• १२ मंसिर २०८१, बुधबार

पत्रकारितामा बाल अधिकार

blog

समाजमा संवेदनशील उमेर समूहमा बालबालिका पर्ने गर्छन् । सञ्चार माध्यम रेडियो, टेलिभिजन, पत्रपत्रिका, अनलाइनलगायतमा प्रकाशित/प्रसारित सामग्रीले कतै बाल संवेदनशीलता उल्लङ्घन त भएको छैन ? पछिल्लो समयमा फेसबुक, ट्विटर, टिकटक, इन्स्टाग्राम, इमोलगायतका सामाजिक सञ्जालमा बालबालिकालाई कसरी प्रस्तुत गरिएको छ ? हामीले अन्जानमै पनि बालबालिकाका विषयवस्तुलाई ध्यान दिइरहेका हुँदैनौँ । बालबालिकाको हितलाई ध्यानमा राखी उनीहरूको अधिकारको सम्मान हुने विषयलाई बाहिर ल्याउनु आवश्यक छ । 

बालबालिकासम्बन्धी ऐन, २०४८ मा कुनै पनि बालबालिकाको चरित्रमा आघात पर्ने किसिमको निजको व्यक्तिगत घटना, विवरण वा फोटो प्रकाशन, मुद्रण, प्रदर्शन गर्न नहुने उल्लेख छ । दफा १६ को ३ अनुसार बालबालिकाको गोप्य विवरण प्रयोगमा ल्याइएमा वा प्रकाशित गरेमा तीन हजार रुपियाँसम्म जरिबाना, तीन महिनासम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ । पत्रकारले उनीहरूका कुनै पनि सामग्री प्रकाशित वा प्रसारित गर्दा बालबालिकामा हानि नपुगोस् र थप पीडित नबनाओस् भनेर सचेत हुनु पर्छ । यसका लागि पत्रकार र सञ्चार माध्यम जिम्मेवार बन्नु पर्छ । 

बाल संवेदनशील पत्रकारिता के हो ? 

बाल संवेदनशील पत्रकारिता भनेको पत्रकारिताकै एउटा रूप हो । जसरी पत्रकारले अन्य विषयवस्तुमा कलम चलाउँछन्, त्यसरी नै बालबालिकाका विषयमा विषयवस्तु तयार पार्छन् । हामीले बालबालिकाका विषयवस्तुमा आधारित रहेर कलम त चलाउँदै आएका छौँ तर उनीहरूप्रति कत्तिको संवेदनशील छौँ ? यसले बालबालिकाको हित, चासो र अधिकारलाई प्रवर्धन गर्ने गर्छ । बालबालिकाका विषयमा समाचारले कम महìव पाएको त हुँदै हो, त्यसमाथि विषयवस्तु कुन ढङ्गमा प्रस्तुत गरिन्छ भन्ने महत्वपूर्ण हुन्छ । 

आजको समयमा सञ्चार माध्यममा मात्रै होइन, सामाजिक सञ्जालमा समेत बालबालिकाका विषयवस्तुलाई असंवेदनशील रूपमा प्रस्तुत गरिँदै आएको पाइन्छ । मूलधारका सञ्चार माध्यममा अति नै कम सङ्ख्यामा विषयवस्तुले महìव पाउने र पाइहाले पनि संवेदनशीलतामा ध्यान दिएको पाइँदैन । पछिल्लो समयमा टिकटक र युट्युब जस्ता सामाजिक सञ्जालले त उनीहरूको गोपनीयताको अधिकारलाई छताछुल्ल बनाएको छ । बलात्कार, हिंसा, कुटपिट, यातनाका विषयमा कलिला बालबालिकालाई असंवेदनशील ढङ्गले प्रश्न सोधिने गरिएको छ । जुन बाल अधिकारविरुद्धमा छ । समाचार दिने नाउँमा उनीहरूप्रति थप अन्याय र अत्याचार भइरहेको छ । तसर्थ उनीहरूप्रति संवेदनशील भई गरिने पत्रकारिता नै बाल संवेदनशील पत्रकारिता हो । बालबालिकाको गोपनीयताको सम्मान गर्दै विषयवस्तु प्रकाशन/प्रसारण गर्नु नै बाल संवेदनशील पत्रकारिता हो । 

संवेदनशील पत्रकारिता किन आवश्यक ?

हाम्रो समाजमा बालबालिकामाथि विविध प्रकारका घटना घट्ने गर्छन् । यौन दुव्र्यवहार, श्रमशोषण, गालीगलौज, कुटपिट, विभेदलगायत अनेक हिंसा हुने गर्छन् । समाजमा घट्ने यस्ता घटनाका समाचार बाहिर ल्याउनु पत्रकार वा सञ्चार माध्यमको दायित्व हो । उनीहरूका विषय नै प्रकाशन नगर्नु भनेको नागरिकलाई सूचनाबाट वञ्चित गर्नु हो । यो पत्रकारको धर्म होइन तर विषयवस्तु प्रस्तुत गर्ने भन्दैमा उनीहरूको संवेदनशीलतालाई ख्यालै नगर्नु पनि पत्रकारिताको धर्म र कर्म दुवै होइन । अप्ठेरो पर्ने सामग्री प्रकाशन/प्रसारण गर्नुपूर्व उनीहरूलाई झनै नकारात्मक असर नपरोस् भनेर ध्यानपूर्वक गरिने पत्रकारिताले बाल संवेदनशील पत्रकारितालाई प्रस्ट्याउँछ । 

बालबालिकालाई असर पार्ने सामग्री जताततै भेटिन्छन् । उनीहरूलाई प्रविधिबाट टाढा राख्नु पनि उचित हुँदैन । कोरोनापछि विद्यालय जाने लगभग विद्यार्थीको सञ्चार माध्यम र सामाजिक सञ्जालमा पहुँच छ । उनीहरू यसको कसरी प्रयोग गर्ने त भनेर राम्ररी जानकार छन् तर कस्ता सामग्रीमा पहुँच बनाइरहेका छन् भनेर ध्यान दिनु आवश्यक छ । विज्ञापन, टेलिशृङ्खला, रियालिटी सो, कार्टुन, बाल कार्यक्रम पनि प्रकाशन वा प्रसारण हुँदै आएका छन् । यी कार्यक्रम उत्पादन/प्रकाशन र प्रसारणमा बाल संवेदनशीलतालाई ख्याल गरिनु आवश्यक छ । यसमा प्रस्तुत भाषा र शैली महत्वपूर्ण हुन्छ । हामीले प्रयोग गर्ने भाषाले बालबालिकाको मनोविज्ञानमा गलत असर त पारिरहेको छैन ? यसतर्फ सजग हुन आवश्यक छ । 

पत्रकार आचारसंहिता, २०७३ को दफा ६ को बुँदा नं. १४ मा बालबालिकालाई तत्कालीन र दीर्घकालीन हानि हुने गरी समाचार सङ्कलन वा सम्प्रेषण गर्न नहुने उल्लेख छ । यसरी हेर्दा बालबालिकाको संवेदनशीलतालाई ख्याल गर्दै उनीहरूका विषयमा कलम चलाउनु नै बाल संवेदनशील पत्रकारिताको महìवभित्र पर्छ । समाचारका विभिन्न विषय हुन्छन् । बलात्कार, हत्या, हिंसा, शोषण, विभेदलाई विभिन्न कोणबाट प्रस्तुत गरिन्छ । यी कन्टेन्ट पनि बिकाउ ढङ्गमा आउने गरेका छन् । 

के गर्दा समाचारप्रतिको आकर्षण जगाउन सकिन्छ ? अनलाइन, टेलिभिजन, युट्युबमा त कति भ्युज चाहिएको हो ? त्यसैका आधारमा टाइटल र विषयवस्तु प्रस्तुत गरिन्छ । यसबाट बच्चाको मानसिक स्वास्थ्यमा कस्तो असर पर्छ ? यसबारेमा ध्यान दिइँदैन । श्रीमान्÷श्रीमतीका गोप्य संवाद पनि सामाजिक सञ्जालमा भेटिन्छन् । जसबाट बालबालिकालाई गलत छाप परिरहेको हुन्छ । मूलधारको पत्रकारिताको स्थान बिस्तारै युट्युब र सामाजिक सञ्जालले लिँदै छन् । यसमा आबद्ध सबै जिम्मेवार बन्नु आवश्यक छ । 

हत्या, हिंसा, बलात्कार, विभेद जस्ता विषयवस्तुमा समाचार बन्दै आएपछि बालश्रम, शिक्षा, स्वास्थ्य, पोषण जस्ता विषयवस्तुले अझै पनि प्राथमिकता पाएका छैनन् । इँटाभट्टा, होटल, कारखानालगायतका स्थानमा बालश्रमको प्रयोग भइरहेको छ । यससम्बन्धी समाचारले प्राथमिकता पाएको देखिँदैन । उनीहरूको स्वास्थ्यका विषयमा पनि समाचार खासै बन्दैनन् । बालबालिकाको स्वास्थ्यलाई केले असर पारिरहेको छ ? उद्योगधन्दा, कलकारखानाको वृद्धिसँगै फोक्सोजन्य रोगबाट उनीहरू पीडित हुँदै छन् । तसर्थ स्वस्थ वातावरणमा हुर्कन पाउनु उनीहरूको अधिकारको विषय हो । नेपाललगायत अन्य हाम्रा जस्ता कम विकसित मुलुकमा राम्रो पोषण नपाएका कारण लाखौँ बालबालिका कुपोषणको सिकार भइरहेका छन् । पोषणयुक्त खानेकुरा खान पाउनु बालबालिकाको अधिकार हो भनेर हामीले विषयवस्तुलाई प्राथमिकतामा राख्न सकेका छैनौँ । 

पत्रकार वा सञ्चार माध्यमले के गर्नु पर्छ ? 

बालबालिकाको बृहत्तर हितमा ध्यान दिँदै सञ्चार माध्यममा विषयवस्तु आउनु पर्छ । हामीले बालबालिकासम्बन्धी समाचार प्रकाशन÷प्रसारण गर्दा उनीहरूको बालमनोविज्ञानमा कस्तो असर पर्छ ? पहिले नै सोचविचार गर्नु पर्छ । कन्टेट पाइयो भन्दैमा जे पायो त्यही जसरी हिट हुन्छ त्यसरी समाचार बनाउनु हुँदैन । विशेषतः बलात्कारका घटनामा सञ्चार माध्यम अति नै असंवेदनशील रूपमा प्रस्तुत भएको हामी पाउँछौँ । साना नानीमाथि भएका जघन्य अपराधको विषयलाई प्रस्तुत गर्दा उनीहरूको नाम, ठेगाना खुलाउनु हुँदैन । 

हामीले त्यसरी प्रस्तुत गरिदिँदा उनीहरूमाथि थप जोखिम निम्तिन सक्छ । पीडितमाथि अरूले पनि गलत फाइदा उठाउन सक्छन् भने पीडकले घटना बाहिर आए आफ्नो इज्जत जाने डरले हत्यासम्म गर्न सक्ने खतरा हुन्छ । कानुनी दायरामा आएका पीडित बालबालिका समावेश भएका विषयमा रिपोर्टिङ सहज हुँदैन । बालबालिकाको वास्तविक नाम, थर, हुलिया, स्थान, अभिभावकको परिचय नखुल्ने गरी गोपनीयता कायम राख्नु पर्छ । बालबालिकाको फोटो प्रकाशन वा प्रसारण गर्नु हुँदैन । हामी आफैँ न्यायाधीश बनेर अनुसन्धानलाई प्रभाव पार्ने सूचना प्रकाशन/प्रसारण गर्नु हुँदैन । बरु अनुसन्धानमा सहयोगीको भूमिका निर्वाह गर्न सकिन्छ । 

पत्रकारिता पेसा आफैँमा संवेदनशील हुन्छ । आफ्नो पेसाप्रतिको नैतिकतालाई ख्याल गर्दै उनीहरूमाथि शोषण नहोस् वा हानि नहोस् र गोपनीयताको ख्याल गर्दै उनीहरूको सम्मानको सुनिश्चित गर्नु पर्छ । समाचारको स्रोतका लागि मनोदशा नबुझी मनलाग्दी प्रश्न सोध्नु हुँदैन । गलत समाचार प्रस्तुत हुने अभ्यास पनि भएकाले सत्यतथ्यमा आधारित हुनु पर्छ ता कि पीडित बालबालिकाले समाचार पढ्दा वा हेर्दा पत्रकारिता क्षेत्रप्रतिको गरिमा उनीहरूको नजरमा कायम रहोस् । 


बाल संवेदनशील रिपोर्टिङ कसरी गर्ने ? 

बालबालिका संवेदनशील हुन्छन् । उनीहरूलाई असर गर्ने होइन कि गोपानीयताको सम्मान गर्दै कसरी समाचार प्रकाशन/प्रसारण गर्ने भनेर पत्रकार वा आमसञ्चार माध्यम सजग हुनु आवश्यक छ । उपयुक्त भाषा र शब्दावलीको प्रयोग गर्नु पर्छ । रूढीवादी विचारधारा त्याग्नु पर्छ । उनीहरूको गोपनीयताको ख्याल गर्नु पर्छ । अन्तर्वार्ता लिनुअगाडि अभिभावकको मञ्जुरी लिनु पर्छ । उनीहरूको सुरक्षा र हितमा विचार गर्नु पर्छ । फोटोपत्रकारिता र मल्टीमिडियाको प्रयोगमा उनीहरूका अनुभवलाई प्रस्तुत गर्दा विशेष सजगता अपनाउनु पर्छ । भिडियोमा पनि पहिचान नखुल्ने गरी देखाउन सकिन्छ । 

बाल संवेदनशील पत्रकारिता आजको आवश्यकता हो । जे जस्ता अभ्यास भएका वा हुने गरेको भए पनि अबदेखि पत्रकार, सञ्चार माध्यम, समाज सबैको दायित्व भनेको बालबालिकाप्रति संवेदनशील हुनु हो । उनीहरूका विषयवस्तु आउँदा पत्रकारिता क्षेत्र, समाजलाई हेर्ने दृष्टिकोण सकारात्मक होस् । क्षमता, ज्ञानलाई अभिवृद्धि गर्ने खालका समाचारले स्थान पाऊन् । पोषण, स्वास्थ्य, हौसला दिने खालका विषयवस्तुमा ध्यान दिनु समयको माग हो । 

Author

कल्पना शर्मा