• १६ वैशाख २०८१, आइतबार

बाढीपहिरो र लम्पी स्किनले रोपाइँमा असर

blog

रोपाइँ गर्दै ताप्लेजुङ सिकैँचाका किसान । तस्बिर : गोरखापत्र

चन्द्र पन्दाक

ताप्लेजुङ, साउन १५ गते । हिमाली जिल्ला ताप्लेजुङमा बाढीपहिरो र पशुचौपायामा लाग्ने लम्पी स्किन रोगका कारण धान रोपाइँमा असर पुगेको छ ।

असार पहिलो साता भीषण वर्षासँगै गएको बाढीपहिरो र असार तेस्रो सातापछि जिल्लामा लम्पी स्किन रोग फैलिएका कारण रोपाइँ कार्यमा असर पुगेको हो । 

बाढीपहिरो र लम्पी स्किन रोगको सङ्क्रमण फैलिएका कारण ताप्लेजुङमा साउन १५ सम्ममा करिब ७० प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । यहाँ जेठ महिनाको दोस्रो साता यतादेखि नै रोपाइँ सुरु हुने गरेको भए पनि हालसम्म ७० प्रतिशत हाराहारीमा मात्र रोपाइँ सकिएको कृषि ज्ञान केन्द्र ताप्लेजुङले जनाएको छ ।  

विगत वर्षको तुलनामा जिल्लामा यो वर्ष धान रोपाइँ ढिलो भइरहेको छ । समयमै पानीको मूल फुटेर सिँचाइ तथा कुलो सञ्चालनमा सहज अर्थात् धान खेतीका लागि मौसम अनुकूल हुँदा विगतका वर्षहरूमा साउन १५ सम्ममा कम्तीमा ८५ प्रतिशतसम्म रोपाइँ हुने गरेको थियो । यस वर्ष भने धान खेतीका लागि वर्षा पर्याप्त भए पनि कम मात्र रोपाइँ भएको छ । 

मुख्य रोपाइँ हुने समय असार पहिलो साता भीषण वर्षासँगै जिल्लाको विभिन्न ठाउँमा बाढीपहिरो गएका कारण रोपाइँ कार्यमा असर पुगेको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी एवम् कृषि प्रसार अधिकृत विनय महर्जनको भनाइ छ । महर्जनका अनुसार असार पहिलो साता गएको बाढीपहिरोका कारण दोस्रो साता पछिसम्म नै किसानले सहज रूपमा धान रोपाइँको काम गर्न सकेका थिएनन् । 

त्यस्तै जिल्लामा लम्पी स्किन रोगको सङ्क्रमण फैलिएकाले पनि रोपाइँ कार्यमा प्रत्यक्ष असर पुगेको महर्जनले बताउनुभयो । खेत जोत्ने हल गोरुसहित अधिकांश पशुचौपाया लम्पी स्किन रोगबाट सङ्क्रमित भएकाले रोपाइँमा असर पुगेको हो ।

बाढीपहिरोले क्षति गरेको पानीको कुलो मर्मत गर्नुपर्ने अवस्था र खेत जोत्ने गोरुमा लम्पी स्किन रोगको सङ्क्रमण फैलिएका कारण सहज रूपमा रोपाइँको काम गर्न नपाएको किसानले बताएका छन् ।

ताप्लेजुङमा कुल खेतीयोग्य जमिन २७ हजार ५५१ मध्ये आठ हजार ३३७ हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ । यहाँका किसानले बेलगुटी, भँगेरे, अट्टेजस्ता पुरानो रैथाने जातका धान खेती लगाउने गरेका छन् ।

पछिल्लो समय भने सुख्खा–१, खुमल–४ जस्ता केही उन्नत जातका धानखेती पनि किसानले लगाउन सुरु गरेका कृषि ज्ञान केन्द्रले जनाएको छ ।