• २१ वैशाख २०८१, शुक्रबार

राज्य पक्षबाटै मानवअधिकार उल्लङ्घन

blog

पुरस्कार वितरण समारोहमा बोल्नुहुँदै मानवअधिकार आयोगका सदस्य मिहिर ठाकुर लगायत । तस्बिर: ललिता साह

ललिता साह

वोदेवर्साइन (सप्तरी), साउन १७ गते । सप्तरीमा मानवअधिकार र कानुनको संरक्षणको महत्त्वपूर्ण जिम्मेवारी निर्वाह गर्ने पक्ष प्रहरीबाटै पत्रकार कुट्नु जस्ता मानव अधिकार उल्लङ्घन हुनु दुर्भाग्य रहेको र यसले राज्य पक्षबाटै उलङ्घनका घटना बढ्दै गएको मानवअधिकार आयोगका सदस्य मिहिर ठाकुरले बताउनुभएको छ। 

राजविराजमा एक पुरस्कार वितरण समारोहमा बोल्नुहुँदै आयोगका सदस्य ठाकुरले यस्तो बताउनुभएको हो । मधेसका जिल्लाहरूमा पछिल्लो समय प्रहरी हिरासतमै नागरिकको मृत्यु , उनीहरू माथि विभिन्न प्रकारका यातना तथा पीडितप्रति प्रहरी प्रशासनको दुर्व्यवहारपूर्ण घटनाले राज्य पक्षबाटै मानव अधिकार उल्लङ्घनको घटनामा बढोत्तरी भएको उहाँले तर्क गर्नुभयो ।  

सोमवार सप्तरीमा वैध प्रकाश मानव अधिकार तथा उर्मिलादेवी स्मृति पुरस्कारबाट दुई व्यक्तित्व पुरस्कृत हुनुभएको छ । ३१औ वैध (प्रकाश मानव अधिकार पुरस्कार राष्ट्रिय मानव अधिकार आयोगका सदस्य मिहिर ठाकुरको उपस्थितिमा सप्तरीको समाजसेवी थान सिंह भंसालीलाई दिइएको छ । त्यस्तै उर्मिला देवी झा स्मृति मैथिली गीत गायन पुरस्कार राजविराजकी कञ्चन झालाई प्रदान गरिएको पुरस्कारका संस्थापक वैद्यनाथ झाले जानकारी दिनुभयो । 

समारोहमा आयोगका मधेस प्रदेशका संयोजक मञ्जु खतिवडा , कर्मचारी राजु पासमान राजविराज नगरका कार्यवाहक नगरप्रमुख इसरत परविन दलित अधिकारकर्मी युक्ती मरिकलगायतको उपस्थिति थियो ।