• ३ जेठ २०८२, शनिबार

महिला ३५ प्रतिशत पुर्‍याउन २२ केन्द्रीय सदस्य थप

माओवादी केन्द्रीय समिति सदस्यको संख्या ४०७ पुग्यो

blog

नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठकमा सहभागी पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत । तस्बिरः प्रदीपराज वन्त

काठमाडौं, साउन १९ गते । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको बैठकले २२ महिला केन्द्रीय सदस्य थप गरेको छ । माओवादी केन्द्रका सचिव डोरप्रसाद उपाध्याय ‘निर्मल’ ले माओवादीको पार्टी विधानमा ३५ प्रतिशत महिला सहभागीता पुर्‍याउनुपर्ने बाध्यता भएकोले महिला सदस्य थप गरिएको जानकारी दिनुभयो । योसँगै माओवादी केन्द्रको केन्द्रीय सदस्यको संख्या ४०७ पुगेको छ । उहाँले बैठकमा राजनीतिक विचार, आगामी लक्ष्य एवम् कार्यक्रमदेखि कार्यशैलीलाई सचेत बनाउनुपर्ने विषयमा कुरा उठेको बताउनुभयो । 

उहाँले भन्नुभयो, “हामी तीन दिनदेखि बैठकको क्रममा छौं । हिजोसम्म ७४ जनाले आफ्नो धारणा राख्नुभयो आज करिब करिब सयको संख्यामा पुग्छ । साथीहरुले एउटा अबको विचार राजनीतिक, लक्ष्य र बाटो के हो ? कसरी अगाडि बढ्ने भन्ने कुरा जोड गरेर राख्नुभएको छ । कार्यशैलीलाई सचेत बनाउने हिसाबले केही मान्छेलाई जिम्मेवारी असाध्यै बढी छ, केही मान्छे धेरै नै बेरोजगार भएको अवस्था छ । यो समस्याको समाधान बैठकले गर्नुपर्छ ।”

उहाँले बैठकलाई अझ बढी जनवादीकरण गर्ने, सबैको राय बुझेर आगामी कार्यक्रम र कार्यदिशाबारे राजनीतिक प्रतिवेदनमा पूर्ण गर्न सकियोस् भन्ने हिसाबमा छलफल भएको बताउनुभयो । 

शुक्रबारको बैठकमा ६५ जना केन्द्रीय सदस्यले धारणा राख्नुभएको जानकारी दिनुभयो । साउन १७ गतेदेखि सुरु भएको बैठकमा शुक्रबारसम्म १३९ जना केन्द्रीय सदस्यले धारणा राख्नेक्रम सकिएको छ । माओवादी केन्द्रीय समितिको बैठक शनिबार बिहान ११ बजे कमलादीस्थित प्रज्ञा भवनमा पुनः बस्ने छ ।

यो पनि पढ्नुहोस

माओवादी केन्द्रको बैठक : ७४ जनाले धारणा राख्नेक्रम सकियो