• १७ असार २०८१, सोमबार

आँखा पाक्ने रोगले विद्यालय बन्द गर्ने निर्णय

blog

भद्रपुर नगरपालिकाको कार्यालय ।

लीलाराज खड्का

बिर्तामोड, साउन १९ गते । झापामा आँखा पाक्ने रोग फैलिएसँगै उपचारका लागि  अस्पतालमा भीड लागेको छ ।  आँखा पाक्ने रोगका कारण बिर्तामोड र भद्रपुर नगरपालिकाका विद्यालय सोमवारसम्म बन्द गर्ने निर्णय गरिएको नगरपालिकाले जनाएको छ । 

आँखा पाक्ने रोगको संक्रमण फैलिएसँगै नगरक्षेत्रका सबै संस्थागत विद्यालय बन्द गरिएको भद्रपुर  नगर शिक्षा शाखाले जनाएको छ । आँखा पाक्ने रोग विद्यार्थीमा फैलिएको भन्दै संस्थागत विद्यालयका प्रधानाध्यापकहरुले बिहीबार नगरपालिकासँग बैठकबसी सोमवारसम्म बिदा दिने निर्णय गरेको छ ।  

आँखा पाक्ने सङ्क्रमणबाट धेरै विद्यार्थी सङ्क्रमित भएपछि बिर्तामोड नगरक्षेत्रका विद्यालय आइतवार र सोमवार बन्द गर्ने नगरपालिकाले निर्णय गरेको जनाएको छ । सङ्क्रमण नभएका विद्यालयहरुको लागि बिदा गर्नैपर्ने बाध्यता नराखिएको शिक्षा शाखाका अधिकृत केशर खवासले बताउनुभयो । 

आँखा पाक्ने समस्या भएपछि संस्थागत विद्यालयका तर्फबाट नगर प्याव्सनले नगरपालिकासँग दुई दिन विद्यालय बन्द गर्न माग गरेको थियो । आँखा पाक्ने रोगका कारण बिर्तामोडका केही विद्यालयले आजदेखि नै पठनपाठन बन्द गरेका छन् । 

केहिदिनदेखि आँखा पाक्ने रोगका कारण झापाका अस्पतालमा आँखा पाकेका बिरामीको भीड बढेको स्थानीय अस्पतालले जनाएका छ । मेचीनगर, बिर्तामोड, भद्रपुर र दमक क्षेत्रका आँखा अस्पतालमा आँखा पाकेर उपचारका लागि आउने बिरामीको सङ्ख्या अत्यधिक छ । एउटै घरका धेरै व्यक्ति यो रोगबाट सङ्क्रमित भएको पाइएको छ ।

मेची आँखा अस्पताल बिर्तामोडका नेत्र सहायक पुष्प अधिकारीले दैनिक पाँच सय जति बिरामी आँखा पाकेको समस्या लिएर आउनेगरेको बताउनुभयो । बिर्तामोड आँखा अस्पतालका नेत्र सहायक विनोद दाहालले आफ्नो अस्पतालमा दैनिक आउने ६ सय बिरामीमध्ये तीनसय बिरामी आँखा पाक्ने समस्या लिएर उपचारका लागि धाउने गरेको बताउनुभयो ।