• १५ वैशाख २०८१, शनिबार

ताप्लेजुङमा सम्बन्ध विच्छेद गर्ने बर्सेनि बढ्दै

blog

ताप्लेजुङ जिल्ला अदालत ।

ताप्लेजुङ, साउन १६ गते । ताप्लेजुङमा सम्बन्ध विच्छेद गर्ने बर्सेनि बढ्दै गएको पाइएको छ । पछिल्लो तीन वर्षको तथ्याङ्कअनुसार सम्बन्ध विच्छेद गर्नेको सङ्ख्या बर्सेनि बढ्दै गएको पाइएको हो ।

ताप्लेजुङ जिल्ला अदालतका अनुसार गएको आर्थिक वर्ष २०७९-८० मा जिल्ला अदालतमा दर्ता भएका मुद्दाको करिब ४७ प्रतिशत सम्बन्ध विच्छेदसम्बन्धी छन् । अघिल्लो आर्थिक वर्षदेखि जिम्मेवारी सरी आएकासमेत कुल ४६९ थान मुद्दामध्ये २२० वटा मुद्दा सम्बन्ध विच्छेदसम्बन्धी रहेको जिल्ला अदालतका स्रेष्तेदार शम्भुप्रसाद रेग्मीले जानकारी दिनुभयो । 

स्रेष्तेदार रेग्मीका अनुसार सम्बन्ध विच्छेदका २२० वटा मुद्दामध्ये आव २०७९-८० मा १७९ को मात्र फर्स्योट भएको छ । फर्स्योट हुन बाँकी रहेका ४१ थान सम्बन्ध विच्छेदसम्बन्धी मुद्दाको जिम्मेवारी नयाँ अर्थात् चालू आर्थिक वर्ष २०८०-८१ का लागि सरी आएको उहाँले बताउनुभयो । यस्तै चालू आर्थिक वर्ष सुरु भएको दुई साताको अवधिमा जिल्ला अदालतमा सात वटा मुद्दा दर्ता भएका र त्यसमध्ये दुई थान मुद्दा सम्बन्ध विच्छेदका रहेको पनि उहाँले जानकारी दिनुभयो । 

त्यस्तै जिल्ला अदालतको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७७-७८ मा करिब ३४ प्रतिशत र आव २०७८-७९ मा ४१ प्रतिशत सम्बन्ध विच्छेदसम्बन्धी मुद्दा थिए । यसरी अदालतको तथ्याङ्कअनुसार जिल्लामा सम्बन्ध विच्छेद गर्ने वर्षैपिच्छे बढ्दै गइरहेको पाइएको छ । सम्बन्ध विच्छेद बढ्नुमा पारिवारिक झैँ–झगडा तथा बेमेल, आर्थिक असन्तुलन, वैदेशिक रोजगारजस्ता कारण रहेका बताइएको छ । 

Author
चन्द्र पन्दाक

उहाँ ताप्लेजुङबाट गोरखापत्रमा रिपोर्टिङ गर्नुहुन्छ ।