गजेन्द्र गुरुङ
खजुरा, वैशाख २९ गते । बाँकेका सामुदायिक वनहरु जीविकोपार्जनको माध्यम बन्नुका साथै पछिल्लो समयमा गाउँठाउँको विकाससमेत अग्रसर हुँदै गएका छन् । स्थानीय उपभोक्ताहरुको हरेक समस्यामा साथ दिँदै आएका सामुदायिक वनहरु सामाजिक विकासका काममा समेत अग्रसर हुँदै गएका हुन् ।
जिल्लाको राप्तीसोनारी २ मदुईस्थित अशोक सामुदायिक वन उपभोक्ता समूहले समाजमा हुने हरेक विकास निकासका क्रियाकलापहरुमा आफ्नो साझेदारी गर्दै आएको छ । सामुदायिक वनका कारण स्थानीय उपभोक्ताहरुले सहज रुपमा जीविकोपार्जन गर्दैसमेत आएका छन् । २०५७ सालमा स्थापित यो सावउसले ३९३ हेक्टर वनक्षेत्र ओगटेको छ । समूहमा १३२ घरधुरी आबद्ध रहेका छन् ।
समूहले आफ्नै लगानीमा अहिले गाउँको मदुवा मदुई सडक निर्माण कार्यमा स्थानीय सरकारसँग हातेमालो गरेको छ । मदुवादेखि मदुई जोड्ने स्थानीय सरकारको सडक निर्माण कार्यमा समूहले हातेमालो गरेको हो । उक्त समूहले उक्त सडक खण्डको ६०० मिटरभन्दा सिमेन्टेड पक्की नाली निर्माण गरिरहेको छ ।
राप्तीसोनारी गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलले उक्त स्थानमा गाउँपालिकाको योजनाअन्तर्गत १७ सय मिटर सडकलाई कालोपत्रे गर्ने कार्य गरिरहेको बताउनुभयो । उहाँले स्थानीय अशोक सामुदायिक वनले सडक किनारामा पक्की नाली निर्माणको काममा सघाउ गरिरहेको जानकारी दिनुभयो ।
“राप्तीसोनारी २ स्थित मुदवादेखि मदुईसम्म सडक निर्माणको कार्य (कालोपत्रे) गरिरहेका छौँ, ठेकेदार कम्पनीले भ्याटसहित ८७ लाख ७० हजार ४६४ रुपियाँ लागतमा टेण्डर पारेर सडक निर्माणको काम गर्दैछ, स्थानीय सामुदायिक वनले हामीलाई विकासको काममा हातेमालो गरिरहेको छ ।,” अध्यक्ष पौडेलले भन्नुभयो, “उक्त सामुदायिक वनले सडकको किनारामा ६०० मिटर सिमेन्टेड पक्की नाली निर्माण गरिरहेको छ, सबै कुराहरु स्थानीय सरकारले पु¥याउन सक्दैन, यस्तो अवस्थामा सामुदायिक वनले हातेमालो गर्नु अत्यन्तै खुसीको कुरा हो, सन्देशमूलक पनि छ, सरकारमात्र नभएर सबै संघसंस्थाहरु विकासका काममा एक हुनुपर्छ भन्ने सकारात्मक सन्देश दिएको छ र सबैले साथ र सहयोग दिन जरुरी छ ।”
सामुदायिक वनका कोषाध्यक्ष मीनबहादुर सेजुवालले समूहले पहिलेदेखिनै सामािजक कार्यमा हातेमालो गर्दै आएको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले समूहका सदस्यहरुका लागि स्वरोजगारी बनाउने, तालिम दिने, आयआर्जनसँग जोड्ने लगायतका कामहरु पहिलेदेखिनै गर्दै आएका छौँ, अहिले स्थानीय सरकारले गर्न थालेको विकासको काममा सक्दो सहयोग गरेर हातेमालो गरेका छौँ, हाम्रो ठाउँमा हुने विकास हाम्रै लागि हो ।”
उहाँका अनुसार समूहले भ्याट बाहेक १६ लाख ७० हजारको लागत स्टिमेटमा करिब ६०० मिटर पक्की नाली निर्माण कार्य गरिरहेको छ । समूहमार्फत् निर्माण समिति गठन गरी सोही समितिले नाली निर्माणको काम गरिरहेको उहाँले बताउनुभयो ।
समूहका अध्यक्ष भगानुसिंह थारुले गाउँमा विद्युतीकरण गर्दा समूहले २० प्रतिशत लगानी गरेको, सिँचाइका लागि मोटर तथा पाइप खरिद र मकैको बिउ खरिदमा कूल लागतको ५० प्रतिशत अनुदान रकम उपभोक्तालाई उपलब्ध गराउँदै आएको, गाउँमा सडक बत्ती हाल्ने काम समूहले आफैँ गरेको, ग्रामीण सडकहरु बिग्रे भत्केमा मर्मत सम्भार गर्नेदेखि उपभोक्ता तथा परिवारका सदस्यहरु बिरामी हुँदा उपचारका लागि सहयोग गर्दै आएको लगायतका सामाजिक कार्यहरु गरिरहेका बताउनुभयो ।
समूहले स्थानीय दुई जना स्वयंसेविकालाई वार्षिक पाँच हजारका दरले प्रोत्साहन रकम दिने गरेको, गर्भवती आमाहरुलाई शिशु स्याहार कार्यक्रमअन्तर्गत पोसिलो खानेकुरा तथा आवश्यक सामग्रीदेखि लिएर बच्चालाई न्यानो कपडा प्रदान गर्दै आएको, उपभोक्तालाई जीविकोपार्जन तथा स्वरोजगार बनाउनका लागि विभिन्न आयआर्जन कार्यक्रम सञ्चालन गर्दै आएको उहाँले बताउनुभयो ।
त्यसैगरी, समूहले उपभोक्ताले कुनै सानोतिनो व्यापार व्यवसाय गर्न चाहेमा एक लाख रुपियाँ बिना ब्याज सापटी रकम दिने गरेको छ । जसका कारण कतिपय उपभोक्ताहरुलाई स्वरोजगार बन्न र जीवनयापन गर्न सहज हुँदै आएको छ । सामूहिक हितका लागि वनको संरक्षण, संवद्र्धन तथा सदुपयोग गर्दै आएको उक्त समूहले हरेक वर्ष खाली वनक्षेत्रमा बिरुवा लगाउनुका साथै वनक्षेत्र र बस्ती क्षेत्रबिच तारबार लगाउने काम गर्दै आएको छ । जसले गर्दा वन्यजन्तु र मानवबिच हुने सम्भावित द्वन्द्वलाई न्यूनीकरण गरेको छ । यो समूह समाजमा असल काम गर्दै उदाहरणीय बनेको छ ।