सहितका प्रदर्शनी, विभिन्न जातीय भेषभुषा सहित साउन २४ गते बिहान ११ बजे भृकुटीमण्डप प्रदर्शनी मार्गदेखि प्रज्ञा भवन कमलादीसम्म सांस्कृतिक झाँकीसहितको र्‍याली हुने महासंघले जनाएको छ। भृकुटीमण्डपबाट भद्रकाली, सुन्धारा, जमल, घण्टाघर भएर नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीको सभा हलमा प्रवेश गरी र्‍याली मूल समारोहमा परिणत हुनेछ।

मूल समारोहका सन्दर्भमा प्रज्ञा भवनको पछाडितिर रहेको खुल्ला बगैँचामा आदिवासी जनजातिहरूको विभिन्न मौलिक खानपिनको प्रदर्शनी तथा बिक्री वितरण स्टल राखिने छ।

दिवसको सन्दर्भमा महासंघसँग आबद्ध विभिन्न जातीय संस्था तथा सम्बद्ध संगठनले विविध कार्यक्रम गरिने छ। साताव्यापी कार्यक्रम अन्तर्गत तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् र सुनुवार सेवा समाज, केन्द्रीय कार्यसमितिले  शुक्रबार नै कार्यक्रम सम्पन्न गरेका छन्।