• १२ मंसिर २०८१, बुधबार

वैदेशिक अध्ययन व्यवस्थापन

blog

विश्वव्यापीकरणको बढ्दो व्यापारले शैक्षिक जगत्लाई समेत निकै प्रभाव पारेको छ । एसइई सकेपछि प्लस टु पढ्दापढ्दैको समयमा धेरै विद्यार्थीले भर्चुअल जगत्मा आफूले पढ्न चाहेको वैदेशिक कलेज हेर्न सक्छन् । स्वदेशमा आफ्नो भविष्य खोज्नभन्दा विदेशमा कलेज रोज्न हतारिन्छन् । देशका उच्च बौद्धिक क्षमताका विद्यार्थी बर्सेनि बढ्दो सङ्ख्यामा विदेश जानेमध्ये स्थायी रूपमा नेपाल फर्कनेहरू निकै कम छन् । यसलाई ब्रेनड्रेनका रूपमा लिन सकिन्छ । हरेक वर्ष हाम्रा कलेजमा भर्ना हुने विद्यार्थी सङ्ख्या घट्नुका कारणमध्ये यो पनि एक हो । 

बर्सेनि हजारौँ विद्यार्थी अध्ययनका लागि बाहिँरिदा देशको प्रमुख श्रमशक्ति र सम्पत्ति दुवै बाहिरिएको छ । सन्तानको सन्तापमा हरेक बाबुआमाका मुहारमा डर, त्रास र चिन्ता छ । मुखले आफ्ना छोराछोरी विदेशमा छन् भनिरहँदा मनभित्रभित्रै सन्तान बाहिरिनुको पीडा पाकेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वैदेशिक अध्ययन अनुमति शाखाको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७९/८० मा झन्डै एक लाख १३ हजार जनाले विदेशमा अध्ययन गर्न जाने अनुमति (एनओसी) लिएका छन् । जसमा वैदेशिक अध्ययन गर्न जाने प्रमुख देशहरू अस्ट्रेलिया, जापान, अमेरिका, क्यानडा, बेलायत हुँदै लगभग चौसट्ठीभन्दा बढी देश रहेका छन् । नेपाल राष्ट्र बैङ्कका अनुसार आव २०७९/८० मा वैदेशिक अध्ययनमा झन्डै ६० अर्ब रुपियाँभन्दा बढी रकम बाहिरिएको छ । 

उच्च शिक्षा अध्ययनका लागि विदेशमा जानु आफैँमा नराम्रो होइन । आजको फराकिलो विश्व बजारमा नयाँ–नयाँ शिक्षा, प्रविधि सिक्नु आफैँमा राम्रो काम हो । वर्तमान अवस्थामा प्रमुख समस्या भनेको हामी लगानी गर्ने समयमा स्वदेशमा बस्ने, परिवारमा बस्ने गर्छौं । जब त्यसको प्रतिफल आउने बेलामा विदेशमा रहने तितो वास्तविकता विद्यमान रहेको छ । जब स्वदेशले गरेको लगानीको प्रतिफल स्वदेशले पाउँदैन, तब समाज, घरपरिवारलाई मात्र नभई समग्र मुलुकमा नै नकारात्मक असर पर्छ ।

आज पहिलाको तुलनामा हरेक गाउँ–गाउँमा केही मात्रामा भए पनि विकास पुगेको छ । बाटोघाटो, बिजुली, पानी, इन्टरनेट छ तर ती सुविधा प्रयोग गर्ने नागरिक बाहिरिएका छन्, कोही अध्ययनका लागि त कोही रोजगारीका लागि । गाउँका बस्ती उजाडिएका छन् । हाम्रै पालामा उब्जनी हुने जमिनसमेत सबै बाँझिएका छन्, झाडी वा वन बनेका छन् र बाँदरको सङ्ख्यामा व्यापक वृद्धि भएको छ । बाँकी रहेका एकाध बस्तीमा समेत परिवारमा वृद्ध आमा, बुवा मात्र एक्लै पर्नु भएको छ । यसले पारिवारिक माया, ममताको विछोड बनाएको छ । जसको असर नेपालमा र विदेश गएकामा समेत परी आत्महत्याका घटना बढेका छन् । 

हाम्रो शिक्षा प्रणाली व्यावसायिक हुनु पर्छ । शिक्षा आर्जन गरेपछि शैक्षिक प्रमाणपत्रको साथमा रोजगार पाउने, श्रम गर्ने सिप र क्षमतासमेत विकास हुनु जरुरी छ । बजारभरि शैक्षिक डिग्री लिएका बेरोजगारको भिड छ । हाम्रोमा मानव पुँजीलाई बेवास्ता गरिन्छ । अध्ययन तथा अनुसन्धानमा कम ध्यान दिइन्छ । मानव स्रोतको प्रक्षेपण नै छैन । विश्वविद्यालय रोजगारी सिर्जना गर्ने सिप दिने उद्योग हुनुपर्नेमा बेरोजगार उत्पादन गर्ने कारखाना जस्ता भएका छन् । मुलुकको समग्र शिक्षा प्रणाली कमजोर हुनु बहुआयामिक समस्या हो । राज्य संयन्त्रका एउटा मात्र पात्र असल भएर सुधार आउँदैन । यसका लागि सबैको आपसी सहकार्य, साझेदारी र सह–लगानीको जरुरी छ । 

बर्सेनि वैदेशिक अध्ययनमा जाने विद्यार्थीमा विविध समस्या रहेका छन् । स्वदेशमा अध्ययन गरेकै समयमा समेत बहुपक्षीय समस्या झेलेका विद्यार्थीमा वैदेशिक अध्ययनमा झन् नयाँ प्रकारका समस्या थपिन्छन् । विदेशका भाषा र संस्कृतिमा फरक छ । त्यहाँको नियम–कानुन बुझ्न केही समय लाग्दछ । शैक्षिक संस्था सोचेभन्दा फरक हुन सक्छन् । 

आफ्नो आर्थिक अवस्थाले निम्त्याउने समस्या छँदै छन् । वैदेशिक अध्ययनका लागि खोलेका परामर्शदाता कम्पनी सेवामूलकभन्दा नाफामूलक बढी छन् । सबै समस्यासँग जुध्ने, भिड्ने, भोग्ने भनेको स्वयं विद्यार्थीले नै हो । 

आजको युग विश्वव्यापीकरणको युग हो । यो समयमा मानव स्रोतलाई पुँजीका रूप्मा लिने हो भने जहाँ लगानी हुन्छ, त्यहाँ स्थानान्तरण हुनु स्वाभाविक हो । त्यसैले आजको आवश्यकता भनेको वैदेशिक अध्ययनका लागि बाहिरिने रकम कम गर्नका लागि हाम्रो शिक्षामा, हाम्रा विश्वविद्यालयमा लगानी बढाउन सक्नु पर्छ । यसको लागि एकल प्रयासले हुँदैन । सबैको संयुक्त प्रयास हुनु पर्छ । विश्वविद्यालयलाई सम्पूर्ण रूपमा स्रोतसाधनले सबल र सक्षम बनाउनु पर्छ । शैक्षिक संस्थालाई विशुद्ध व्यावसायिक शिक्षा प्रदान गर्ने बनाउनु पर्छ ।

शिक्षामा गरिएको लगानीले नतिजा दिन सक्नु पर्छ । एक त हाम्रो विश्वविद्यालयको शिक्षालाई पार्ट टाइम बनाउनु पर्छ । जसले गर्दा विद्यार्थीले रोजगारीका लागि समय छुट्याउन सकून् । दोस्रो, विश्वविद्यालयमा विषयगत कोटा लागु गर्नु जरुरी छ । यसो गर्न सकेमा मानव पुँजीको अध्ययन तथा अनुसन्धान गर्न सजिलो हुन्छ । तेस्रो, विद्यार्थीलाई आवश्यकता अनुसार ऋण, छात्रवृत्ति, स्वरोजगारलगायतका कार्यक्रम ल्याउने । यसो गर्नाले स्वदेशमा नै विद्यार्थी रहनबस्न सक्ने वातावरण सिर्जना र निर्माण हुन्छ । 

आज बर्सेनि हजारौँ विद्यार्थी अध्ययनका लागि बाहिरिँदा न त परिवार खुसी छन् न त देश । आफ्ना मुटुका टुक्रा जस्ता सन्तानलाई सानो उमेरमा पढ्नकै लागि विदेश पठाउँदा हरेक परिवारमा खुसी रित्तिएको छ एकातिर भने अर्कोतिर जल्दोबल्दो अवस्थामा रहेको मानव पुँजीलाई विदेश पठाउँदा समग्र मुलुकलाई व्यापक घाटा छ । स्वदेशमा नै प्रचुर मात्रामा उद्योग, कलकारखाना निर्माण गरी त्यसको उत्पादन निर्यात गर्ने बेलामा होनाहार विद्यार्थी नै निर्यात गर्नुपर्ने वर्तमान अवस्थाको मूल्याङ्कन हुनु जरुरी छ । 

शिक्षामा गरिने लगानी महत्वपूर्ण लगानी हो । यो लगानीले मानव पुँजी निर्माण गर्न सक्नु पर्छ । स्वदेशमा निर्माण भएको मानव पुँजी स्वदेशमा नै रम्ने र जम्ने वातावरण सिर्जना गर्नु/गराउनु सरोकारवाला सबैको साझा दायित्व हो । विश्वबजारको ज्ञान आर्जन गर्नु हरेक विद्यार्थीको नैसर्गिक अधिकार हो तर सो आर्जन गरेको ज्ञानलाई स्वदेशमा नै लगानी गर्ने वातावरण निर्माण गर्नु राज्यको दायित्व हो । सरकारको प्रमुख चुनौती हो । 

गरेमा हरेक कुरा सम्भव हुन्छ । वास्तविक हुन्छ । हामीकहाँ काम केही नगर्ने, कुरा ठुला गर्ने प्रवृत्ति व्यापक छ । उच्च राजनीतिक संस्कारको अभाव छ । शिक्षा र राजनीतिमा दीर्घकालीन सुधार गर्नु आजको आवश्यकता हो । क्षेत्रफलको हिसाबले हाम्रो मुलुक सानो छ । प्राकृतिक स्रोतसाधनले भरिपूर्ण छ । जनसाङ्खिक हिसाबले पनि निकै राम्रो छ । हाम्रोमा कमी भनेको उच्च राजनीतिक संस्कारको हो । केही गर्न सक्छौँ भन्ने आत्मविश्वासको कमी हो । काम गर्ने संस्कारकोे कमी हो । उचित सोच, विचार र पद्धतिमा कमजोरी छ । यसका लागि सबैमा आफूले देशका लागि केही गर्छु भन्ने भावना हुन जरुरी छ । 

शिक्षामा लगानी बढाऔँ  । लगानी बढेपछि विश्वविद्यालयको गुणस्तर वृद्धि हुन्छ । अन्तर्राष्ट्रिय रूपमा मिल्ने गरी शैक्षिक सत्रको व्यवस्थापन गरौँ । हाम्रा शिक्षा प्रणालीले सबैलाई रोजगार दिन सक्ने व्यावसायिक बनाऔँ । शिक्षालाई राजनीतिक हस्तक्षेपबाट टाढा राखौँ । हाम्रा विश्वविद्यालयमा गरिएको लगानीबाट यस्तो नतिजा निकालौँ कि जसबाट प्रभावित भई अन्य देशका विद्यार्थी हाम्रा विश्वविद्यालयमा पढ्न आउने वातावरण सिर्जना होस् । हाम्रा विद्यार्थीको अध्ययनका लागि विदेश जाने सङ्ख्यामा कमी आओस् । गएका विद्यार्थी पनि आफ्नो अध्ययन सकेर, प्राप्त गरेको ज्ञान, सिप र क्षमतालाई स्वदेशमा फर्केर यहीँ प्रयोग गरून् । सिकेको ज्ञान, सिप, क्षमता, प्रविधि हाम्रा अनमोल हतियार हुन् । हाम्रा मानव पुँजीको उपयोग स्वदेशमा नै गर्नु÷गराउनु हामी सबैको साझा दायित्व हो ।    

Author

गायत्री लम्साल