सिराज खान
नेपालगञ्ज, साउन १७ गते। कोभिड महामारीलगायत जटिल अवस्थामा पश्चिम नेपालकै सयौं बिरामीको सफल उपचार गर्न सफल बाँकेका चार जना वरिष्ठ चिकित्सकलाई सम्मान गरिएको छ।
सामाजिक क्षेत्रको अगुवा संस्था बाँके युनेस्को क्लबले आफ्नो ३४ औं वार्षिक साधारणसभाको अवसरमा बुधबार यहाँ आयोजित विशेष समारोहमा चार जना वरिष्ठ चिकित्सकलगायतलाई सम्मानित गरिएको हो।
सम्मानित हुनेमा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जका सह निर्देशक डा. रोमन किदवाई, नेपालगन्ज मेडिकल कलेजका सहायक निर्देशक डा. नितेषकुमार कनोडिया, मेडिकल कलेजका वरिष्ठ फिजिसियन डा. आसिम किदवाई र वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. सन्दीप गुरुङ रहनुभएको छ।
उहाँहरुलाई पूर्व मन्त्री तथा जसपाका नेता मोहम्मद ईश्तियाक राईले दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गर्नुभएको हो। सो अवसरमा बोल्दै पूर्वमन्त्री राईले परेको बेला देश र जनताका लागि विशेष योगदान गर्ने व्यक्तित्त्वलाई सम्मान गर्ने परम्पराले अरुलाई पनि प्रोत्साहित गर्ने हुँदा यस्ता कार्य निरन्तर जारी रहनु पर्ने बताउनुभयो।
साधारणसभामा क्लबका संस्थापक अध्यक्ष प्रवेज अलि सिद्दिकी र संस्थापक सल्लाहकार हरिवंश किरातलाई पनि सम्मान गरिएको थियो। सो अवसरमा राम्रो काम गर्ने विभिन्न कर्मचारी, सल्लाहकार तथा सहयोगीलाई पनि सम्मान गरिएको क्लबका अध्यक्ष रवि तुलाधरले बताउनुभयो।